close

भारतमा अनलाइनबाटै हरेक सेकेन्डमा बिक्री हुन्छ एउटा स्मार्टफोन

टेकपाना टेकपाना

मंसिर ६, २०७६ १२:२२

भारतमा अनलाइनबाटै हरेक सेकेन्डमा बिक्री हुन्छ एउटा स्मार्टफोन

अनलाइन सपिङ प्रतिको बढ्दो आकर्षणका कारण भारतमा स्मार्टफोन बिक्रीले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार प्रकाशित एक अध्ययन प्रतिवेदनका अनुसार भारतमा हरेक सेकेन्डमा एउटा स्मार्टफोनको बिक्री हुन्छ, त्यो पनि अनलाइनबाट मात्रै ।

भारतकै सबैभन्दा ठूलो अनलाइन सपिङ साइट फ्लिपकार्टको बिग बिलियन र अमेजनको ग्रेट इन्डिया फेस्टिभ सिजन सेलजस्ता मेलालाई स्मार्टफोनको बिक्री बढाउने आधारका रुपमा उक्त प्रतिवेदनले उल्लेख गरेको छ । काउन्टरपार्ट मार्केट मोनिटर सर्भिसले सार्वजनिक गरेको उक्त प्रतिवेदन अनुसार सन् २०१९ को तेस्रो त्रैमासिकसम्म स्मार्टफोनको कूल बिक्रीमा अनलाइनको हिस्सा ४६ प्रतिशत पुगेको छ ।

कूल अनलाइन बिक्रीको ५७ प्रतिशत हिस्सा फ्लिपकार्टको मात्रै छ । बिक्रीदर ७५ प्रतितशले बढाएको अमेजनको भने कुल अनलाइन बिक्रीमा ३३ प्रतिशत हिस्सा रहेको छ ।

अनलाइनबाट बिक्री हुने स्मार्टफोनमध्ये साओमी सबैभन्दा अगाडि छ, जसको हिस्सा ३८ प्रतिशत छ । साओमीका रेड्मी सेभेन ए, नोट सेभेन प्रो र नोट सेभेन एस मोडलको बिक्री अनलाइनमा निकै राम्रो देखिन्छ ।

रियलमीको अनलाइन बिक्री पनि साढे चार गुणाले बढेको छ । खासगरी यो ब्रान्डका ६४ मेगापिक्सलसम्मको क्यामेरा भएका १५ हजार आसपासका मोबाइलका कारण ग्राहकको आकर्षण बढेको हो । सामसङ भीभोका पछिल्ला अलि कम मूल्यका मोडलमा पनि अनलाइन खरीदका लागि माग बढेको छ ।

यतिमात्र होइन वानप्लस जस्तो महङ्गो मोबाइलको बिक्री पनि अनलाइनहरुमा ह्वात्तै बढेको छ । यसको बिक्रीदर अघिल्लो बर्षको तुलनामा ७९ प्रतिशतले बढेको देखिन्छ । अमेजन यस्ता महङ्गा मोबाइल बिक्रीको माध्ययम बनेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१