close

भाडामा ८ सय डलर तिर्दाको सोच अहिले ८६ खर्बको ‘उबर’ साम्राज्य !

टेकपाना टेकपाना

कात्तिक १३, २०७६ १३:१९

भाडामा ८ सय डलर तिर्दाको सोच अहिले ८६ खर्बको ‘उबर’ साम्राज्य !

‘उबर’ । एउटा नयाँ सोच, त्यो पनि आम नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने । त्यसैले त १० वर्षको अवधिमा एउटा साम्राज्यको रुपमा विस्तार भयो । भाडामा ८ सय डलर तिर्दा पलाएको एउटा सोचकै प्रतिफल आज ‘उबर’ ७६ अर्ब अमेरिकी डलर अर्थात करीब ८६ खर्ब नेपाली रुपैयाँको बनेको छ । कार सेयरिङबाट यात्रा सुरु गरेको उबरले आज हेलिकप्टर, सेल्फ ड्राइभिङ र फुड सप्लाइको सुविधा समेत उपलब्ध गराइरहेको छ । 

यसको परिकल्पना आज नेपाली बजारमा भित्रिएका टुटल, पठाओ र सारथीको जस्तै थियो । केही समय अगाडि मोटरसाइकलमा यात्रु बोक्ने कम्पनी टुटल र पठाओ नेपालमा सञ्चालनमा आए । काठमाडौंको जाम, सार्वजनिक यातायातमा हुने कष्टकर यात्रा, समयको बचत र सस्तो सेवाले छोटो सयमै टुटल र पठाओ युवा पुस्तामाझ  लोकप्रिय बन्दै गए । 

प्रविधिको प्रयोग गरि सहज सेवा दिन आएका यी दुई कम्पनी उबरकै सोचमा खुलेका हुन् । मोबाइलमा एप डाउनलोड गरि प्रयोग गर्न सकिने टुटल र पठाओ आम मानिसको लागि एउटा भरपर्दाे सवारीसाधन बन्दै गएका छन् । यद्यपी हाल मूल्य अभिबृद्धि कर (भ्याट) का कारण यी दुबैको सेवामा सुस्तता छाएको छ । आशा राखौं भ्याटको समस्या समाधानसँगै टुटल र पठाओले फेरी लय समाउनेछन् । 

टुटल र पठाओको परिकल्पना बाइक सेयरीङ हो । तपाईसँग बाइक छ भने टुटल र पठाओमा दर्ता हुनसक्नुहुन्छ । त्यससँगै तपाईले आफुलाई पायक पर्ने स्थानबाट कुनै यात्रुलाई  उसको गन्तव्यसम्म पुर्‍याइदिन सक्नु हुनेछ । त्यसबाट तपाईले पनि आम्दानी गर्नु भयो, कम्पनीले पनि केही कमिसन राख्ने भयो । 

त्यो भन्दापनि महत्वपूर्ण कुरा सेवा ग्राहीले छिटो छरितो सेवा पाए । कम्पनीको एपमा गएर डिजिटल नक्सामा आफू चढ्ने ठाउँ र पुग्ने गन्तव्य टाइप गरेपछि यात्रुले कति पैसा लाग्छ भन्ने जानकारी पनि त्यहिँ थाहा पाउछन् । जब तपाई जाने निश्चित गर्नुहुन्छ, त्यसको केही मिनेटमै तपाईलाई लिन तपाईकै नजिक गुडिहेको बाइक आइपुग्छ । बाइक जस्तै नेपालमा सारथीले ट्याक्सीमा पनि सेवा दिन थालिसकेको छ । 

यस्तै परिकल्पानको सुरुवात थियो उबर । अमेरिकामा सुरु भएको यो परिकल्पानामै रहेर आज विश्वका धेरै देशमा यस्तो सेवा विस्तार भइरहेको छ । यात्रुलाई सहज र सुलभ रुपमा एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याई सेवा दिइरहेका छन् ।

भनिन्छ, आज भन्दा १० वर्ष अघि अर्थात सन् २००९ मा उबरका संस्थापक ग्यारेट क्याम्पले भाडाको लागि ८ सय डलर तिर्दा यो सोच पलाएको थियो । मध्यरातमा साथीहरुसँगको पार्टी सकाएपछि न्यूयोर्कबाट आफ्नो गन्तव्यमा पुग्नका लागि उनले निजी ड्राइभरको सुविधा लिएका थिए । जसका लागि उनले ८ सय डलर खर्च गरे । त्यसैबेला उनमा एउटै सवारीलाई धेरै जनासँग सेयर गरियो भने भाडाका नाममा हुने खर्च निकै नै कम हुने परिकल्पना गरे । र त्यसैको व्यवसायीक रुप बन्यो उबर ।

त्यहिँबाट सुरु भएको उबरले आज विश्व भरी नै सेवा दिइरहेको छ । अहिले विश्वका ८३ भन्दाबढी देशका ६ सय ३३ वटा शहरमा यसको सेवा उपलब्ध छ । यसको अर्थ उबरले विश्वका धेरै मानिसलाई यात्रामा साथ दिइरहेको छ ।

कारबाट सुरु भएको यात्रा हेलिकोप्टर, सेल्फ ड्राइभिङ र फुड सप्लाइसम्म विस्तार भएको छ । सुरुमा साथीभाइसँग सहयोग लिएर सुरु भएको उबरका संस्थापक क्याम्प र कालानिक हुन् । कालानिक कम्पनीको  सल्लाहकारका रुपमा प्रवेश गरे । उबर सुरु गर्नुभन्दा अगाडि ग्यारेट क्याम्प स्टम्बल अपन नामक कम्पनीको सह–संस्थापक थिए भने, कालानिकको सोर्स कम्पनी थियो । त्यसलाई १९ मिलियन डलरमा बिक्री गरेर उनी उबर छिरेका थिए ।

कम्पनीले पहिलो पटक सन् २०१० मा उबरको वेटा भर्सन सार्वजनिक गर्‍यो । उक्त कम्पनीको पहिलो कर्मचारीको नियुक्ति पनि प्रविधिसँगै जोडिएको छ । कालानिकले गरेको एउटा ट्वीटमा रिप्लाइ गरेकै भरमा रायन ग्रेभ्सले जागिर पाएका थिए । जनरल म्यानेजरबाट उबरमा छिरेका ग्रेभ्स पछि कम्पनीको सीईओ समेत बने ।

सन् २०११ मा उबरले सनफ्रान्सिसको शहरमा आफ्नो कार्यालयका साथै मोबाइल एप ‘उबर क्याब’ पनी सुरु गर्‍यो । सुरुमा कारमात्रै बुक गर्ने सुविधा थियो । जुन सोचेअनुरुप सफल हुन सकेन । किनभने क्याबको खर्च ट्याक्सीको तुलनामा महंगो थियो । त्यसैले सन् २०१२ मा कम्पनीले आफ्नो रणनीति परिवर्तन गर्‍यो ।

उबर क्याबबाट नाम परिवर्त गरि ‘उबर एक्स’ नामबाट सर्भिस सुरु भयो । आज नेपालमा सञ्चालनमा रहेका टुटल र पठाओको जस्तै । कुनै पनि व्यक्तिले आफ्नो निजी गाडी यसअन्तर्गत चलाउन सक्थे । जसका कारण कार मालिकहरुले पनि आफ्नो फुर्सदको समयमा काम गरेर आम्दानी गर्न सक्ने भए । रणनीतिक परिवर्तनले कम्पनीको व्यवसायले गति लियो ।

सन् २०१४ बाट कम्पनीले ‘उबर चपर’को नाममा न्यूयोर्कदेखि ह्याम्सटनसम्मको दुरीमा हेलिकप्टरको सर्भिस सुरु गर्यो । त्यसको चार्ज थियो ३ हजार डलर । सोही वर्ष कम्पनीले ‘उबर पुल’ नामक सेवा पनि थप गर्‍यो । यदी दुई जना यात्रु एउटै गन्तव्यमा जाँदैछन भने एकैपटक सेवा दिने सक्ने व्यवस्था यसमा थियो । जसबाट यात्रुका साथै कम्पनीलाई पनि फाइदा पुग्यो ।

अनी खूल्यो, ‘उबर इट’ । अनलाइन फूड अर्डरको रुपमा सुरु भएको ‘उबर इट’ मार्फत कम्पनीले ३० मिनेटमा डेलिभरी दिन थाल्यो । 

त्यसपछि व्यवसायिक योजनामा पर्‍यो ‘सेल्फ ड्राइभिङ’ सेवा । सन् २०१५ को मे महिनामा कम्पनीले रोबोटिक्स विभाग स्थापना गर्‍यो र १४ सेप्टेम्बर २०१६ मा सेल्फ ड्राइभिङ सेवा उपलब्ध गरायो । यसरी विस्तार भएको उबरले अहिले लक्जरी कार सर्भिस पनि दिन सुरु गरेको छ । जसबाट ल्याम्बोर्गिनी जस्ता लक्जरी कार यात्रुले बुक गर्न सक्ने भएका छन् ।

यसैको प्रतिफल आज अमेरिकाको क्याब बजारमा उबरको हिस्सेदारी ८० प्रतिशत भन्दा बढी पुगेको छ । उक्त कम्पनी अहिले ७६ बिलियन अमेरिकी डलर सम्पत्ती भएको कम्पनी भएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३