close

हुवावेसँगै जेडटीई माथि अमेरिकी प्रतिबन्ध, पुराना उपकरण समेत हटाइँदै

टेकपाना टेकपाना

मंसिर ९, २०७६ १२:२८

हुवावेसँगै जेडटीई माथि अमेरिकी प्रतिबन्ध, पुराना उपकरण समेत हटाइँदै

संयुक्त राज्य अमेरिकाको फेडेरल कम्युनिकेशन कमिसन (एफसीसी) ले आफ्नो युनिभर्सल सर्भिस फण्डबाट मुलुकका टेलिकम कम्पनलाईलाई हुवावे र जेडटीईका उपकरण खरीदमा रोक लगाएको छ ।
एफसीसीले चिनिया रोक लगाउनु पछाडि सुरक्षा चुनौतिलाई मूख्य कारण भएको बताएको छ ।

‘विविध किसिमको निगरानी र आक्रमणको संवेदनशिलताको अवस्थामा सेवामै रोक लाग्न सक्छ, जसबाट निष्ठा र गोपनियतामा आँच पुग्न सक्छ,’ उसले भनेको छ, ‘संयुक्त राज्य अमेरिकाले आफ्नो दूरसञ्चार नेटवर्क वायरलेश प्रविधि पछिल्लो पुस्तामा स्तरोन्नती गरिरहँदा विदेशी शत्रुलाई जासुसी गर्न, भाइरसहरु रोप्न तथा अमेरिकनहरुको डाटा चोरी थप बढ्न सक्ने जोखिम छ ।’

एफसीसीले अमेरिकी दूरसञ्चार कम्पनीहरुलाई आफ्नो नेटवर्कमा प्रयोग भएका हुवावे र जेडटीईका उपकरण प्रतिस्थापन गर्न आफ्नो कोष प्रयोग गर्न दबाब समेत दिइरहेको छ । ‘चिनियाँ सरकार र त्यहाँको सैनिकका लागि जासुसी गर्न, अन्य फेडेरल एजेन्सीले पहिचान गरेको जोखिम र अन्य राष्ट्रका सरकारको जासुसी गर्नेगरी हुवावे र जेडटीई दुबै कम्पनी चिनियाँ कानूनअनुसार बाध्य छन्,’ एफसीसीले अगाडि भनेको छ ।

अमेरिकामा ब्रोडब्याण्ड विस्तार लगायतका अन्य भिन्न चार कार्यक्रमका लागि एफसीसीको सार्वजनिक कोषको रुपमा रहेको यूएसएफबाट दूरसञ्चार कम्पनीहरुलाई अनुदान दिने गरिएको छ । यस्तो कोषको रकम राष्ट्रिय सुरक्षा जोखिममा नपर्नेगरी खर्च गर्नुपर्ने उसको भनाई छ ।

एफसीसीका अध्यक्ष अजित पाईले यो प्रतिबन्ध नितान्त प्रमाणमा आधारित रहेको र गत महिनाको यूरोपियन युनियनले समेत आफ्नो रिपोर्टमा फाइभजीले राज्यका लागि आक्रमणका ढोकाहरु बढाउन सक्ने बताएका छन् ।

‘यो सरोकार अनुमानमा आधारित भएर राखिएको होइन । उदाहरणको रुपमा गएको गर्मी सिजनमा एउटा स्वतन्त्र साइबर सुरक्षा सम्बन्धि कम्पनीले गरेको अनुसन्धानमा हुवावेका हरेक परीक्षण गरिएका डिभाइसमा औषत १०२ संवेदनशिलता रहेको पाइएको छ,’ पाईले भनेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१