close

टिकटकको डाउनलोड डेढ अर्ब नाघ्यो, फेसबुकलाई तनाव

टेकपाना टेकपाना

कात्तिक ३०, २०७६ १५:१४

टिकटकको डाउनलोड डेढ अर्ब नाघ्यो, फेसबुकलाई तनाव

छोटा सामाजिक भिडियो बनाउने चर्चित एप टिकटकको डाउलोड डेढ अर्ब नाघेको छ । गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट गरी सो संख्यामा टिकटक डाउनलोड भएको हो ।

गत फेब्रुअरीमा मात्रै यो एपको डाउनलोड संख्याले एक अर्बकोशे ढुङ्गा पारे गरेको थियो । सेन्सर टावरले प्रकाशित गरेको रिपोर्टअनुसार पछिल्लो नौ महिनामा मात्रै ५० करोड पटक डाउनलोड भएको यो एप यस वर्षमा कूल ६१ करोड ४० लाख पटक डाउनलोड भएको छ ।

यो गत वर्षको यही अवधिको तुलनामा ६ प्रतिशत बढी हो । टिकटक भन्दा धेरै डाउलोड हुने एपहरुमा यसवर्ष केवल ह्वाट्स एप (७० करोड ७४ लाख) र म्यासेन्जर ६३ करोड २० लाख) रहेका छन् । तर, यस अवधिमा ५८ करोड ७० लाख डाउनलोड सहित फेसबुक चौथो र ३७ करोड ६२ लाख डाउनलोड सहित इन्स्टाग्राम पाँचौ स्थानमा रहे ।

कम्पनीले विश्वव्यापी रुपमा कयौं परिवर्तनहरु ल्याइरहेको छ । बायोमा यूआरएल राख्न अनुमति दिनेगरी सोसियल कमर्स फिचरको परीक्षण गरिरहेको छ । गत महिना मात्रै भारतमा एडुटक नामक ई–लर्निङ कार्यक्रम सुरु गरेको टिकटकले युरोप र अमेरिकामा राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाएको थियो ।

यसै साताको सुरुवातमा फेसबुकले इन्स्टाग्राम स्टोरिमा टिकटक जस्तै फिचर भएको ‘रिल्स’ नामक फिचर ब्राजिलबाट सुरु गरेको छ । टिकटकलाई निकै ठूलो चुनौतिको रुपमा लिएको सामाजिक सञ्जाल फेसबुकले उछिन्ने अनेक जुक्ती खोजिरहेको छ । तर, टिकटकलाई जित्ने कुनै उपाय फेसबुकले अहिलेसम्म भेटेको भने छैन ।

टिकटकको कुल डाउनलोडमा भारतबाट मात्रै ४६ करोड ६८ लाख छ । जब कि टिकटक एप बनेको देश चीनमा भने १७ करोड ३२ लाख मात्रै छ । तेश्रो स्थानमा रहेको अमेरिकामा यो एपको डाउनलोड १२ करोड ३८ लाख रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०