close

नेपालको मोबाइल इन्टरनेट भारतभन्दा ९ गुणा महंगो

टेकपाना टेकपाना

कात्तिक ८, २०७६ १४:४०

नेपालको मोबाइल इन्टरनेट भारतभन्दा ९ गुणा महंगो

छिमेकी मुलुक भारतभन्दा नेपालको मोबाइल डाटाको मूल्य करीब ९ गुणा महंगो देखिएको छ । भारतले विश्वमै सबैभन्दा सस्तो मूल्यमा मोबाइल इन्टरनेट उपलब्ध गराइरहँदा नेपालमा भने प्रतिस्पर्धा अभावमा अत्यधिक महंगो पर्न गएको हो ।

भारतमा औषत १८ रुपैयाँ ५० पैसा भारु अर्थात २९ रुपैयाँ ६० पैसा नेपालीमै मूल्यमै एक जीबी डाटा उपलब्ध हुँदा नेपालमा भने त्यति नै डाटाका लागि ‌औषत दुई सय ५६ रुपैयाँ ५३ पैसा खर्च गर्नुपर्ने बाध्यता छ ।

विश्वव्यापी रुपमा मोबाइल तथा इन्टरनेट मूल्यको तुलनात्मक अनुसन्धान गर्दै आएको केबल यूकेका अनुसार भारत पहिलो स्थानमा रहेको छ भने नेपाल ४५ औँ नम्बरमा छ ।

भारतमा सस्तोमा नेपाली दुई रुपैयाँ ८० पैसा एक जीबी डाटा खरीद गर्न सकिन्छ भने त्यहाँ एक सय ६० रुपैयाँ पर्छ । जब कि नेपालमा सबैभन्दा सस्तो डाटामा ३७ रुपैयाँ रहेको छ भने महंगोमा सात सय ३४ रुपैयाँसम्म पर्न जान्छ ।

दूरसञ्चार विज्ञ आनन्दराज खनाल नेपालमा मोबाइल इन्टरनेट महंगो हुनुको पछाडि प्रतिस्पर्धात्मक वातावरणको अभावलाई मूख्य कारणको रुपमा औँल्याउँछन् । ‘नेपालमा लगभग मोबाइल सेवामा एकाधिकारकै स्थिति छ,’ उनी भन्छन्, ‘त्यसबाहेक ट्यारिफ निर्धारणमा नियमन क्षमताको पनि कमजोरी छ ।’

भारतको तुलनामा नेपालमा अन्तरराष्ट्रिय ब्याण्डविथ २० प्रतिशत हाराहारी महंगो पर्न जान्छ । नेपालमा मोबाइल इन्टरनेट महंगो हुनुको एउटा कारण ब्याण्डविथको मूल्य भए पनि  त्यो सामान्य कारण भएको खनालको भनाई छ ।

सन् २०१८ को नोभेम्बरमा संकलित नमुनाका आधारमा भारत र नेपालको डाटा शूल्कको तुलना गरिएको हो । जसमा भारतका ५७ र नेपालका २७ डाटा प्याकेजको मापन गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३