close

वानप्लसमा थप १ वर्षको वारेन्टी, ब्याट्री रिप्लेसमा आधा छूट, नेपालमा ?

टेकपाना टेकपाना

पुस ७, २०७६ २०:१३

वानप्लसमा थप १ वर्षको वारेन्टी, ब्याट्री रिप्लेसमा आधा छूट, नेपालमा ?

थप एक वर्षको वारेन्टी सुविधा अनि ब्याट्री फेर्नुपरे ५० प्रतिशतसम्म छुट । त्यो पनि नयाँमा मात्र हैन पुराना सबै मोडेलका फोनहरुमा पनि । हो, यो वानप्लसले आफ्ना भारतीय प्रयोगकर्ताका लागि ल्याएको सुविधा हो । जुन सोमबारदेखि सुरु भएकाे छ ।

भारतमा वानप्लस बिक्री सुरु भएको ६ वर्ष पूरा भएको अवसरमा थालिएको ‘वानप्लस रेड केबल क्लब’ कार्यक्रम अन्तर्गत यस्तो सुविधाको घोषणा कम्पनीले गरेको हो । भारतका करिब ५ करोड वानप्लस प्रयोगकर्ताले यो कार्यक्रमा सहभागिता जनाउन सक्नेछन् ।

यसै कार्यक्रम अन्तर्गत राखिएको ‘रेड क्लब ज्याकपट’ अन्तर्गत एक लाखसम्मको उपहार सामग्री पाइनेछ । यसका साथै वानप्लसको वायरलेस बुलेट टू एयरफोनको खरिदमा ५० प्रतिशतसम्मको छूट सुविधा पनि कम्पनीले दिएको छ ।

ज्याकपटमा सहभागी हुने समय भने यहि डिसेम्बर ३१ सम्मका लागि तोकिएको छ । यो कार्यक्रमका सदस्यले यसबाहेक एक वर्षसम्मका लागि ५० जीबीको नि:शुल्क क्लाउड स्टोरेज सुविधा पनि पाउनेछन् । वानप्लसका अनुसार वानप्लस सिक्स र त्यसयता सार्वजनिक भएका मोडेलमा मात्र थप एक वर्षको वारेन्टी सुविधा उपलब्ध हुनेछ ।

वानप्लस थ्री/थ्रीटी, फाइभ/फाइभटी, सिक्स प्रयोगकर्तालाई भने ब्याट्रीमा ५० प्रतिशत छुट उपलब्ध हुनेछ । कम्पनीले वानप्लस वान, टू र एक्स मोडेलका प्रयोगकर्तालाई अपग्रेडमा विभिन्न छुट उपलब्ध गराएको छ । तर यस्तो सुविधा एउटा आईएमईआई नम्बरका लागि एकपटक मात्र उपलब्ध हुनेछ ।

नेपालमा पनि पछिल्लो समय वानप्लस ग्राहकको रोजाइमा पर्न थालेको छ । नेपाली बजारमा प्रिमियम सेटका रुपमा स्थापित वानप्लसमा भारतमा जस्तै छूट सुविधाको घोषणा अहिलेसम्म भइसकेको भने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१