close

मोबाइल, इन्टरनेटसँगै अब सामाजिक सञ्जालको पनि गुणस्तर नापिने

टेकपाना टेकपाना

मंसिर ८, २०७६ १३:३८

मोबाइल, इन्टरनेटसँगै अब सामाजिक सञ्जालको पनि गुणस्तर नापिने

नेपाल दूरसञ्चार प्राधिकरणले फेसबुक, ट्वीटर, ह्वाट्सएप लगायत ओटीटी सेवा प्रदायकको गुणस्तर मापन गर्ने भएको छ । दूरसञ्चार सेवाको गुणस्तर अध्ययनका लागि स्वचालित गुणस्तर मापन प्रणाली जडान गर्ने तयारी रहेको प्राधिरकणले त्यसैमार्फत ओटीटी ओटीटी सेवाको पनि गुणस्तर मापन गर्ने भएको हो ।

यसअघि प्राधिकरणले असोज अन्तिमा साता दूरसञ्चार सेवाको गुणस्तर अध्ययनका लागि स्वचालित गुणस्तर मापन प्रणाली जडान गर्न टेन्डर आह्वान गरेको थियो । त्यसमा उल्लेख भएका मापदण्डलाई परिमार्जित गर्दै प्राधिकरणले कात्तिक २१ गते पूनः टेन्डर आह्वान गरेको छ ।

जसअनुसार यो प्रणालीको लागत अनुमान करिब १५ करोड रुपैयाँ गरिएको छ । उक्त टेन्डरमा ओटीटी सेवा प्रदायकले दिँदै आएको सेवाको गुणस्तर समेत मापन गर्न सक्ने खालको प्रविधि हुनुपर्ने भनि प्राधिकरणले मापदण्डमा राखेकाे छ ।

‘प्राधिकरणले टेलिफोन सेवा प्रदायक कम्पनी तथा इन्टरेनट सेवा प्रदायकले दिदैं आएको सेवाको गुणस्तर मापनका लागि आवश्यक मेसिन र सफ्टवेयरको लागि टेण्डर आह्वान गरेको हो,’ प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले भने, ‘ मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको सेवा सुधारका लागि अनुगमनलाई प्रभावकारी बनाउन नयाँ प्रणाली जोड्न लागिएको छ ।’ त्यसमा ओटीटी सर्भिस प्रोभाइडरको सेवाको गुणस्तर पनि मापन गर्न मिल्ने सिस्टम हुनुपर्ने मापदण्ड राखिएको अर्याल बताउँछन् ।

अर्यालका अनुसार पछिल्लो समय प्राधिकरणबाट भएको अध्ययनले सेवा प्रदायक कम्पनीहरु सेवाको गुणस्तर कायम राख्न असफल रहेको देखिन्छ । प्राधिकरणले गत मार्चमा भक्तपुर, पोखरा, पृथ्वी राजमार्ग र बाग्लुङमा ड्राइभ टेष्टमार्फत सेवा प्रदायकको गुणस्तर मापन गरेको थियो ।

त्यसमा कल सफलता दर, कल कायम हुन लाग्ने समय र आफैं कल काटिने दरमा कम्पनीहरु मापदण्ड पुरा गर्न असफल भएका थिए । त्यस्तै इन्टरनेटको डाउनलोड स्पिड, अपलोड स्पिड र सिंक हुन लाग्ने समयमा पनि मापदण्ड पूरा गर्न कम्पनीहरु असफल भएका थिए ।

‘सेवा प्रदायकले उपलब्ध गराएको सेवाको सबै सूचकमा नकारात्मक परिणाम आइरहेको अवस्थामा गुणस्तर मापनलाई अझ प्रभावकारी बनाउन प्राधिकरणले यो कदम चालेको हो,’ अर्यालले भने, ‘त्यसमा ओटीटी सेवा प्रदायक कम्पनीको पनि सेवाको गुणस्तर मापनलाई हामीले जोड दिएका छाै‌ं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१