Now Reading
पहिलो कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यको संस्मरणः बोलौँ अर्कै बुझिएला, तर बोल्नै पर्नेछ

पहिलो कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यको संस्मरणः बोलौँ अर्कै बुझिएला, तर बोल्नै पर्नेछ

मंगलवार, मंसिर ३, २०७६ - 3:47 PM     |     गोपाल साउद

स्कुल पढ्ने बेला देखि नै मलाई विज्ञान र प्रविधिमा अति नै चाँसो थियो । त्यसैले जुनकुनै विज्ञानका कुरामा एकदमै रुची लाग्थ्यो । त्यसबेला इमेल इन्टरनेट भन्ने कुरा केही पनि थिएन । लाइब्रेरी गएर पढ्थ्येँ । गोरखापत्र पढिन्थ्यो । कुनै प्राविधिक विषयको समाचार आयो कि एकदमै रुचिसाथ पढ्थेँ । त्यसलाई कण्ठै घोकिन्थ्यो । 

युरि गागरिन पहिलो पटक अन्तरीक्षमा पुग्दा मलाई त्यो खबरले यति सोच्न बाध्य बनायो कि मान्छे यो पृथ्वीबाट बाहिर पनि जाने भएछन् । त्यो त विश्वकै लागि निकै नै ठूलो समाचार थियो । विज्ञानमा रुची भएकाले ममा सानैदेखि कुनै न कुनै परीक्षण गरेर हेर्नै पर्ने किसिमको स्वभाव थियो । हाइड्रोजन दुई भाग र अक्सिजन एक भाग मिलेर कसरी पानी बन्न सक्छ भन्ने खुल्दुली हुन्थ्यो । ती दुबै त ग्याँस हुन् । ग्याँस मिलेर कसरी पानी हुन्छ भन्ने लाग्थ्यो । त्यो मेरो लागि अति नै रुचिको विषय थियो । स्कुल पढ्दाताका नै पानीलाई दुई भागमा छुट्याइन्थ्यो । अनि अलग्याइएको हाइड्रोजनलाई बालिन्थ्यो । आज त्यही हाइड्रोजनबाट बम पनि बनेका छन् । जापान र चीनले हाइड्रोजनबाटै चल्ने कति सवारीसाधन बनाइसकेका छन्, पानीबाटै मात्र पनि चलाउन सकिने । ग्याँस, डिजल, पेट्रोल केही नभए पनि हुने । 

इलेक्ट्रोनिक्समा पनि अति नै रुची थियो । पङ्खाहरु कसरी घुम्ने होला भन्ने लाग्थ्यो ? आफै पनि केही गर्न सकिन्छ कि भनेरै त्यसैमा पढ्न तिर लागेँ । अहिले युटुबमा जस्तो सुचनाहरु सजिलै पाइन्न थे । अनि अमेरिकन लाइब्रेरी पस्थेँ । कान्तिपथमा भएको ब्रिटिस लाइब्रेरी पनि जान्थेँ । कहिले इन्डियन लाइब्रेरी । विज्ञान प्रविधिका कुराहरु केही छन् भने पढिहाल्ने बानी थियो । 

हुँदा हुँदा धेरै समय लगाएर आफैले इलेक्ट्रिकल मोटर बनाएँ । त्यसमा स्टेटर र रोटर भन्ने कोर लाग्छ । कहिँ किन्न पाइँदैन थ्यो, त्यो पनि आफै बनाएँ । टिनको पाता काटेर ३६० डिग्रीमा मोडेर रोटर र स्टेटर क्वाइल पनि बनाएर घुमाउन तिर लागेँ । केही गर्दा घुम्दैन त ! कति समय दिएँ, दिएँ । समयको मलाई कहिल्यै पर्वाह भएन । रातभरी लगाए भए पनि आफ्नो रुचीका विषयहरुमा अभ्यास गरिरहन्थेँ । अन्ततः त्यो चल्यो । यो त्यस्तै सन् १९५६ सालतिरको कुरा होला । मोटर चलेपछि मलाई यति खुशी लाग्यो कि मेरो जिन्दगिकै ठूलो घटना जस्तो भयो । 

नयाँ कुरा सिक्न, देख्न र सुन्नमा खुबै खुल्दुली भइरहन्थ्यो । हुँदा हुँदा इलेक्ट्रोनिक्समा निकै नै चाँसो बढ्दै गयो । त्रिचन्द्र कलेजमा गणित र भौतिक शास्त्र विषय लिएर आईएस्सी पढेँ । आईटी, इलेक्ट्रोनिक्स पढ्न अहिले जति पनि कलेजहरु छन् । त्यस हिसावले अहिलेका भाइबहिनी असाध्यै भाग्यमानी । सबै चिज नेपाल भित्रै, काठमाडौं भित्रै यहीँ भित्रै छ । कहिँ बाहिर जानुपर्ने अवस्था छैन । तर, त्यतिबेला चाहिँ बाहिर नगईकन मेरो इच्छा नै पुरा हुने भएन । तर बाहिर जान निकै गाह्रो थियो । पासपोर्ट पनि बनेको थिएन । भारत भने जान सकिन्थ्यो । यस्तैमा म भारतको पश्चिम बंगाल गएँ । 

फेरी ममा स्वावलम्बी किसिमको भावना पनि थियो । बुबालाई पनि आर्थिक भार जस्ता धेरै दुःख नदिउँ भन्ने ठान्थेँ । म चार भाइमा सबैभन्दा जेठो । मैले बुबालाई आर्थिक भार पारेँ भने अरु भाइले पनि दुःख पाउँछन् भन्ने लाग्यो । बुबालाई पैसा दिनुस् भनेर मागेको मलाई सम्झना नै छैन । कलकत्ता गएर टेक्निकल कलेज पनि भेटेँ । मलाई रेडियो इलेक्ट्रोनिक्स पढ्नु थियो । तर, त्यसका लागि पैसा चाहिन्थ्यो । बुबासँग म नमाग्ने । अब केही काम धन्दा त खोज्नै पर्‍यो । फेरी त्यतिखेर इन्डियामा काम पाउन नेपालीलाई निकै नै गाह्रो थियो । कामकै खोजीमा मात्रै मैले पुरै एक वर्ष बिताएँ । ४५ डिग्री तातो त्यो घाममा मैले कहाँ कहाँ मात्रै काम खोजिन । महिनाको एक सय ५० रुपैयाँ आउने काम पाएँ भने मलाई खान, बस्न र कलेजको फी तिर्न पुग्छ भन्ने हिसाव मैले गरिसकेको थिएँ । त्यसका लागि बरु रात दिन जस्तोसुकै काम गर्न पनि तयार ।

खोज्दै जाँदा इलेक्ट्रिकल केबल सम्बन्धि एउटा ठूलो कम्पनीमा काम पाएँ । त्यो कुरामा एक हिसावले म आफूलाई भाग्यमानी पनि ठान्छु । जहाजमा काम गर्ने चार पद खाली रहेछ । तर निवेदन दिनेको संख्या चार सय थियो । अब म नेपालबाट गएको । असम्भव नै लागेको थियो । तर सानैदेखि मेरो अङ्ग्रेजी बोल्ने बानी भने थियो । पाटनतिर हुँदाखेरी टुरिस्ट देखेँ भने ‘हेलो गुड मर्निङ’ भन्दै पनि जानी नजानी बोलिहाल्थेँ । अलि नलजाउने खालको थिएँ । यसरी अङ्ग्रेजी बोल्न जान्ने भएको थिएँ । त्यही अङ्ग्रेजीले नै काम भेट्टाएँ ।

एक सय ५० रुपैयाँ तलब पाउने कामको खोजीमा रहेको मैले तीन सय पाउने भएछु । सोचेको भन्दा डब्बल । अनि मेरो इन्जिनियरिङ कलेजको पढाई सुरु भयो । पाँच वर्ष मैले निकै दुःख गरेँ । म जम्मा तीन घण्टा मात्रै सुत्थेँ । अहिले तपाईं विश्वास गर्नुहुन्न होला । तीन घण्टा सुते पनि पुग्दो रहेछ, नमरिदो रहेछ । खान पनि म एकदमै थोरै बाँच्नका लागि मात्रै खान्थेँ । दिनको सय माइल हिँड्नुपर्थ्यो ।

अहिले सम्झिँदा पनि मैले कसरी गरेँ हुँला भन्ने लाग्छ । कुनै दिन बिरामी परेको भए म सफल हुने थिइनँ । भगवानकै आशिर्वादले होला म बिरामी पनि परिनँ । बिहान पाँच बजे उठेर हिँडेपछि रातकाे १२–१ बजे फकिन्थेँ । होमवर्क बाँकी हुन्थ्यो, खान पनि बाँकी नै हुन्थ्यो ।  सुपरभाइजरको काम पाएको थिएँ । काम भने धेरै गर्नुपर्दैन थियो । दिनमा दुई घण्टा काम गरेँ भने ६/७ घण्टा पढ्नलाई बच्थ्यो । यसरी मैले पाँच वर्ष लगाएर १९६५ तिर रेडियो इलेक्ट्रोनिक्सको पढाई सिध्याएँ । 

पढाई सिध्याएर फर्किसकेपछि नेपाल आएर मैले रेडियो नेपालमा काम  सुरु गरेँ । तीन जना ब्रिटिश इन्जिनियर थिए । एक सय किलोवाटको सर्टवेभ र तीन सय फिटको मिडियम वेभ टावर सेटअपको सबै काम रातदिन लगाएर गर्नुपर्थ्यो । मैले त्यसलाई दुःखको रुपमा कहिल्यै लिइनँ, कर्तब्य जस्तो लाग्थ्यो । इच्छा पनि त्यसैमा थियो । वर्षौंसम्म उनीहरुसँगै काम गरेँ । खुमलटारको ट्रान्समिसन स्टेशनको एक सय किलोवाटको र दश किलोवाटको टावरको विषयमा मलाई ए टु जेड सबै थाहा थियो ।

हामीले रातदिन १६ घण्टासम्म काम गर्थौं । त्यहाँ काम गर्दा मलाई अंग्रेजीको कुनै समस्या थिएन । बेलायती इन्जिनियरले मलाई निकै रुचाउँथे । मसँग साह्रै खुशी  पनि थिए । उनीहरुकै सल्लाह र सुझावका आधारमा सन् १९७० तिर मैले इंग्ल्याण्ड गएर छात्रवृत्तिमा चार्टड इन्जिनियरिङ पढ्ने मौका पाएँ । लण्डन त्यतिबेला युरोपकै केन्द्र थियो । त्यहाँ पनि मैले रातदिन गरेर धेरै कुराहरु सिकें । भारतमा पढ्दा र इंग्ल्याण्डमा पढ्दा केही फरक अनुभूति भयो । भारतमा कुनै कुरामा जिज्ञासा हुँदा सामान्य किसिमको जवाफ मात्रै पाउँथे भने इंग्ल्याण्डमा एउटा प्रश्नकै तीनओटा जवाफ मिल्थ्यो ।

कक्षामा म एकदमै धेरै प्रश्न गर्ने गर्थेँ । कहिलेकाहिं मैले धेरै प्रश्न गर्दा अरु साथीहरुलाई दिक्क पो लाग्यो कि भन्ने पनि लाग्थ्यो । त्यहाँ सँगै पढ्नेमध्ये १२ जना विदेशी र ४२ जना बेलायती विद्यार्थीहरू थिए । धेरै प्रश्न सोध्दा आफैलाई असहज लागिरहेको छ भनेर एक दिन त मैले प्रोफेसरलाई नै सुनाएँ । मैले धेरै प्रश्न सोधेर अरुलाई दिक्क त पारिरहेको छैन ? तपाईलाई के लागिरहेको छ ? भनेर सोधें । तर प्रोफेसरले मेरो प्रश्न सोधाईको उल्टै प्रशंसा गर्नुभयो । ‘जब तिमीले प्रश्नहरू सोध्छौ, त्यसमा मैले दिने जवाफ कक्षाका सबैले सुन्छन् । त्यसैले तिमी जतिसक्यो धेरै प्रश्न सोध्न सक्छौ,’ भन्नुभयो । म कक्षाकै उत्कृष्ट पनि भएँ ।

कम्प्युटर बनेकै इलेक्ट्रोनिक्सबाट हो । अहिले म आफै सोच्छु, कम्प्युटर भनेको धेरै ठूलो केही पनि होइन । ‘वान एण्ड जेरो’ । ‘एस ओर नो’ । ‘ब्ल्याक एण्ड ह्वाइट’ । जे भने पनि भयो । त्यसै आधारमा कम्प्युटरले काम गर्ने हो । मैले बेलायतमा पढ्दै  गर्दा कम्प्युटर बनाउने कुरा सुरु नै भएको थिएन । एप्पलले १९७५/७६ तिर डेस्कसटप कम्प्युटर बनाएको हो । कम्प्युटर त अरुले पनि बनाएका थिए । आईबीएमको थियो । युनिब्यागको पनि थियो । धेरै ठूला ठूला कम्प्युटर थिए ती ।

डिजिटल इलेक्ट्रोनिक्स, कम्प्युटर, माइक्रो कम्प्युटर लगायतकाे अध्ययनका लागि सरकारी छात्रवृत्तिमै फ्रान्स गएको थिएँ । कम्प्युटर एक्लै मान्छेले बनाउने कामै होइन । जब डेस्कटप कम्प्युटर आयो, त्यो बनाउन सकिन्छ भन्ने सोच फ्रान्समा हुँदाखेरी मेरो मनमा पनि आयो । त्यसैक्रममा माइक्रो कम्प्युटरको विविध विषयमा मैले थाहा पाएँ । अब मलाई कम्प्युटर बनाउनका लागि प्रोसेसर चाहिएको थियो । किनभने मेरो इलेक्ट्रोनिक्सको पृष्ठभुमी भारतदेखि नै थियो । मैले फ्रान्सका विभिन्न सहरमा प्रोसेसरको खोजी गरें । तर कहिं पाइनँ । लण्डनका गल्ली गल्ली चहारे । अनि त्यहींबाट माइक्रोे प्रोसेसर किनेर १९७९ मा नेपाल फर्कें ।

इनपुट–आउटपुट, डिस्प्ले लगायतका पेरिफेरल डिभाइस कस्तो चाहिने भन्ने मलाई थाहा थियो ।  अनि मैले माइक्रो कम्प्युटर बनाउने काम सुरु गरें र १९७९ मा नेपालमै माइक्रो कम्प्युटर बनाउन सफल भएँ । त्यसताका भारत लगायत दक्षिण एशियाली मुलुकमा कसैले पनि त्यस्तो सफलता हात पार्न नसकेको बेला थियो । स्टिभ जब्सले अमेरिकामा बनाएको थियो । सुरुमा मैले ल्याएको प्रोसेसरबाट बनाएको कम्प्युटर अहिले पनि घट्टेकुलोमा रहेको संग्राहलयमा सुरक्षित छ ।

मैले बनाएको कम्प्युटर यहाँ विभिन्न ठाउँमा देखाएँ । माइक्रो कम्प्युटर बनाएको समाचार भोलिपल्ट राइजिङ नेपालमा छापियो । गोरखापत्रले छाप्यो र अन्य पत्रपत्रिकाले पनि छापे । योजना आयोगमा रत्नसमशेर राणा हुनुहुन्थ्यो । समाचार छापिएपछि रत्नसमशेरले मलाई बोलाए । बनाएको हो वा होइन, के गर्छ, कसो गर्छ सबै चाहियो भन्नुभयो । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका सबै विभागका प्रोफेसरलाई जम्मा गरेर माइक्रो कम्प्युटर देखाएँ । तथ्याङ्क विभाग भएको स्थानमा सबै आए । त्यहीँ मैले आफूले बनाएको माइक्रोे कम्प्युटर देखाएकाे थिएँ । मैले र्‍याण्डम नम्बर जेनेरेट गरेर देखाएँ । कम्प्युटरले के काम गर्न सक्छ भन्ने विषयमा सबैलाई एक झलक दिएँ । त्यो पनि समाचार बन्यो ।

नेपालमा बनेको माइक्रो कम्प्युटरको समाचार मदरल्याण्डमा पनि छापिएको रहेछ । एक दिन दुईजना चाइनिजहरू मलाई खोज्दै घरमै आइपुगे । समाचार पढेर थाहा पाएका उनीहरूले मैले बनाएको कम्प्युटर हेर्न चाहेका रहेछन् । घण्टौँ लगाएर उनीहरुलाई देखाएँ । त्यसबाट उनीहरू निकै नै प्रभावित भए । चीनमा के थियो, मलाई थाहा छैन । तर भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्का लगायत यहाँ वरीपरिका अरु देशमा भने कम्प्युटर बनेकै थिएन ।

चिनियाँहरू आएको भोलिपल्ट सिन्ह्वा न्युनजमा समाचार छापियो । संसारभर ८८ ओटा देशमा त्यो समाचार एकसाथ प्रकाशित भएको थियो । त्यो उपलब्धी मुनि शाक्यको होइन, नेपालको थियो । नेपालमा माइक्रो कम्प्युटर बन्यो भन्ने कुरा नै विश्वमा धेरैलाई रोचक समाचार बन्यो । त्यसबाट म निकै नै धेरै खुशी भएँ । त्यतिखेरका समाचारका क्लिपिङहरू अहिले पनि संग्रह गरेर राखेको छु । कम्प्युटर बनाएपछि बर्षौंसम्म विदेशीहरु नयाँ के छ भन्दै म कहाँ आइरहन्थे ।

माइक्रो कम्प्युटर बनाएको दुई-तीन वर्ष पछि म आफ्नै खर्चमा अमेरिका गएँ । सिलिकन भ्यालीमा पनि काम गरें । अमेरिकाका विभिन्न ठाउँमा अनुसन्धान र विकास सम्बन्धि कम्पनीमा काम गर्ने मौका पाएँ । त्यो सबैका पछाडि मेरो पृष्ठभूमीले नै काम गरेको थियो । माइक्रो कम्प्युटरकै विषयमा पनि धेरै काम गर्ने अवसर मिल्यो । काम गर्ने विषय मेरा लागि ‘टेन टू फाइभ’ भन्ने कहिल्यै पनि भएन ।

See Also

पाँच बजेपछि अरु घर जान्थे । म भने त्यहीं बसिराख्थेँ । नयाँ नयाँ खोज र अभ्यास गरिरहेको हुन्थें । राति १२ बजेसम्म पनि म त्यसैमा  लागिरहन्थें । त्यहाँको अध्यक्ष कहिलेकाहिँ घुम्दै आउँथ्यो । ‘मुनि शाक्य अहिलेसम्म पनि काम गरिरहेको’ भन्दै छक्क पथ्र्यो र भन्थ्यो– ‘अहिलेसम्म पनि घर जाने बेला भएको छैन ?’ उ आफै पनि पीएचडी गरेको इन्जिनियर थियो ।

त्यहाँ मलाई जतिखेर गएर जे काम गरे पनि हुने किसिमले आवश्यक सबै सुविधा दिइएको थियो । एप्पलले त्यतिबेला ८० किलोबाइटको फ्लपी डिस्क बनाउँथ्यो । अध्यक्ष र मैले मिलेर नौ सय किलोबाइटको फ्लपी डिस्क बनायौँ । एप्पलको भन्दा १२ गुणा राम्रो । त्यही कम्पनीमा बसेर मैले हजारौं कम्प्युटर बनाएँ ।

चार बर्षे अमेरिका बसाईमा मैले अनेक पुस्तकहरू जम्मा पारेको थिएँ । फर्किदाँ केही त बोकेरै ल्याएँ । सबै ल्याउन सम्भव थिएन । त्यसमा भने मेरो मन दुखेको थियो । मैले जे गर्न चाहन्थेँ, त्यो सबै ज्ञान अमेरिकामा सिकेको थिएँ । नेपाल फर्केर मैले देवनागरी लिपी सहितको माइक्रो कम्प्युटर पनि बनाएँ । १९८३ को अन्त्यतिर त्रिचन्द्र कलेजको सरस्वती सदनमा त्यो कम्प्युटर प्रदर्शनीमा राखें । त्यतिखेर एक हप्ता लामो प्रदर्शनी भएको थियो ।

देवनागरी लिपीमा कम्प्युटर बनाउनु पनि निकै ठूलो उपलब्धि थियो । त्यसताका कृषि विकास बैंकमा कृष्ण उपाध्याय कार्यकारी निर्देशक हुनुहुन्थ्यो । उहाँले मलाई निकै नै सहयोग गर्नुभयो । उहाँले मैले बनाएको कम्प्युटर कृषि बिकास बैंकमा चलाउने प्रस्ताव ल्याउनुभयो ।  म सहमत नहुने कुरै थिएन । पछि मलाई त्यहाँ प्राविधिक प्रमुख जस्तो भुमिकामा पनि राखियो । सन् १९९४ तिर कृषि बिकास बैंकले मैले यही हातले बनाएका १९ ओटा कम्प्युटर किनेको थियो । त्यो मेरो जीवनकै ठूलो उपलब्धी थियो । स्क्रिप्ट नै नेपाली भएकाले त्यो निकै नै महत्वपुर्ण पनि थियो । त्यस्तो कम्प्युटर विश्वमा अरु कसैले बनाएको पनि थिएन ।

युनाइटेड मिसन नेपाल (यूएमएन) ले मैले बनाएका झण्डै पाँच सय कम्प्युटरहरू गाउँगाउमा लगेर चलायो । त्यसैका आधारमा म यहाँ टिक्न सकेको हुँ । कृषि विकास बैंकले जति किन्यो किन्यो, अर्थ मन्त्रालयले एउटा किन्ने बाहेक सरकारले अरु कम्प्युटर थप्ने कुरा गरेन । सरकारले जति किन्यो, कर बलले नै हो । मन लागेर होइन । के कमी कमजोरी थाहा छैन । अमेरिकामै हजारौँ कम्प्युटर बनाएर आएको मान्छे, मैले यहाँ बनाउन नसक्ने भन्ने कुरा नै होइन । मैले बनाएका कम्प्युटर प्राविधिक रुपमा पुर्ण थिए । तर, कृषि विकास बैंक बाहेक सरकारको तर्फबाट कुनै पनि किसिमको ग्रिन सिग्नल पाउन सकिनँ ।

तै पनि नयाँ अध्ययन अनुसन्धान गर्ने क्रम त जारी नै थियो र अहिले पनि छ । यसक्रममा मैले धेरै चिजहरू बनाएँ, गरेँ । कम्प्युटर उत्पादनका लागि आफ्नो व्यक्तिगत लगानीमा चार करोड पर्ने पुरै सेट नै ल्याएँ । मदरबोर्ड पनि यहिँ बनाउन सकिन्थ्यो । देशमै केही हुन्छ, नेपालमै केही गर्न सकिन्छ, बजार भारत पनि हो, बंग्लादेश हो, चीन हो भन्ने लागेको थियो । भारतमा आईबीएमका ठूला ठूला कम्प्युटर प्रयोगमा रहेको भए पनि माइक्रो कम्प्युटर भने प्रयोगमा आएको थिएन ।

तर, त्यतिबेला सरकारले नै… भनौँ के भनौँ ….(सरकारी उपेक्षा प्रतिकाे सार्‍है उदाशी भावमा) । बोलौँ भने अर्कै बुझिएला । तर बोल्नु नै पर्नेछ । सरकारको ठूलो कमजोरी हो यो । थाहा पाउँदा पाउँदै पनि सरकारले नेपालको सूचना प्रविधि र विज्ञान प्रविधिलाई अगाडि बढाउन नसकेको हो । त्यसै कारणले नै देश पछाडि परेको भन्ने ठान्छु । मैले त गरेँ नि । भारत, बेलायत, फ्रान्स, अमेरिका र नेपाल जहाँ भने पनि मैले जिन्दगीमा मरेर काम गरेकै हो । बाहिरबाट सिकेर आएँ । यहाँ बनाएँ । तर, सरकारले मेरो प्रयासलाई बुझ्नै सकेन । उपयोग गर्नै जानेन ।

धेरैले मलाई भने पनि–यहाँ किन आएको ? अमेरिकामै बसेको भए कहाँँ पुग्थ्यौ भन्थे । अमेरिकामा म लिंकनको गाडी चढ्थेँ । त्यहाँ राम्रै हैसियतमा थिएँ । त्यति हुँदा पनि आफ्नै देशको मायाले, केही गरौँ नेपालमा, धेरैलाई देखाउनु छ, सुनाउनु छ र सिकाउनु छ भन्ने हिसावले मात्रै म फर्केको हुँ । म नेपाल फर्कने कुरा सुनेपछि अमेरिकामा मैले काम गर्ने कम्पनीको अध्यक्ष निकै रिसाएको थियो ।  ‘के देख्या छस्, के पाउँछस् नेपालमा ? किन जाँदैछस् ? नेपालमा केही छैन । दुःख पाउँछस् । त्यसैले यहिँ बस ।’ भनेको थियो ।

नेपाल मेरो मातृभूमी हो, त्यसैले म फर्किँदैछु भनेँ । यसरी म फर्किएर आएको थिएँ । यहाँ अहिले पनि म नयाँ नयाँ काममा लागि नै रहेको छु । अझै पनि मेरो ऊर्जा अलिकति पनि कम भएको छैन । 

भिडियो रिपोर्ट
Facebook Comments
Scroll To Top