close

दुई वर्षपछि बढ्यो स्मार्टफोनको व्यापार, कुन ब्राण्डका मोबाइल कति बिके ?

टेकपाना टेकपाना

कात्तिक १५, २०७६ १४:४

दुई वर्षपछि बढ्यो स्मार्टफोनको व्यापार, कुन ब्राण्डका मोबाइल कति बिके ?

स्मार्टफोनको विश्व व्यापारमा बृद्धि भएको छ । अनुसन्धान संस्था स्ट्राटेजी एनालिटिक्सका अनुसार विश्व बजारमा स्मार्टफोनको व्यापारमा दुई प्रतिशले वृद्धि भएको हो ।

मोबाइलको व्यापार दुई प्रतिशतले बढेर तेस्रो त्रैमासिक (जुलाई, अगष्ट र सेप्टेम्बर) मा कुल ३६ करोड ६० लाख मोबाइल बिक्री भएका छन् । यो पछिल्लो दुई वर्षयताकै सुधार हो । त्यसमा सामसङले पहिलो स्थान हात पार्न सफल भएको छ । सामसङले कुल बजारको २१ प्रतिशत हिस्सा ओगटेको छ ।

त्यस्तै दोस्रो नम्बरमा चिनियाँ कम्पनी हुवावे रहेको छ । उसले आफ्नो बजार हिस्सा बढाउँदै विश्वको १८ प्रतिशत बजार कब्जा गरेकाे छ ।

एप्पलले भने फेरी पनि तेश्रो स्थानमा चित्त बुझाउनुपर्ने अवस्था छ । १२ प्रतिशत बजार हिस्साको साथ एप्पल तेस्रो स्थानमा छ । स्ट्राटेजी एनालिटिक्सका अनुसार विश्व बजारमा कम्पनीहरू बिचमा भएको प्रतिशपर्धा र नयाँ नयाँ प्रविधिको आविष्कारले गर्दा बजारमा वृद्धि भएको हो । नयाँ प्रविधिमा ठुलो स्क्रिन र फाइभजी प्रविधि रहेका छन् ।

प्रतिवेदनअनुसार कम्पनीहरुमध्ये हुवावेले यो वर्ष सबैभन्दा राम्रो सुधार गरेको छ । कम्पनीले आफ्नो व्यापारमा २९ प्रतिशत वृद्धि गर्दै ६ करोड ६७ लाख थान स्मार्टफोन बिक्री गर्न सफल भएको छ । आफ्नो घरेलु बजार अर्थात चीनमा हुवावेले आफ्नो व्यापारमा उल्लेख्य बृद्धि गर्न सफल भएको हो । जसको प्रतिफल एक वर्षको अवधिमा कम्पनीको १८ दशमलव २ प्रतिशत बजार ओगट्न सफल भएको हो ।

त्यस्तै सामसङले पनि आफ्नो व्यापारमा वृद्धि गरेको छ । आफ्नो बिक्रीमा आठ प्रतिशत वृद्धि गर्दै उसले ७ करोड ८२ लाख मोबाइल बिक्री गरेको छ । कम्पनीको बजार विस्तारमा ग्यालेक्सी नोट १० र ए सीरीजका स्मार्टफोनको मूख्य भुमिका रहेकाे सामसङले जनाएको छ । उसले विश्व बजारमा गत वर्षको तुलनामा १ दशमलव दुई प्रतिशतले बृद्धि गर्दै २१ दशमलव तीन प्रतिशत पुर्‍याउन सफल भयो । गत वर्ष सामसङको बजार हिस्सा २१ दशमलव एक प्रतिशत रहेको थियो ।

एप्पल भने तेस्रो स्थानमा पुगेको छ । आईफोनको व्यापारमा आएको कमीले गर्दा आईफोनले आफ्नो बजार हिस्सा गुमाउन पुगको हो । आईफोनको व्यापार झन्डै ३ प्रतिशतले घटेको छ । त्यसका बावजुद एप्पलले ४ करोड ६६ लाख थान स्मार्टफोन बिक्री गर्न सफल भएको छ । अनुसन्धानकर्ता संस्थाका अनुसार आईफोन ११ तुलनात्मक रुपमा कम मूल्यमा ल्याएकाले पनि एप्पलको यो अवस्थामा टिक्न सफल भएको हो ।

हैन भने अझ समस्या आउन सक्ने अनुमान संस्थाले गरेको छ । आईफोन ११ विषेशगरि एशियाली मुलुकमा बढी बिक्री भएको छ । गत वर्ष विश्व बजारको १३ प्रशित हिस्सा ओगटेको एप्पलले यो वर्ष बजार हिस्सा गुमाएर १२ दशमलव चारमा खुम्चिन पुगेको छ ।

त्यस्तै धेरै स्मार्टफोन बिक्री गर्नेमा अर्को चिनियाँ मोबाइल निर्माता कम्पनी साओमी चौंथो नम्बरमा छ । विश्व बजारको आठ दशमलव आठ प्रतिशत बजार हिस्सा ‌ओगटेको उसले गत वर्षको तुलनामा केही थोरै मोबाइल बिक्री गरेको छ । साओमीको मूख्य बजार भारत र चीन भए पनि हुवावे, रियलमी, लगायतका कम्पनीसँगको प्रतिस्पर्धामा कम्पनीले यो वर्ष सोचेअनुसारको व्यापार गर्न सकेन ।

अर्को चीनीयाँ कम्पनी ओप्पोले विश्व बजारमा आफूलाई पाँचौं स्थानमा राख्न सफल भएको छ । उसको हाल ८ प्रतिशत बजार हिस्सा छ । ओप्पोले पनि गत वर्षको तुलनामा शून्य दशमलव सात प्रशित बजार हिस्सा गुमाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३