close

कर्णाली र सुदूरपश्चिमको ‘इन्फरमेशन सुपर हाई-वे’ टेलिकमले बनाउने

टेकपाना टेकपाना

कात्तिक २६, २०७६ १८:३०

कर्णाली र सुदूरपश्चिमको ‘इन्फरमेशन सुपर हाई-वे’ टेलिकमले बनाउने

नेपाल टेलिकमले कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर ब्याकबोन तथा सूचना महामार्ग (इन्फरमेशन सुपर हाई-वे) बनाउने परियोजना हात पारेको छ । यसअघि स्मार्ट टेलिकमले पाएको उक्त परियोजना नेपाल दूरसञ्चार प्राधिकरणको मंगलबारको बोर्ड बैठकले नेपाल टेलिकमलाई दिने निर्णय गरेको हो ।

प्रवक्ता मिन प्रसाद अर्यालले समेत ग्रामीण दूरसञ्चार विकास कोषअन्तरगतको उक्त परियोजनाको विषयमा भएको निर्णयको पुष्टि गरे । अर्यालका अनुसार सरकारको निर्णय र सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको निर्देशनको आधारमा प्राधिकरण बोर्डले उक्त निर्णय गरेको हो ।

यसअघि स्मार्टले सुदूरपश्चिम र कर्णाली प्रदेशमा अप्टिकल फाइबर बिछ्याउन कोषबाट ३ अर्ब ९४ लाख रुपैयाँमा परियोजना ठेक्का अनुदानमा हात पारेको थियो । २०७४ साउनमा प्राधिकरण र स्मार्टबीच त्यसका लागि ठेक्का सम्झौता भएको थियो ।

दुई वर्षमा सक्नुपर्ने उक्त परियोजनामा कुनै काम हुन नसकेपछि प्राधिकरणले मौकाको रुपमा असोज मसान्तसम्मको थप समय स्मार्टलाई दिएको थियो । त्यस अवधिमा पनि कुनै थप प्रगति गर्न नसकेपछि १ कात्तिकमा उक्त ठेक्काको अवधि थप नगर्ने निर्णय प्राधिकरणले गरेको थियो । त्यससँगै स्मार्टले पाएको परियोजना सम्झौता स्वतः खारेज भयो ।

त्यसविरुद्ध स्मार्ट ३ कात्तिकमा अदालत गयो । दुबै पक्षलाई छलफलमा बोलाएको अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्‍यो । यद्यपी, त्यसको दुई दिन अघि नै कात्तिक ५ को मन्त्रिपरिषद बैठकले स्मार्टले पाएको परियोजना नेपाल टेलिकमबाट अगाडि बढाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरिसकेको थियो । साोही निर्देशनकै आधारमा प्राधिकरण बोर्डले सोमाबार उक्त परियोजना नेपाल टेलिकमलाई दिने निर्णय गरेको प्रवक्ता अर्यालले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०