close

आजदेखि डेडिकेटेड ‘न्यूज ट्याब’ सुरु गर्दै फेसबुक, आफ्नो रुचिका समाचार फेसबुकबाटै हेर्न मिल्ने

टेकपाना टेकपाना

कात्तिक ८, २०७६ १८:३७

आजदेखि डेडिकेटेड ‘न्यूज ट्याब’ सुरु गर्दै फेसबुक, आफ्नो रुचिका समाचार फेसबुकबाटै हेर्न मिल्ने

विश्वकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले शुक्रबारदेखि ‘न्यूज ट्याब’ सुरु गर्ने भएको छ । आफ्ना प्रयोगकर्ताहरूका लागि सयौँ समाचार साइटहरुको समाचार दिने गरी फेसबुकले डेडिकेटेट ‘न्यूज ट्याब’ ल्याउने भएको हो ।

 फेसबुकका संस्थापक मार्क जुकरबर्गले स्टाटस लेख्दै शुक्रबार अमेरिकाबाट न्यूज ट्याबको सुरुवात गर्ने जानकारी दिएका छन् ।  न्यूज ट्याबबाट फेसबुक प्रयोगकर्ताले आफ्नो रुचीका समाचारहरु छानेर हेर्न सक्नेछन् । पछिल्लो केही वर्षदेखि समाचार प्रकाशक र पत्रकारसँग उच्च गुणस्तरीय पत्रकारितालाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा कुराकानी भइरहेकाे भन्दै उनले फेसबुक समाचारको घोषणा गर्न आफू उत्साहित रहेको उल्लेख गरेका छन् । 

‘हाम्रो प्रजातन्त्र र सहकार्यका विषयमा प्रगतिका लागि पत्रकारिता महत्वपुर्ण छ,’ उनले लेखेका छन्, ‘तर इन्टरनेटले समाचारको परम्परागत शैलीलाई अवरुद्ध पारेकाे छ, त्यसैले यस्तो महत्वपुर्ण कार्यका लागि श्राेत जुटाउने दिगो मोडेलमा समाचार प्रकाशकसँग सहकार्य गर्नु  मूख्य इन्टरनेट सेवाहरूकाे दायित्व हुनेमा म विश्वास गर्छु ।’

फेसबुकले आफ्नो यो प्रयासले पत्रकारहरुको समाज डोर्‍याउने कामको कदर र सम्मान हुने विश्वास व्यक्त गरेको छ । छोटो समयमै अन्य देशका फेसबुक प्रयोगकर्ताले समेत आफ्नो एपमा डेडिकेटेड ‘न्युज ट्याब’ देख्नसक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३