close

एकसाथ धेरै एसएमएस पठाउनु छ ? यसो गरौं

टेकपाना टेकपाना

कात्तिक २६, २०७६ १७:१२

एकसाथ धेरै एसएमएस पठाउनु छ ? यसो गरौं

एक साथ धेरै जनालाई एकै प्रकारको सन्देश अर्थात् एसएमएस पठाउनका लागि ‘बल्क एसएमएस’ को प्रयोग गरिन्छ । यो सेवा विशेष गरी धेरै सदस्य वा ग्राहकसँग नियमित सम्पर्कमा रहनुपर्ने व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था, वित्तीय संस्था, पर्यटन व्यवसायी, सरकारी, अर्ध सरकारी र गैरसरकारी निकाय लगायतका संघ/संस्थाका लागि बढी उपयोगी छ ।

व्यक्तिगत प्रयोजनका रुपमा एकैपटक धेरै व्यक्तिलाई एसएमएस (छोटो सन्देश) पठाउनका लागि पनि यो उपयोगी हुन्छ । नेपालमा यो सेवा नेपाल टेलिकमले पनि प्रदान गर्दै आएको छ । टेलिकमले आफ्ना ग्राहकका लागि वेबमा आधारित बल्क एसएमएस सुविधा उपलब्ध गराइरहेको छ । संघ/संस्थाले नेपाल टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यवसायिक अधिकृतको कार्यालय र विभिन्न ठाउँमा रहेका निर्देशनालय मार्फत उक्त सेवा लिन सक्छन् ।

व्यक्तिगत उपभोक्ताले कम्पनीको अनुमति प्राप्त भ्यालु एडेड सर्भिस सेवा प्रदायक संस्थासँग सम्पर्क गरी सेवा प्राप्त गर्न सक्ने टेलिकमले जनाएको छ । सेवा प्रदायक कम्पनीले यो सेवा लिनको लागि आफ्नो प्रस्ताव र अन्य कागजातका साथ प्रमुख व्यवसायिक अधिकृतको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ ।

बल्क एसएमएस सेवा प्रिपेड प्रकृतिको छ । त्यसका लागि सुरुमै एसएमएस संख्याका आधारमा लाग्ने शुल्क भुक्तानी गरिसकेपछि युजर नेम र पासवर्ड उपलब्ध हुन्छ । युजर नेम तथा पासवर्ड प्राप्त गरेपश्चात टेलिकमको वेबसाइट प्रयोग गरी यो सेवा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार यसमार्फत ग्राहक आफैले नेपाल टेलिकमका जीएसएम तथा सीडीएमए दुवै किसिमका पोष्टपेड तथा प्रिपेड मोबाइल नम्बरमा एउटा एसएमएस बराबर अर्थात अंग्रेजीमा एक सय ४० अक्षर तथा युनिकोडमा ७० अक्षर पठाउन सक्नेछन् ।

वेब सुविधा नभएका ग्राहकले आफुले पठाउन चाहेको सन्देश र पठाउनु पर्ने मोबाइल नम्बरहरू उपलब्ध गराएमा कम्पनी तथा सेवाप्रदायकले एसएमएस पठाइदिने सुविधा पनि उपलब्ध छ । नेपाल टेलिकमबाट यो सेवा लिन चाहने संघ–संस्थाले मासिक न्यूनतम १ हजार ५ सय एसएमएस पठाउनु पर्ने हुन्छ । त्यो भन्दा कम एसएमएस पठाउन चाहने संघ/संस्थाले कम्पनीबाट अनुमति प्राप्त सेवा प्रदायकहरुसँग सम्पर्क गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०