close

एप्पल र सामसङको तुलनामा आफूलाई थोरै नाफा राखेर स्मार्टफोन बिक्री गर्छन् चिनियाँ कम्पनी

टेकपाना टेकपाना

पुस ७, २०७६ ८:४०

एप्पल र सामसङको तुलनामा आफूलाई थोरै नाफा राखेर स्मार्टफोन बिक्री गर्छन् चिनियाँ कम्पनी

मोबाइलफोन निर्मातामध्ये एप्पल लगातार दोश्रो वर्ष सबैभन्दा बढी नाफा कमाउने कम्पनी बनेको छ । काउन्टरपइन्टले सार्वजनिक गरेको ‘ग्लोवल ह्याण्डसेट इन्ड्रटी प्रोफिट शेयर’ प्रतिवेदन अनुसार आईफोन निर्माता कम्पनी एप्पलले उद्योगको ६६ प्रतिशत र ह्याण्डसेट बजारको ३२ प्रतिशत नाफा ओगटेको छ ।

यसमा सधैंजसो एप्पललाई सामसङले पछ्याएको छ । प्रतिवेदन अनुसार सामसङले कुल ह्याण्डसेट बजारको १७ प्रतिशत नाफा ओगट्न सफल भएको छ । अनुसन्धानकर्ताका अनुसार मोबाइलसेटमा उत्कृष्ट १० ब्राण्ड मध्ये सामसङ र ह्वावेलेमात्रै वार्षिक रुपमा आम्दानी वृद्धि गर्न सफल भएका छन् । त्यसमध्ये सामसङको ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी नोट १० को बिक्रि बढेकाले नाफामा वृद्धि भएको हो ।

प्रतिवेदनअनुसार विश्वभर ह्याण्डसेटको नाफा ११ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमासिक प्रतिवेदनको तुलनमा यो वर्ष १२ ब‍िलियन डलरले नाफा घटेको हो । यसरी आम्दानी घट्नुमा फ्ल्यागसिप स्मार्टफोनको आम्दानी घट्नुलाई मूख्य कारणकाे रुपमा लिइएको छ ।

यो वर्ष फ्ल्यागसिप स्मार्टफोनको भन्दा मिड रेन्जको व्यापार धेरै भएको छ । साथै स्मार्टफोन कम्पनीले ग्राहकलाई आकर्षित गर्न नसक्नु पनी अर्को समस्या हो । कम्पनीहरुले नयाँ स्मार्टफोन किन्न प्रेरित गर्नेगरी अघिल्लो वर्षको तुलनमा त्यस्तो कुनै नयाँ प्रविधि भित्र्याउन नसकेको प्रतिवेदनले औँल्याएको छ ।

प्रतिवेदनका अनुसार नाफा धेरै कमाउने कम्पनीहरुमा क्रमशः एप्पल र सामसङ पछि हुवावे, ओप्पो, भिभो, साओमी रहेका छन् । यद्यपी चिनियाँ कम्पनीहरुको नाफाको प्रतिशत भने थोरै छ । उनीहरुले आफूलाई नाफाको हिस्सा थोरै राखेर व्यापार गर्ने भएकाले त्यस्तो भएको हो । तर, पनि उनिहरुले गरेको नाफा अघिल्लो वर्षको तुलानमा भने वृद्धि भएको छ । त्यसका लागि चिनियाँ कम्पनीहरुले आफ्नो उत्पादनमा विभिन्न सुविधा उपलब्ध गराउन सक्षम भएका छन् ।

२०२० मा फाइभजी स्मार्टफोनले बजार वृद्धि गर्ने

आउँदो वर्ष अर्थात सन् २०२० मा फाइभजीले स्मार्टफोनको बजारलाई परिवर्तन गर्ने अपेक्षा गरिएको छ । साओमी, सामसङ, भिभो, ओप्पो लगायतका कम्पनी फाइभजी स्मार्टफोन उत्पादनमा जुटिसकेका छन्, भने कतिपयले बजारमा ल्याइसकेका पनि छन् ।

फाइभजी स्मार्टफोन ग्राहकलाई स्मार्टफोन परिवर्तन गर्ने एउटा महत्वपुर्ण आधार हुने विश्वास छ । जसको प्रतिफल आगामी वर्ष मोबाइलको बजार वृद्धि हुँनुका साथै आम्दानी पनि बढ्ने आँकलन गरिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१