close

चीनका ५० सहरमा एक साथ सुरु भयो द्रुत गतिको फाइभजी सेवा

टेकपाना टेकपाना

कात्तिक १८, २०७६ १०:९

चीनका ५० सहरमा एक साथ सुरु भयो द्रुत गतिको फाइभजी सेवा

चीनले योजना भन्दा एक वर्ष अगाडि नै द्रुत गतिको फाइभजी सेवा सुरु गरेको छ । बिहीबारदेखि चीनको राजधानी बेइजिङ सहित ५० वटा सहरमा फाइभजी सेवा सुरु भएको हो ।

चिनियाँ सरकारको स्वामित्वमा रहेका तीन टेलिकम सेवा प्रदायक चाइना मोबाइल, चाइना यूनिकम र चाइना टेलिकमले एक साथ सेवा सुरु गरेका हुन् । चीन सरकारले विज्ञप्ती जारी गर्दै फाइभी सेवाका लागि तीन वटा चिनियाँ कम्पनीले ८६ हजार बेस स्टेशन तयार पारेको जनाएको छ । यो अंग्रेजी वर्षको अन्त्यसम्ममा बेस स्टेशनको संख्या १ लाख ३० हजार पुर्‍याउने सरकारी योजना छ ।

फाइभीजी विस्तारमा चिनियाँ कम्पनीको सेवा नलिन आफ्ना मित्र राष्ट्रहररूलाई अमेरिकी सरकारले दबाब दिइरहेको बेला चीनले योजना भन्दा एक वर्ष अघि नै फाइभजीको व्यवसायिक सेवा सुरु गरेको हो । चिनियाँ सञ्चार माध्यमका अनुसार तीन टेलिकम सेवा प्रदायक कम्पनीले दिने फाइभजी प्याकेज १८ यूयानदेखि ४ सय ५० यूयानसम्मका छन् । नेपाली रुपैयाँ अनुसार यी प्याकेज ३ सयदेखि ७ हजारसम्मका हुन् ।

दक्षिण कोरिया, बेलायत र अमेरिकाले परीक्षणको रुपमा केही सीमित सहरमा फाइभजी सेवा सुरु गरेको अवस्थामा चीनले एकै पटक ५० वटा सहरमा व्यवसायिक रुपमा सेवा सुरु गर्दै फाइभजी प्रविधिमा आफू अन्य देशभन्दा अघि रहेको सन्देश दिएको छ । मोबाइल प्रविधिको पाँचौं पुस्ता फाइभजी अहिलेको मोबाइल सेवा भन्दा कयौं गुणा तीब्र अर्थात एक जीबीपीएस गतिको हुनेछ । यसले द्रुत गतिको इन्टरनेट र गुणस्तरीय भ्वाइस कलको सुविधा दिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०