close

ठमेलमा इन्टरनेटको तार काट्ने विरुद्ध प्रहरीमा उजुरी

टेकपाना टेकपाना

पुस ६, २०७६ १६:४६

ठमेलमा इन्टरनेटको तार काट्ने विरुद्ध प्रहरीमा उजुरी

इन्टरनेट सेवा प्रदायकहरुको संस्था आईस्पानले ठमेलमा बिना जानकारी तार काटिएको भन्दै महानगरीय अपराध अनुसन्धान महाशाखामा एफआईआर दर्ता गराएको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको सचिव स्तरिय छलफल पश्चात आईस्पानको टोलीले टेकु पुगेर उजुरी दिएको हो ।

उनिहरुले बिना जानकारी पर्यटकीय क्षेत्र ठमेलमा इन्टरनेट सेवा अवरुद्ध पार्नेगरी तार काट्नेको पहिचान गरी कारबाही अगाडि बढाउन माग गर्दै एफआईआर दर्ता गराइएको आईस्पानका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।

दूरसञ्चार ऐन २०५३ को दफा ४७ को उपदफा ५ मा अत्यावश्यक सेवा दूरसञ्चारको लाइन, प्रणाली वा संरचनामा नोक्सानी पुर्‍याएको अवस्थामा जरिवाना तथा पाँच वर्षसम्मको कैद सजायको व्यवस्था छ । त्यसैका आधारमा अनुसन्धान तथा कारबाहीका लागि उजुरी दर्ता गराइएको उनकाे भनाई छ । ‘सँगैसँगै जिल्ला अदालत काठमाडौंमा समेत मुद्दा दायर गर्ने तयारी भइरहेको छ,’ उनले भने ।

गत हप्ताको आइतबारदेखि पर्यटकीय क्षेत्र ठमेलको इन्टरनेट सेवा पुर्ण रुपमा अवरुद्ध छ । भिजिट नेपाल २०२० को तयारीका क्रममा पोलमा झुण्ड्याइएका तार आफुखुसी हटाउने क्रममा अप्टिकल फाइबर समेत काटिएको थियो । त्यसैको परिणामस्वरुप उक्त क्षेत्रमा इन्टरनेट सेवा बन्द भएको हो ।

ठमेल पर्यटन विकास समितिको लापरबाहीपुर्ण कार्यबाट नेपाल टेलिकम, वर्ल्डलिङ्क, भायनेट लगायतका मूख्य इन्टरनेट सेवा प्रदायकले दिइरहेको सेवा अवरुद्ध भएको भनिएता पनि त्यसको आधिकारिक जानकारी नियामक नेपाल दूरसञ्चार प्राधिकरणसँग समेत छैन् । त्यसैले अनुसन्धानका लागि एफआईआर दर्ता गरिएको अध्यक्ष भट्टले बताए ।

भट्टका अनुसार बिना जानकारी तार काट्दा झन्डै पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । त्यसैले क्षतिपुर्तिको सुनिश्चितता नहुँदासम्म उक्त क्षेत्रमा आफुहरु सेवा पुनः सुचारु गर्न असमर्थ रहेको उनको भनाई छ । ‘जबसम्म हाम्रो लगानी र संरचनाको सुरक्षाको सुनिश्चितता हुँदैन तबसम्म उक्त क्षेत्रमा इन्टरनेट सेवा दिन सक्दैनौँ,’ उनले भने ।

इन्टरनेटको तार काटिएको तथा सेवा अवरुद्ध भएको विषयमा आइतबार सञ्चार सचिव दिपक सुवेदी, नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषाेत्तम खनाल लगायतका सरोकारवाला बीच छलफल भएको थियो । उक्त छलफलको क्रममा आइस्पानले समस्याको जानकारी गराएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१