close

सञ्चार तर्फको पहिलो चौमासिक विकास खर्च ३७.६१ प्रतिशत मात्रै

टेकपाना टेकपाना

मंसिर ११, २०७६ ९:५२

सञ्चार तर्फको पहिलो चौमासिक विकास खर्च ३७.६१ प्रतिशत मात्रै

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा मातहतका निकायको सुरुवाती प्रगति कमजोर देखिएको छ । मन्त्रालयले तयार पारेको प्रथम चौमासिक प्रगति विवरण अनुसार मन्त्रालय र मातहतक निकायले कूल ३७.६१ प्रतिशत मात्रै विकास खर्च गर्न सकेका छन् ।

उक्त प्रगति विवरण ५ मंसिरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयमा समेत पेस गरिसकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले तयार पारेको आर्थिक वर्ष २०७६/०७७ को प्रथम चौमासिक बजेट तथा प्रगति विवरणका अनुसार चालु तर्फ भने ५२.६० प्रशित खर्च भएको छ ।

पहिलो चौमासिकको लागि विनियोजित कुल विकास खर्च १४ अर्ब ३२ करोड ८९ लाख मध्ये पाँच अर्ब ३८ करोड ८९ लाखमात्रै खर्च भएको छ । सबैभन्दा बढी पुँजीगत खर्च गर्नेमा सुचना प्रविधि विभाग रहेको छ । विभागले पहिलो चौमासिकको लागि छुट्याएको बटेट भन्दा एक हजार एक सय २२ प्रतिशत बढी खर्च गर्न सफल भएको छ । पहिलो चौमासिकमा पूँजीगत खर्च १२ लाख छुट्याइएकोमा विभागले एक करोड ३४ लाख भन्दा बढी खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै हुलाक निर्देशनालयले पनि पूँजीगत खर्च छुट्याइएको भन्दा ५२.०९ प्रतिशत बढी खर्च गरेको छ । तर, स्वयम् मन्त्रालयको पूँजीगचत खर्च भने एकदमै न्यून देखिएको छ । मन्त्रालयले पहिलो चौमासिकको लागि छुट्याएको ८५ लाख ६० हजार खर्च मध्ये ६ लाख ४९ हजार मात्रै खर्च गर्न सकेको छ । जुन छुट्याइएको बजेटको केवल ७.५८ प्रतिशत मात्रै हो । सबैभन्दा कम पूजीगत खर्च गर्नेमा राष्ट्रिय सुचना प्रविधि केन्द्र रहेको छ । उसले बजेटको ०.५३ मात्रै बजेट खर्च गरेको छ ।

सबैभन्दा बढी बजेट रहेको नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले पनि सोचे अनुसार पुँजीगत खर्च गर्न सकेको देखिदैन । टेलिकमले जम्मा ४२.७४ प्रतिशतमात्रै पूँजीगत खर्च गरेको छ । टेलिकमले पहिलो चौमासिकको लागि पूँजीगत खर्च कुल ९ अर्ब ७१ करोड २७ लाख छुट्याइएकाे थियो । त्यसमध्ये ४ अर्ब १५ करोड १३ लाखमात्रै खर्च भएको छ ।

सञ्चारमन्त्रालय मातहत दोस्रो धेरै बजेट रहेको दुरसञ्चार प्राधिकरण पनि पुँजीगत खर्च गर्न असक्षम देखिएको छ । प्राधिकरणले जम्मा २३.१९ प्रतिशतमात्रै पूँजीगत खर्च गरेको छ । पहिलो चौमासिकको पूँजीगत खर्चतर्फ कुल ३ अर्ब ३६ करोड ५० लाख विनियोजन गरिएकोमा उसले ७८ करोड तीन लाख रुपैयाँ मात्रै खर्च गरेको छ ।

मन्त्रालयमा भर्खरै सचिवको रुपमा नियुक्त भएर आएका दिपक सुवेदी भने कार्य प्रगतिको आधारमा मन्त्रालयको अवस्था राम्रो रहेको दाबी गर्छन् । ‘हो, अहिलेको प्रतिवेदनले पूँजीगत तर्फ अपेक्षा अनुसार खर्च नभएको देखाएको छ । तर त्यसको अर्थ काम नभएको भन्ने चाहिँ होइन । काम भएको छ,’ उनले भने, ‘पहिलो चौमासिक कात्तिकमा सकियो, पैसा रिलिज मंसिरमा भएको छ । त्यसैले पनि पूँजीगत तर्फ थोरै र चालुतर्फ धरै खर्च भएको देखिएको हो ।’

दोस्रो चौमासिकमा पहिलाे चौमासिकमा भएको खर्च देखिने भएकाले अहिलेको पूँजीगत खर्चले असर नपार्ने सचिव सुवेदीको भनाई छ । ‘यही हिसावले जाने हो भने अन्तिमसम्म मन्त्रालयले लक्षअनुसारको पूँजीगत खर्च गर्न सक्षम हुनेछ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१