close

सामाजिक सञ्जालबाट झुक्याउने र जिस्क्याउनेलाई १५ लाख जरिवाना र ५ वर्ष कैद

युजु खालिङ युजु खालिङ

पुस १३, २०७६ १५:५६

सामाजिक सञ्जालबाट झुक्याउने र जिस्क्याउनेलाई १५ लाख जरिवाना र ५ वर्ष कैद

सामाजिक सञ्जालबाट जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहीत गर्ने, धम्क्याउने, घृणा तथा द्वेष उत्पन्न गराउने र भ्रमित पार्ने आशयले सन्देश सम्प्रेषण गर्नेलाई पन्ध्रलाख रुपैयाँको जरिवाना र पाँच वर्षसम्मको कैद सजाय हुने भएको छ । संसदको विकास तथा प्रविधि समितिले लामो समयदेखि छलफलमा रहेको सूचना तथा प्रविधि विधेयक आइतबार पारित गर्दै यस्तो कठोर व्यवस्था गरेको हो ।

अब पारित विधेयक पुर्ण संसदको वैठकबाट जस्ताको त्यस्तै रुपमा स्वीकृत भए कानूनको रुप लिनेछ । जब कि विद्युतीय प्रणालीको प्रयोग गरी कसैलाई यौनजन्य दुर्व्यवहार गरे वा त्यसका लागि कसैलाई अनुचित प्रलोभनमा पार्ने वा धम्की दिने कार्य गरेमा भने दुई लाख रुपैयाँ जरिवाना र तीन वर्षसम्मको कैद सजाय हुने व्यवस्था गरिएको छ ।

यस्तै विद्युतीय प्रणाली प्रयोग गरी नेपालको सार्वभौमिकता, अण्डता, राष्ट्रियता र एकतालाई खलबल्याउने तथा विभिन्न धार्मिक तथा जातीय वर्गबीच साम्प्रदायिक तथा द्वेष, घृणा फैलाउने व्याक्तलाई पाँच वर्षको सजाय र १५ लाख जरिवाना गराउने गरी संसोधन गरेको छ ।

विधेयकमा विद्युतीय माध्यमबाट मालसामान वा सेवा खरिद गर्दा उपभोक्तालाई अनलाइन करार विपरित र ढिलो सामान पठाउनेलाई समेत कारबाही हुने व्यवस्था गरिएको छ । यस्तो अवस्थामा बिगो बमोजिम वा बिगो नखुलेको अवस्थामा कसूरको मात्रा हेरी एक लाख रुपैयाँसम्मको जरिवाना हुनेछ ।

साथै पारित विधेयक अनुसार विद्युतीय प्रणालीमा रहेको सूचनालाई अनाधिकृत रुपमा प्राप्त गर्ने, परिवर्तन गर्ने, मेटाउने वा निष्क्रिय पार्ने उद्देश्यले दुराशययुक्त प्रोग्राम सम्प्रेषण गर्ने वा सञ्चालन गर्नेलाई पनि तीन लाख रुपैयाँ जरिवाना तथा तीन वर्षसम्मको कैद सजाय हुने भएको छ ।

यस्तै साइबर बुलिङ गर्ने व्यक्तिलाई यस अघि प्रस्तावित दश लाख जरिवाना र पाँच वर्षको कैद सजायलाई घटाएर ५० हजार जरिवाना र छ महिनासम्मको कैद सजाय राखिएको छ । इजाजत नलिई तथ्यांक केन्द्र वा क्लाउड सेवा सञ्चालन गर्नेलाई विधेयकमा दश लाख रुपैयाँसम्मको जरिवाना वा एक वर्षसम्मको कैद सजायमा वा दुबै हुने व्यवस्था गरेकोे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१