close

सेवा सुधार गर्न २१० नयाँ टावर निर्माण गर्दै टेलिकम

टेकपाना टेकपाना

कात्तिक २२, २०७६ १४:४५

सेवा सुधार गर्न २१० नयाँ टावर निर्माण गर्दै टेलिकम

सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमले सेवा विस्तारको कामलाई तीव्रता दिएको छ । सेवा टेलिकमले बिहीबार ७२ वटा ग्राउण्ड बेस सपोर्टिङ टावर निमार्णका लागि स्किपर प्याराडाइज जेभीसँग सम्झौता गरेको हो । यसका साथै कम्पनीले एक सय ३८ ग्राउन्ड बेस सपोर्टिङ टावर निर्माणका लागि समेत टेन्डर प्रक्रिया सुरु गरिसकेको छ । 

हाल भएको सम्झौताबाट टेलिकमले लुम्बिनीमा ५४, काठमाडौंमा ८, गोरखा र म्यादीमा १० ओटा टावर निमार्णका लागि स्किपर प्याराडाइजलाई जिम्मा दिएको छ । स्किपर प्याराडाइज भारतको स्किपर लिमिटेड र नेपालको प्याराडाइज बिल्डर्स प्रालीको संयुक्त उपक्रम कम्पनी-जेभी हो ।

सम्झौतापत्रमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारी र प्याराडाइजका प्रबन्ध निर्देशक गोकुल पौडेले हस्ताक्षर गरेका छन् । टेलिकमले टावर निमार्णका लागि केही समय अघि बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्रमार्फत छनौट भएको प्याराडाइजसँग बिहिबार सम्झौता भएको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार टावर निर्माण कार्यले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीदेखि बुटवल क्षेत्रमा टेलिकमको नेटवर्क समस्या समाधान हुनेछ ।

प्याराडाइजका प्रबन्ध निर्देशक पौडेलले निर्धारित ६ महिनामा परियोजना सम्पन्न गरिने बताए । ग्राउण्ड बेसमा आधारित उक्त टावर २५ देखी ५० मिटर अग्ला हुनेछन् । तराई क्षेत्रमा अग्लो टावर निमार्ण गर्नुपर्ने ५० मिटरसम्म अग्ला हुने पौडेलको भनाई छ ।


पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०