close

सुरु भयो नेपालकै ठूलो स्टार्टअप प्रदर्शनी ‘जीबीजी बिजफेस्ट’

टेकपाना टेकपाना

पुस १२, २०७६ १२:३२

सुरु भयो नेपालकै ठूलो स्टार्टअप प्रदर्शनी ‘जीबीजी बिजफेस्ट’

सूचना प्रविधि व्यवसायीहरूको समुह गुगल बिजनेस ग्रुप काठमाडौंको आयोजनामा स्टार्टअप प्रदर्शनी जीबीजी बिजफेस्ट एन्ड बिजस्टार्ट २०१९ सुरु भएको छ । ललितपुर स्थित डीएभी स्कुल परीसरमा आयोजना भइरहेको एक दिने प्रदर्शनीमा नेपालभरबाट २१० स्टार्टअपहरुको सहभागिता रहेको छ ।

नेपालमा गत वर्षदेखि आायोजना हुन थालेको यो कार्यक्रमको दोस्रो संस्करण हो । क्लाउड कम्प्युटिङ सम्बन्धि कम्पनी जेनेस सफ्टवेयर सोलुसनसँगको सहकार्यमा देशभरबाट नवउद्यमीहरु र स्टार्टअप संस्थापकहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवर्धन गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको हो ।

स्टार्टअप प्रदर्शनीमा विशेष कार्यशालाहरु पनि संचालन भइरहेका छन् । जसमा नेपालका स्टार्टअप संस्थापकहरूले विशेषज्ञहरूबाट आफ्नो व्यवसायमा उपयोगी हुने गुगलका विभिन्न व्यापार प्रविधिहरु सिक्ने र त्यसको प्रयोग मार्फत आफ्नोे व्यवसाय विस्तार गर्ने अवसर पाउने अपेक्षा गरिएको छ ।

मेलाको आयोजककाे रुपमा रहेको गुगल बिजनेस ग्रुप काठमाडौंका प्रवन्धक अमित अग्रवालले नेपाली समाजमा विद्यमान विभिन्न चुनौतीमै अवसर देखेर तिनै समस्या समाधान गर्न स्थापना भएका स्टार्टअपहरु सुरु गर्ने परिपाटीको बढिरहेको बताए । तर, धेरैलाई स्टार्टअप भनेको के हो र के–कस्ता स्टार्टअप कम्पनीहरु नेपाली बजारमा आएका छन् र तिनीहरुले के–के काम गर्छन भन्ने जानकारी छैन ।

त्यसैले नेपाली स्टार्टअपका समस्याहरुलाई मध्यनजर गरी सबैलाई एकै ठाउँमा ल्याउने गरी निःशुल्क प्रदर्शनी आयोजा गरिएको अग्रवालको भनाई छ । ‘यसबाट उनीहरुलाई संभावित ग्राहकसँग जोडिने अवसर पनि मिल्नेछ,’ उनले भने । कार्यक्रममा गुगलका प्रविधिमा चासो राख्ने र स्टार्टअप गर्न इच्छुक दशहजार भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने आयोजकको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१