अमेरिकी नागरिकको स्वास्थ्य सम्बन्धी लिएको विवरण दुरुपयोग गरेको आशंकामा गुगलमाथि छानबिन हुने भएको छ । गुगलले विभिन्न अमेरिकी स्वास्थ्य संस्थाबाट यस्ता विवरण लिएको आशंका छ । अमेरिकाको डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले गुगलमाथि अनुसन्धान सुरु गर्न लागेको हो ।
गुगलले भने यस्ता विवरण सुरक्षित रहेको दाबी गरेको छ । फाइनान्सियल टाइम्सले प्रकाशित गरेको समाचार अनुसार गुगलले स्वास्थ्य सम्बन्धी वेबसाइटबाट पनि मानिसको स्वास्थ्य सम्बन्धी विवरण लिने गरेको गरेको छ ।
अमेरिकी समाचार संस्था वाल स्ट्रिट जर्नलले गुगलले स्वास्थ्य सम्बन्धी विवरण खरिदका लागि एसेन्सियनसँग सहमति गरेको खबर छापेपछि यो विवाद सतहमा आएको थियो ।
एसेन्सियनले अमेरिकामा २६ सय अस्पतालहरु सञ्चालन गरिरहेको छ । गुगलले यसरी लिएको विवरण सम्बन्धित व्यक्तिलाई जानकारी नदिई प्रयोग गर्नसक्ने भन्दै कम्पनीको आलोचना भएको हो ।
गुगलले भने यो बिषयमा ब्लग पोष्ट लेखेर आफूले कानुनको पालना गर्ने र उक्त विवरणमा आफना सीमित कर्मचारीलाई मात्रै पहुँच दिएको उल्लेख गरेको छ । गुगलले स्वास्थ्य सम्बन्धी उक्त तथ्यांकलाई कम्पनीको अन्य तथ्यंकसँग नमिसाइने दाबी गरेको छ ।