close

यी हुन् अनलाइनबाटै सेवा दिने सरकारी कार्यालय

रन्जन कोइराला रन्जन कोइराला

असोज ३, २०७६ ७:५०

यी हुन् अनलाइनबाटै सेवा दिने सरकारी कार्यालय

कल्पना गर्नुस त ! रातको १२ बजेदेखी नै कुनै सरकारी कार्यालयको अगाडी लाइन बस्नु पर्दाको अवस्था कस्तो हुन्छ ? कल्पना गर्दा नै दुःखीत बनाउने यस्तो अवस्था केही समयअघि नेपालकै सरकारी कार्यालयहरुमा थियो । लाइसेन्सको आवेदन दिन होस वा पासपोर्ट बनाउन, मध्यरातदेखि नै बन्द कार्यालय अगाडी लाइन बस्नुपर्ने नियति नेपालीहरुको थियो ।

आजभन्दा तीन वर्ष अघिसम्म पनि यातायात विभागमा सवारी चालक अनुमति पत्रको फाराम भर्न मध्यरातमै लाइन बस्नुपथ्र्यो । यसरी लाइन बसेपनि फारम बुझाउनेले लाइसेन्स पाउने निश्चितता भने थिएन । एकैपटकको चापले कर्मचारीलाई हैरानी थपेको थियो । त्यसैलाई मध्यनजर गरेर विभागले अनलाईन सेवाको सुरुवात गर्‍यो । तीन वर्षअघि सेवा सुरु गर्दा दुई पाङ्ग्रे (मोटर साइकल तथा स्कुटर) बाट सुरु भएको अनलाईन फर्म दर्ता प्रणाली अहिले सबै सवारिसाधनमा लागु भइसकेको छ ।

यातायात विभागले जस्तै सेवालाई सहज र प्रभावकारी बनाउँने क्रममा पछिल्लो समय अन्य सरकारी सेवाहरु पनि अनलाइनमा लैजान थालिएकाे छ। २०७२ सालबाटै राहादानी विभागले अनलाईनमार्फत फर्म भर्न सकिने व्यवस्था गरेको थियो । त्यसबाट राहादानी लिनका अनलाइनमाध्यमबाट घरैमा बसेर आवेदन दिन सक्ने व्यवस्था भयो । अनलाइनमार्फत दिइने सेवाले समय बच्यो । सेवामा पारदर्शिता हुने भयो । सहज र लाइन बस्नुपर्ने झन्झटबाट सेवाग्राही मुक्त भए । यसैले पनि पछिल्लो समय सरकारी कार्यलयमा अनलाई मार्फत सेवा प्रदान गर्ने क्रम बढी रहेको छ ।

राहादानी

राहादानी विभागले २०७२ सालदेखि अनलाइन आवेदनको व्यवस्था गरेको छ । राहादानी लिनका लागि घरमै बसेर आवेदन दिन सकिन्छ । विभागको वेवसाइटमार्फत राहदानीका लागि निवेदन दिने, सम्पूर्ण विवरण भर्ने र फारम दर्ता गर्नेसम्मको काम अनलाइनबाटै गर्न मिल्छ। तर उक्त सेवा काठमाडौं उपत्यकाभित्र मात्रै रहेकाे विभागले जनाएको छ । विभागका अनुसार काठमाडौंमा अनलाइबाटै पैसा तिर्न सक्नेसम्मको व्यवस्था भएतापनि भुक्तानी प्रक्रिया भने झन्झटीलो छ । सेवाग्राहीले अनलाइन आवेदन दिई आवेदन दिँदा आउने बारकोड नम्बर लिएर कार्यालय पुग्दा हुनेछ ।

यातायात

यातायात व्यवस्था विभागले अनलाइनमार्फत अनुमतिपत्रको फारम भर्न सकिने व्यवस्था गरेकाे छ । विभागले सुरुमा दुई पाङ्ग्रे सवारीसाधनका लागि मात्रै अनलाईन सेवा सुरु गरेको थियो । अहिले भने सम्पूर्ण सवारीसाधनको अनुमतीपत्रको फारम अनलाईनबाटै भर्न सकिन्छ । त्यसका लागि विभागको वेवसाइटमा गएर जुनसुकै बेला फारम भर्न सक्छन् । विभागले हरेक दिन देशभरका विभिन्न कार्यलयमार्फत ९ हजार आवेदन लिदैं आएको छ । आवेदन प्राप्तहुने वितिक्कै कार्यालयले सेवाग्राहीलाई उपस्थित हुनपर्ने समय समेत अनलाइनबाटै जानकारी गराउँछ । यसका साथै अनलाईनबाटै सवारी दर्ता तथा नामसारीको काम पनि गर्न सकिन्छ ।

हेलो सरकार

हेलो सरकार नागरिकको गुनासो सुन्ने सरकारको एउटा निकाय हो । जसले नागरिकबाट प्राप्त विभिन्न गुनासालाई आवश्यकताअनुसार फर्छ्याैट गर्ने काम गर्छ । यसका लागि नागरिकले फेसबुक तथा ट्वीटर मार्फत आफ्नो गुनासो सहज रुपमा राख्न सक्छन् । त्यतिमात्र नभएर हेलो नेपालको आधिकारिक वेब पेजमा पनि आफ्नो गुनासो राख्न सक्ने व्यवस्था प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले गरेको छ । साथै आफुले राखेको गुनासोको विषयमा के काम भइरहेको छ भन्ने पनि अनलाईबाट हेर्न सकिने व्यवस्था मिलाइएकाे छ ।

लोकसेवा

लोकसेवा आयोगले २०७१ बाट अनलाईनबाटै फर्म भर्न सकिने व्यवस्था मिलाएको छ । गएकाे आर्थिकवर्षदेखि फर्मकाे अनलाईन भुक्तानी सेवा पनि थप भएकाे छ । जसअनुसार सेवाग्राहीले कनेक्ट आइपीएसमार्फत सिधै लाेकसेवा आयाेगकाे परीक्षा शूल्क बुझाउन सक्ने आयोगले जनाएको छ ।

मालपोत र नापी

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगत रहेको भूमी व्यवस्थापन तथा अभिलेख विभागले हाल देशभरका ८१ वटा मालपोत र नापी कार्यालयमा अनलाइन सेवा विस्तार गरेको छ । अनलाइनमार्फत कुनदिन कति जग्गा किनबेच भयो ? कुन व्यक्तीको नाममा कति जग्गा दर्ता छ ? भन्ने जस्ता जानकारी थाहा पाउन सकिन्छ । यसका साथै पछिल्लो समय विभागले सेवाग्राही जग्गा बिक्री गर्नुपरे घरमै बसेर निवेदन दिन सक्ने व्यवस्था पिन मिलाइएकाे छ । उक्त प्रणालीमा मालपोतका लागि आवश्यक कागजात पनि तयार पार्न सकिन्छ ।

राजस्व अनुसन्धान

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले मालबस्तु ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) लागु गरेको छ । कानुन बमोजिम एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा दर्ता गरेपछि मात्रै ओसारपसार गर्नुपर्ने विभागले जनाएकाे छ । यसका लागि राजस्व अनुसन्धान विभागको वेबसाइटमा गएर उद्योगी व्यवसायीहरुले आफूले ढुवानी गर्ने बस्तु र साधनको संक्षिप्त विवरण दर्ता गराउनुपर्ने हुन्छ ।

राजस्व विभाग

आन्तरिक राजश्व विभागले दर्ता देखि रकम राजश्व भुक्तानीसम्मका सम्पुर्ण सेवा अनलाइनबाटै दिन थालेकाे छ । विभागका अनुसार करदाताहरु अनलाइनबाटै करमा दर्ता हुन सक्छन् । दर्ता भएपछि विवरण पेस गर्न राजश्व कार्यालयसम्म पुगिरहनुपर्ने बाध्यता छैन । करचुक्ताकाे कागजात पनि अनलाईनबाटै लिन सकिन्छ । आयविवरणमा म्याद थप गर्न अनलाइनकै भर परे हुन्छ । रिटर्न समिट, बुक किपिङ, रिपोर्टिङ लगायत काम पनि अनलाईनबाटै हुन्छ ।

विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले सेवाग्राहीको सहजताको लागि अनलाईनबाटै बिजुलीकाे बिल तिर्न सकिने सुविधा दिइरहेकाे छ । यसअघि टाेकन लिएर पालाे आउने दिन लाइन बसेर बिजुलीको बिल तिर्दा ग्राहकले भोगेको समस्यालाई ध्यान दिँदै अनलाइन भुक्तानीकाे व्यवस्था मिलाइएकाे प्राधिकरणले जनाएकाे छ ।

कम्पनी रजिष्ट्रार

कम्पनी रजिष्ट्रार कार्यालयले पनि सम्पूर्ण काम अनलाइनबाटै गर्न मिल्ने बनाएको छ । कम्पनी दर्ताका लागि आवश्यक कागजपत्र बुझाउने, दर्ता गर्ने, अध्यावधिक गर्ने लगायत कम्पनी दर्ता शुल्क समेत अनलाइनबाटै बुझाउन सकिन्छ ।

अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वचालित प्रविधिमा जाने तयारीमा छ । स्वचालित सेवाको सुरुवातसँगै कागजको न्युन प्रयोग हुनेछ । हाललाई भने आयोगले उजुरी र गुनासोका लागि अनलाईन सेवा उपलब्ध गराएको छ । अनलाईन मार्फत सेवाग्राहीले आफ्नो गुनासो तथा उजुरी दर्ता गर्न सक्छन् । त्यसका लागि ग्राहकले फेसबुक, ट्वीटर, मोबाइल एप्लीकेसनका साथै आयोगको वेवसाइट लगायतका माध्यम प्रयाेग गर्न सिकिन्छ ।

वैदेशिक राेजगार विभाग

गत वर्षदेखि वैदेशिक राेजगार विभागले अनलाइन सेवा सुरु गरेकाे छ । वैदेशिक राेजगार सूचना व्यवस्थापन प्रणालीमार्फत विभागले श्रम स्वीकृति फारम भर्न, म्यानपावर खाेज्न, म्यानपावरकाे पूर्वश्रम स्वीकृति तथा डिमाण्ड हेर्न, म्यानपावर कम्पनी तथा सञ्चालककाे सम्पर्क नम्बर सहितकाे विवरण थाहा पाउन सकिने व्यवस्था मिलाएकाे छ । म्यानपावरले पूर्व स्वीकृति लिने, विदेश स्थित नेपाली दुतावासले म्यानपावरकाे कामदारकाे मागपत्र प्रमाणीकरण गर्ने, स्वास्थस‌ंस्थाले मेडिकल सर्टिफिकेट लाेड गर्ने, बीमा कर्मचारीले बीमा पाेलिसि लाेड गर्ने र बैंकले कामदारकाे नाममा जम्मा भएकाे कल्याणकारी काेषमा जम्मा भएकाे भाैचर लाेड गर्ने काम समेत यही अनलाइन प्रणालीमै गर्न सक्छन् । निकट भविष्यमै अनलाइनबाटै रकम भुक्तानी गर्न सकिने गरी आवश्यक तयारीकाे काम भइरहेकाे विभागका आइटी इन्जिनियर राजु श्रेषठले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३