close

टेलिकमको मोबाईल रिचार्जमा २ सय रुपैयाँ सम्म बोनस, यस्तो छ तिहार अफर

टेकपाना टेकपाना

कात्तिक ८, २०७६ १८:३

टेलिकमको मोबाईल रिचार्जमा २ सय रुपैयाँ सम्म बोनस, यस्तो छ तिहार अफर

नेपाल टेलिकमले मोबाइल रिचार्जमा २० प्रतिशतसम्म बोनस प्रदान गर्ने भएको छ । तिहार र छठ प्रर्वलाई लक्षित गर्दै टेलिकमले सार्वजनिक गरेको योजनामा ग्राहकलाई मोबाईल रिचार्जमा उक्त बोनस दिने भएको हो ।

आइतबारदेखि कात्तिक १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा ग्राहकले यो सुविधा प्राप्त गर्ने टेलिकमले नजाएको छ । टेलिकमका अनुसार यस योजनामा ५०, १०० र २०० रुपैयाँको रिचार्जमा क्रमशः ५ रुपैयाँ, दश रुपैयाँ र २० रुपैयाँ तथा ५०० को रिचार्जमा सय रुपैयाँ र १००० को रिचार्जमा दुई सय रुपैयाँ बोनस प्राप्त हुनेछ । त्यसमा ५०, १०० र २०० रुपैयाँको बोनस तीन दिन र ५०० र १००० रुपैयाँको बोनस पाँच दिन भित्र उपयोग गरिसक्नु पर्नेछ ।

त्यसैगरी एमपोसबाट १० देखि ४९९ रुपैयाँसम्मको रिचार्ज गर्दा १० प्रतिशत ५०० रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । यसको अवधि पनि क्रमशः तीन दिन र पाँच दिन हुनेछ । यसका साथै टेलिकमले पहिलेदेखि सञ्चालनमा रहेका कतिपय अफरलाई निरन्तरता दिएको छ ।

टेलिकमका अनुसार फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभए सम्म यो अफर निरन्तर रहने छ । ग्राहकले *४४४# डायल गरी सिम परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् ।

त्यस्तै पहिलो पटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई दुई दिनको समयावधि सहितको दुई सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले *४४४# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन् ।

त्यस्तै पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइने छ । यो सेवा समेत अर्को सूचना जारी नभएसम्म निरन्तर रहने छ । आफ्नो मोबाइलमार्फत *१४००# डायल गरेर दिइएका विकल्प अनुसार अथवा ‘unsub mca’ लेखेर १४०० मा एसएमएस पठाई यो सुविधा हटाउन सकिने छ ।

साथै प्रिपेड नम्बरमा पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । आफ्नो मोबाइलमार्फत *१४००# डायल गरेर दिइएका विकल्प अनुसार अथवा ‘sub mca’ लेखेर १४०० मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न वा ‘unsub mca’ लेखेर १४०० मा एसएमएस पठाई यो सुविधा हटाउन सकिन्छ ।

त्यस्तै कम्पनीको इन्टरनेट–इन्ट्रानेट लिज लाइन सेवा लिने नयाँ ग्राहकले आगामी छठसम्म निःशुल्क रुपमा दर्ता गर्न सक्ने छन् । यसअघि यसको दर्ता शुल्क तीन सय २० रुपैयाँ तोकिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३