close

एक सय ४० स्थानमा पुग्यो टेलिकमको फोरजी, थपिए ६२ हजार ग्राहक

टेकपाना टेकपाना

कात्तिक ५, २०७६ १४:२४

एक सय ४० स्थानमा पुग्यो टेलिकमको फोरजी, थपिए ६२ हजार ग्राहक

नेपाल टेलिकमले तीब्रताका साथ फोरजी सेवा विस्तार गरिरहेको छ । एक वर्षभीत्र देशभर फोरजी सेवा विस्तार गरिसक्ने योजनाका साथ अघि बढेको टेलिकमले हालसम्म एक सय ४० स्थानमा सेवा विस्तार गरिसकेको छ ।

दुई वर्ष अघि काठमाण्डौं र पोखराबाट फोरजी सेवा सुरु गरेको टेलिकमले गएको १५ असोजमा एक साथ ५९ सहरमा सेवा विस्तार गरेको थियो । सेवा सुरु भएको छोटो समयमै कम्पनीको नेटवर्कमा फोरजी सेवा प्रयोग गर्ने ग्राहक संख्या ६२ हजार थपिएको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीका अनुसार हालसम्म फोरजी सेवा एक सय ४० स्थानमा पुगेको छ भने, ग्राहक संख्या ६२ हजार थप भएको छ । ‘यो संख्या तिहारसम्ममा दोब्बर हुन्छ,’ उनले भने, ‘हाल थप स्थानहरुमा नेटवर्क परिक्षणको काम भइरहेको छ । अर्कोतर्फ हामीले ग्राहकलाई फोरजी अटोमेटीक सब्सकृप्सनको व्यवस्था गरेको छैनौँ ।’ अटोमेटीक सस्क्रिप्सन लागु गरेसँगै ग्राहकसंख्या हालको भन्दा दोब्बरले बढ्ने उनी बताउँछन ।

अधिकारीका अनुसार तिहारसम्म थप नयाँ स्थानमा फोरजी पुग्नेछ । अहिलेकै रफ्तारमा काम भएको अवस्थामा तोकिएकै समयमा फोरजी विस्तारको काम सम्पन्न हुनेछ । आउँदो माघसम्म देशभर फोरजी विस्तार गरिसक्ने टेलिकमको लक्ष छ ।

टेलिकमले पहिलोपटक २०७३ पुस १७ गते काठमाडौं उपत्यका र पोखरामा फोरजी विस्तार गरेको थियो । टेण्डर प्रक्रियाका कारण लामो समयसम्म सेवा विस्तारको कामले गतिलिन नसक्दा रोकिएको फोरजी सेवा गत माघबाट पुनः अघि बढेको थियो । त्यसको आठ महिनापछि अर्थात असोज १५ गते पहिलो चरणमा ५९ वटा साना तथा ठूला सहरमा यो सेवा सुरु गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३