close

इन्टरनेट विस्तारमा आफ्नो नेटवर्क प्रयोग गर्न टेलिकमलाई वर्ल्डलिंकको अफर

टेकपाना टेकपाना

पुस १५, २०७६ १०:६

इन्टरनेट विस्तारमा आफ्नो नेटवर्क प्रयोग गर्न टेलिकमलाई वर्ल्डलिंकको अफर

नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमलाई आफ्नो अप्टिकल फाइबर प्रयोग गर्न प्रस्ताव गरेको छ । देशभर इन्टरनेटको मजबुत वितरण नेटवर्क तयार पारेको वर्ल्डलिंकले टेलिकमलाई आफ्नो नेटवर्क सहप्रयोग गर्न प्रस्ताव गरेको हो ।

पर्याप्त मात्रामा अप्टिकल फाइबरको वितरण नेटवर्क नहुँदा टेलिकमले ग्राहकले चाहेको सबै स्थानमा तत्काल एफटीटीएच इन्टरनेट दिन सकिरहेको छैन । यस्तो अवस्थामा तत्कालै सेवा प्रवाह गर्न सकिने गरी टेलिकमलाई आफ्नो पुर्वाधार उपयोग गर्न दिन आफूहरु तयार रहेको वर्ल्डलिंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलिप अग्रवालले बताए ।

अग्रवालका अनुसार विगत चार–पाँच महिनादेखी नेपाल टेलिकमसँग यो विषयमा छलफल भइरहेको छ । ‘हाल टेलिकमको नेटवर्क बनिसकेको छैन’, उनले भने, ‘नेटवर्क बनाउन समय लाग्छ, त्यसका लागि ठुलो लगानी आवश्यक पर्छ । वर्ल्डलिंकले फाइबर नेटवर्क विस्तारमा मात्रै ६ अर्ब भन्दा बढी लगानी गरिसकेकाे छ । नेटवर्क बनाएर मात्रै पनि भएन त्यसको व्यवस्थापन अर्को झञ्जटिलो काम हो । यो सबै काम हामीले गरिरहेका छौँ । त्यसैले टेलिकमलाई तत्कालै हाम्रो नेटवर्क प्रयोग गरि ग्राहकलाई सेवा प्रदान गर्न प्रस्ताव गरेका हौं ।’

नयाँ लगानी गर्ने, विजुलीका पोलमा फेरी अर्को तार थप्ने कार्य आवश्यक नरहेको भन्दै अग्रवालले सहप्रयोगको मूल्य समेत समझदारीमै तय गर्न सकिने बताए । यसो गर्दा टेलिकमलाई मात्र नभएर देशलाई नै लागत कम पर्न जाने उनको तर्क छ ।

‘प्रतिस्पर्धी कम्पनीको नेटवर्क किन प्रयोग गर्ने भन्ने हुनसक्छ । नेपालमा अझैपनि आफ्नो प्रतिस्पर्धीलाई विश्वास गर्ने प्रचलनको विकास भएको छैन्,’ उनी भन्छन्, ‘नत्र भने नेटवर्क विस्तार गर्नु, नेटवर्क व्यवस्थापन गर्नु र त्यसका लागि आवश्यक पूर्वाधार तयार पार्नु निकै खर्चिलो विषय हो । अर्कोतर्फ नियमित मर्मतमा झन धेरै लागत पर्न जान्छ । कसैले तार काटिदिए त्यो फेर्नै पर्‍यो ।’

दुई कम्पनीबीच सहकार्य हुन सके लागत आधा सस्तो पर्न जाने उनको भनाई छ । यसो हुन सकेको अवस्थामा ग्राहकलाई पनि सस्तोमा इन्टरनेट सेवा उपलब्ध हुनसक्छ । त्यसैले नै आफूहरु सहकार्यका लागि अगाडि बढेको अग्रवाल बताउँछन् ।

तर, टेलिकमका प्रवन्ध निर्देशक डिल्लिराम अधिकारी भने यो विषयमा अहिलेसम्म कुनै लिखित प्रस्ताव नआएको बताउँछन् । उनले मौखिक रुपमा भने यस विषयमा छलफल भएको जानकारी दिए । ‘वर्ल्डलिंकको प्रस्तावको आधारमा हाम्रो मापदण्डसँग मेल खाएको अवस्थामा यस विषयमा सोच्न सकिन्छ,’ उनले भने ।

दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुबीच पुर्वाधारमा सहप्रयोग हुन सके सहरमा देखिने अव्यवस्थित तार व्यवस्थापन समेत हुने वर्ल्डलिंकका अध्यक्ष अग्रवालको भनाई छ ।

यस विषयमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले सहप्रयोगलाई सुरु देखि नै प्राथामिकताको विषय रहेको बताए । ‘यदि वर्ल्डलिंकले सहप्रयोगको प्रस्ताव गरेको छ र टेलिकम त्यसका लागि इच्छुक छ भने उहाँहरु सहप्रयोगमा जान सक्नुहुन्छ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१