close

एनआरएन चुनावमा यसकारण भएन भाेटिङ मेशिन प्रयोग

टेकपाना टेकपाना

कात्तिक १, २०७६ २०:६

एनआरएन चुनावमा यसकारण भएन भाेटिङ मेशिन प्रयोग

गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौं सम्मेलनको लागि विगतका दुई पटक जस्तै यसपटक पनि नेपालमै बनेको भोटिङ मेशिन प्रयोग हुने भयो भनेर हामी (टक्नोलाेजी सेल्सको टिम) दंग थियौं । यसपाली संघले हामीलाई प्रतिनिधि दर्ता गर्ने सफ्टवेयरको काम समेत दिएको थियो ।

नयाँ काममा रमाउने हामीले त्यस सफ्टवेयरमा झण्डै एक महिनाको समय वितायौं । त्यस सफ्टवेयरको प्रयोगले एक सातासम्म बैज्ञानिक किसिमबाटै प्रतिनिधि दर्ता गर्ने कार्य सम्पन्न गरेको थियो । आश्विन २९ गते मतदानको कार्यक्रम थियो ।

तर, मतदाता नामावलीदेखि नै ढिलो भयो । जसले गर्दा उम्मेद्वारको नामावली प्रकाशनमा समेत ढिलो भइरहेको थियो । बाहिर रहेका मतदाताको दवावले हामी लगायत हाम्रा प्राविधिक समूह अत्याधिक तनावमा थियाैं ।

त्यो भन्दा पनि तनाव तब भयो जब मेशिन तयार गर्दै गर्दा मेशिनको सोर्स कोड मागियो । एक पक्षले मेशिनको सोर्स कोड नदिए भोटिङ नै हुन नदिने भनी प्राविधिक टोली पठायो । मतदातको नामावली नआएर त्यसै तनावमा रहेको हाम्रो टोलिमाथि अर्को झन्झट थपियो । पहिल्यै ढिलो भइसकेको सेड्युलमा झण्डै १ घण्टा त्यसैमा वित्यो । उक्त प्राविधिक टोलीलाई सोर्स कोड दिन पनि हामी बाध्य भयौ ।

मेशिनमा प्राविधिक परीक्षण गरेर तयार पार्नको लागि समय चाहिन्छ भनेर हामीले सम्झौताकै बखतमा अन्तिम नामावलीको प्रमाणित प्रति न्युनतम आठ घण्टा ( जसमा नामावली चढाउने, परीक्षण गर्ने, १०० नमुना मतदान गर्ने लगायतका कामहरु गर्नुपर्ने हुन्छ ) अघि दिनुपर्ने भनी प्रष्टै लेखेका थियौं । तर हामीले तीन घण्टा पनि समय पाएनौ ।

यस निर्वाचनमा यत्तिका हतारमा काम गर्नु पर्ने वाध्यताले गर्दा न त निर्वाचन समितिबाट आधिकारिक नामावली पाउन सक्यौ, न त काम गर्ने समय पनि । उम्मेद्वारको नाम तस्विर राखीनसक्दै बाहिरको भीड थामिनसक्नु भयो । जसले गर्दा हामीले परीक्षण विनै मतदान शुरु गर्नु पर्ने बाध्यता भयो । हामीले मेशिनको बट्टामा नटसम्म कस्न भ्याएका थिएनौ‌ं ।

जब मतदान शुरु भयो, फोटो र नाममा समस्या आएकै हो । उक्त समस्यालाई हामीले तुरुन्तै समाधान गरी सोही ठाउँमा गरेको हो । हामीले विकाश गरी पचासौं निर्वाचन सम्पन्न गरेको भोटिङ मेशिनमा आजसम्म कुनै प्राविधिक खरावी आएको थिएन । हतारको कामले त्यहाँ केही समस्या आएता पनि हामीले समस्याको समाधान गरेर दिएका थियौं ।

यस घटनाले हामीलाई अझ अनुभवी बनाएको छ । बीस वर्षदेखि आफ्नो समाजको लागि यी र यस्ता प्रविधिको विकाशमा लागिरहेका हामी कतिपनि विचलित नभइकन काम गर्ने प्रण समेत गर्दछौ ।

राम प्रसाद रिमाल र लक्ष्मण प्रसाद रिमाल टक्नो सेल्स प्रालिका सञ्चालक तथा प्रविधि अनुसन्धानकर्ता हुन

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३