Now Reading
फोन–पेको रोचक कथा, जसले बदल्दैछ पैसा तिर्ने तरिका

फोन–पेको रोचक कथा, जसले बदल्दैछ पैसा तिर्ने तरिका

शुक्रबार, मंसिर १३, २०७६ - 2:03 PM     |     टेकपाना

नगद काराेबार अझै पनि भुक्तानीको बलियो आम प्रवृत्ति हो । अधिकांश खुद्रा कारोबारमा बिक्रेता र क्रेता दुबै पक्षको प्राथमिकतामा नगद नै पर्छ । तर पछिल्ला केहो वर्ष यता यस्तो आम प्रवृत्तिमा केही परिवर्तन देखिन थालेको छ । 

डिजिटल माध्यमको प्रयोग नगद कारोबारको एउटा बलियो विकल्पकाे रुपमा देखा परिरहेको छ । मोबाइल पेमेन्टबाट विकसित हुँदै गएको यो नयाँ प्रवृत्ति अहिले क्युआर कोडको प्रचलन सम्म आइपुगेको छ । क्यूआर कोड मार्फत हुने भुक्तानीलाई नेपालमा अभ्यस्त बनाउने श्रेय फोन-पेलाई जान्छ । 

फोन-पेको प्रणाली विकास हुनु अघि केही रोचक मोडहरु देखिए । सन् २००८ तिर नेपालमा मोबाइल पेमेन्टको सुरुवात भयो । त्यतिखेर ई–सेवाले ग्लोबल आईएमई बैंकमा एमक्यासको नाममा मोबाइल रिचार्ज गर्ने गरी मोबाइल भुक्तानी ल्याएको थियो । 

त्यसपछि लक्ष्मी बैंकले मोबाइल मनी ल्यायो । त्यतिबेला प्रिपेड फोन बजारमा विस्तार भइसकेको थियो । तर इन्टरनेट भने खासै थिएन । त्यसैले सबै डिजिटल भुक्तानी एसएमएसमा आधारीत थियो । यसको मतलब ब्यालेन्स थाहा पाउनु पर्‍यो भने बैंकलाई एउटा एसएमएस पठाउनु  पर्थ्यो । अनि बैंकले बाँकी ब्यालेन्स रिप्लाईबाट जानकारी गराउँथ्यो ।

टपअप गर्नु प‍र्यो भने पनि ‘टपअप–मोबाइल नम्बर–रकम’ लेखेर पठाउनु पर्थ्यो । सन् २०१२ ताका स्मार्टफोनको प्रयोग बढ्दै गयो । यद्यपि पर्याप्त मात्रामा इन्टरनेटको विस्तार भने भइसकेको थिएन । तर, एसएमएसको ‘सिन्ट्याक्स’ (शुत्रबद्ध ढाँचा) ले गर्दा प्रयोगकर्ताका लागि झन्झटिलो थियो । टपअप गर्दा ‘टप’ मात्रै राख्ने हो कि ‘टपअप’ राख्ने, बुझाउन पनि मुस्किल नै हुन्थो ।

बुझिहाले पनि ग्राहकलाई त्यो सम्झिन गाह्रो । त्यस्तो अवस्थामा ई–सेवाको टिमले एपको एउटा यस्तो कन्सेप्ट ल्यायो, जसमा प्रयोगकर्ताले एसएमएसको शूत्र घोक्नु पर्ने बाध्यता रहेन । यद्यपि एपले ब्याकइन्डमा एसएमएस नै पठाउँथ्यो । यसबाट सजिलो के भइदियो भने, प्रयोगकर्तालाई मेनु हेरे झैँ लाग्ने । यसरी ई–सेवाले डिजिटल भुक्तानी सेवा सहज बनाउँदै लग्यो ।

एसएमएसबाट टेलिकमको टपअप, ल्याण्डलाइन र एडीएसएलको बिल तिर्न त मिल्थ्यो तर संसारका अरु ठाउँमा मोबाइलबाटै रेष्टुरेन्ट, पसल लगायतको भुक्तानी गर्न मिल्ने भइसकेको थियो । नेपालमा भने टपअपलाई मात्रै मोबाइल पेमेन्टको रुपमा बुझ्नुपर्ने अवस्था कायमै थियो । यस्ता चुनौति मिश्रित प्रश्नको सामना सेवाप्रदायकको हैसियतले ई–सेवाले गरिरहेकै थियो । 

त्यसपछि भने २०१२ तिरै ई–सेवाले खुद्रा विक्रेताको भुक्तानी मोबाइलबाटै गर्न सकिने बनायो । त्यो पनि एसएमएस (पे–मर्चेन्ट कोड–रकम) ‘सिन्टेक्स’ मै आधारित । जसले गर्दा सेवा प्रदायकका लागि ग्राहकलाई त्यो कुरा सिकाउन निकै सकसपुर्ण मात्रै नभएर अव्यवहारिक पनि थियो । अर्कोतर्फ एसएमएसलाई प्रयोगकर्ताले विश्वास पनि गरेनन् ।

प्रयोगकर्तालाई एसएमएस नजाने हो कि, गइहाले पनि पैसा मात्रै काटिने हो कि, भन्ने किसिमका आशंकाले मोबाइल भुक्तानी प्रति आश्वस्त हुने अवस्था बन्न सकिरहेको थिएन । त्यसपछि भने एफवान सफ्टको टिमले सन् २०१२ मा नेपालमै पहिलो पटक क्युआर कोड प्रयोग गर्न थाल्यो । जसको नेतृत्व हाल एफ वान सफ्टको सीईओ रहेका सुवास शर्माले गरे । ई–सेवाकै एपमा ‘स्क्यान टु पे’ फिचर पनि थपियो ।

सबै मोबाइल बैंकिङमा पनि ‘स्क्यान टु पे’ भन्ने फिचर अगाडिदेखि नै थियो । तर, पैसा तिर्ने ठाउँ बनाउनुपर्ने हुन्थ्यो । तत्कालीन समयमा त्यो नै सबैभन्दा ठुलो चुनौती बनेको शर्मा बताउँछन् । हुन त सबै ठाउँमा नगदमै कारोबार भइरहेको अवस्थामा मोबाइलबाटै पैसा तिर्न मिल्छ भन्ने कुरा बुझाउन त्यति सहज पनि थिएन । न त सेवाप्रदायक कम्पनीको अहिले जस्तो ठुला ठुला अभियान र क्याम्पेन गर्ने क्षमता नै थियो ।

मोबाइलमा फिचर त थियो, तर तिर्ने वा प्रयोग गर्ने ठाउँ भने थिएन । मोबाइलमा रहेको एपमा फिचर छ, क्यामेरा पनि खुल्छ । तर केमा प्रयोग गर्ने भन्ने अलमल प्रयोगकर्तामा देखिन थाल्यो । फिचर उपयोगमा नआउने भएपछि आफुहरु बाध्य भएर क्युआर कोडबाट पछाडि हट्नुपरेको शर्मा सम्झन्छन् ।

‘मोबाइलमा इन्टरनेट चलाउन सहज हुँदै गयो, वाईफाई पनि ठाउँठाउँमा उपलब्ध हुन थाल्यो । एपमा दिँदै आएका सेवा इन्टरनेटबाटै चलाउन मिल्ने पनि बनायौँ, तर क्युआर कोडलाई भने हामीले बिर्सिसकेका थियौँ,’ शर्मा भन्छन् ।

 सबै बैंकहरु इन्टरनेटमा चल्ने मोबाइल बैंकिङमा गइरहेका थिए । ई–सेवा पनि इन्टरनेटमा गयो । २०१७ तिर क्युआर कोड सुरु गर्ने उपयुक्त समय अब हो भन्ने निधोमा शर्मा लगायत एफवान सफ्टको टिम पुग्यो । ‘यस पटक भने हामीले तयारी गर्दागर्दै प्रतिस्पर्धी सबैले क्युआरकोड सुरु गरिसकेका थिए,’ शर्मा भन्छन्, ‘ई–सेवाको आफ्नै क्युआर थियो, प्रतिस्पर्धीको पनि आ–आफ्नै क्युआर थियो । ई–सेवाको एप भएकाहरुले उसको क्युआर भएको ठाउँमा मात्रै भुक्तानी गर्न मिल्ने, अरुको हकमा पनि त्यस्तै थियो ।’

एउटा सानो किराना पसलले भुक्तानी लिनका लागि मोबाइल बैंकिङ तथा डिजिटल वालेटका १५ थरी क्युआरकोड लाइन लगाएर त राख्ने कुरा व्यवहारिक पनि थिएन । त्यसैले यस्तो क्युआर कोडको आवश्यकता थियो, जसमा सबै सेवाप्रदायकले काम गर्न सकुन् ।

अर्थात धेरै भन्दा धेरै ग्राहकले एउटै क्युआरकोडबाट भुक्तानी गर्न सक्ने होस् । अनि पसलेलाई पनि ढुक्क होस् । ता कि एउटा क्युआरकोड राखेपछि सबैको भुक्तानी लिन मिलोस् ।

त्यसो गरिएन भने क्युआरमा सफल हुन सकिँदैन भन्ने कुरा शर्माले राम्रैसँग बुझेका थिए । त्यसैको प्रतिफल फोन–पेको अवधारणा बनेको हो । ‘नेपालमा सबैको क्युआर चल्ने सिस्टम हामीले नै सुरुवात गरेका हौँ,’ उनी भन्छन् ।

तर, क्युआर कोडको आविष्कार नै एफवान सफ्टले गरेको भने होइन । किन कि विकसित मुलुकमा मास्टरकार्ड, भिजा, चाइना युनियन पे, युरो पे लगायतका कम्पनीहरु मिलेर ईएमभी नामक एउटा साझा क्युआर कोर्डको मापदण्ड तयार पारिसकेका थिए । ‘त्यसैले किन नयाँ मापदण्ड बनाइराख्ने, ईएमभीलाई नै फलो गर्ने भन्ने निधोमा पुग्यौँ,’ शर्मा भन्छन्, ‘त्यसो हुँदा हामीलाई अन्तरराष्ट्रिय भुक्तानीमा समेत काम गर्न सजिलो हुन्छ भन्ने थियो ।’

प्रत्यक्ष रुपमा व्यवसाय सञ्चालन गर्नेगरी फोन–पे आएको पनि होइन । जसको परिकल्पना सबै सेवाप्रदायकको एउटा साझा नेटवर्कको रुपमा मात्रै थियो । ‘फोन–पेमा मोबाइल बैंकिङ तथा मोबाइल वालेट सेवा प्रदायकलाई सदस्य बन्न पाउँछन् । ई–सेवा आफैमा फोन पे–को मेम्बर हो ।

विभिन्न बैंकहरु यसका मेम्बर छन् । यस्ता सबै मेम्बरहरुको एपबाट फोन–पेको क्युआरमा भुक्तानी गर्न सकिन्छ,’ शर्मा भन्छन्, ‘एनआईसी एशियासँग पाँच लाख ग्राहक छन्, ग्लोबल आईएमई बैंकसँग अर्को चार लाख ग्राहक, वाणिज्य बैंकसँग नौ लाख ग्राहक यस्तै गरेर कुल ग्राहकको संख्या ८७ लाख हुन्छ ।

यस्तो अवस्थामा कुनै पनि मर्चेन्टका लागि फोन–पेको क्युआर राखेपछि ८७ लाख ग्राहकले डिजिटल माध्यमबाट पैसा तिर्न सक्ने माध्यम तयार हुने भयो । यस्तो अवस्थामा ग्राहक ई–सेवाको वा कुनै निश्चित बैंकको मात्र हुने कुरा पनि भएन ।’

अहिले ई–सेवा र मोबाइल बै‌किङ सेवा प्रदायक आ–आफ्नो ग्राहक बढाउने प्रतिस्पर्धामा छन् । यस्तोमा आफ्ना ग्राहकले गरेको भुक्तानीको सोझो फाइदा बैंकलाई हुने भयो, ई–सेवालाई पनि हुने भयो र अन्य यस्तै मेम्बरलाई हुने भयो ।

यदी तपाईंले बजारमा कतै फोन–पेको क्युआर देख्नुभयो भने त्यसको तलपट्टी कसले मर्चेन्ट बनाएको हो भन्ने जानकारी पनि देख्नुहुनेछ । यसरी लक्ष्मी बैंक, एनआईसी एशिया बैंक, मुक्तिनाथ विकास बैंक, ई–सेवा लगायतका सदस्यहरुले फोन–पेका मर्चेन्टहरु तयार पारिरहेका छन् ।

उदाहरणका लागि ई–सेवाले कुनै चिया पसललाई मर्चेन्ट बनाएको खण्डमा फोन–पेका सबै सदस्यहरुको मोबाइल एपबाट पैसा तिर्न मिल्छ । अब यसबाट मर्चेन्टलाई पनि सजिलो, पैसा जति खातामा जम्मा हुने ।

धेरै ठाउँमा खाता खोलिरहनु पनि नपर्ने । ई–सेवामा वालेट खोलिरहनुपर्ने बाध्यता पनि छैन । एउटा क्युआर कोडबाट उसले सबै मेम्बरहरुबाट आफ्नो कुनै एउटा खातामा रकम बुझ्न सक्ने भयो ।

भविष्य मोबाइल पेमेन्टकै हो भन्ने कुरा कुनै दुविधाको विषय रहेन । त्यसैले सबै बैंकहरु मर्चेन्ट बनाउनेतर्फ कस्सिएर लागिपरेका छन् । फोन–पेका सबै मेम्बरहरुले आक्रामक रुपमा मर्चेन्ट बनाउँदा गएको आठ महिनामा मात्रै नेपालभर ६० हजारभन्दा बढी मर्चेन्ट थपिएका छन् ।

त्यसैले त ‘वी एसेप्ट फोन–पे’ लेखेका ठाउँहरु बढ्दै गइरहेका छन् । फोन–पेले नेटवर्क मात्रै सञ्चालन गरेर वास्तविक व्यवसाय चाहिँ बैंक र वालेटहरुलाई दिएको छ । उदाहरणकै रुपमा भन्ने हो भने ई–सेवाको वालेटबाट एनआईसी एशियाको मर्चेन्टलाई कसरी पे गर्ने ? एनआईसी एशियाको मर्चेन्टले ई–सेवाको मर्चेन्टलाई कसरी भुक्तानी गर्ने ? अहिले यस किसिमको झञ्जट फोन–पेले व्यहोरिदिन्छ ।

‘ईएमभी मापदण्डको अन्तरसञ्चालन प्रणाालीयुक्त क्युआर बनाउनुपर्छ, जसमा सजिलै पेमेन्ट गर्न मिलोस् भनेर जुन सोचका साथ हामीले फोन–पेको थालनी गरेका थियौँ, त्यो सही रहेछ भन्ने कुरा अहिले आएर प्रमाणित भएको छ’ शर्मा भन्छन् ।

See Also

बैंकहरुले पनि फोन–पेको महत्व बुझेका छन् र त्यसैले त मर्चेन्ट बनाउनेतर्फ आक्रामक रुपमा लागिपरेका छन् । यो वर्ष डेढ लाख मर्चेन्ट बनाउने भन्ने फोन–पेको लक्ष्य छ । यसरी अहिले कार्डको व्यवसाय र नगद कारोबारसँग डिजिटल तथा अनलाइन पेमेन्टले प्रतिस्पर्धा गरिरहेका छन् ।

कार्डसँगको प्रतिस्पर्धा

कार्डको भुक्तानी महंगो र झन्झटिलो छ । कार्ड जारी गर्न बैंकहरुले ठुलै लगानी गर्नुपर्छ । अनि कार्ड स्वीकार गर्ने पोस खरीद गर्न मर्चेन्टलाई कम्तिमा २५ हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

राम्रो कारोबार हुने विक्रेता तथा मर्चेन्टका लागि त्यो त्यति ठुलो विषय नहुन सक्छ । तर, सानो लगानीका थोरै कारोबार हुनेहरुका लागि भने त्यो २५ हजार ठुलै रकम हो । 

त्यसमाथि कार्डमार्फत हुने भुक्तानीमा कारोबारको १.५ प्रतिशतदेखि २.५ प्रतिशतसम्मको रकम कमिसनको रुपमा कार्ड सेवाप्रदायकलाई दिनुपर्ने हुन्छ । त्यसैले मर्चेन्ट र बैंकहरु दुवैका लागि यो खर्चिलो र झन्झटिलो छ । त्यसैले नै यसको प्रयोगमा व्यापकता आउन नसकेको स्वीकार गर्नैपर्ने हुन्छ ।

क्युआर पेमेन्ट आइसकेपछि मर्चेन्टका लागि त्यस किसिमको लागत शुन्य छ । अहिले डिजिटल पेमेन्ट प्रवर्धनको चरण भएकाले मर्चेन्टले कारोबारमा कुनै पनि कमिसन तिर्नुनपर्ने शर्मा बताउँछन् । ‘भोलि शुल्क लाग्ने अवस्थामा पनि नगन्य नै हुनेछ,’ उनी भन्छन् ।

 बैंक तथा वालेटका हरेक ग्राहकका लागि स्मार्टफोन सामान्य विषय भइहाल्यो । मोबाइलमा फोन–पे चलाउनुको अतिरिक्त खर्च केही पनि लाग्दैन । पैसा तिर्न पनि सजिलो । शर्माका अनुसार मर्चेन्टलाई फोन–पेका तर्फबाट क्युआर कोड भएको एउटा स्ट्याण्ड निःशुल्क रुपमा दिन्छ । 

‘हाम्रो देशको जस्तो अर्थतन्त्र, जहाँ उत्पादमुलक उद्योगहरु खासै छैनन्, जे कुरा पनि आयात गर्नुपर्छ,’ उनी भन्छन्, ‘यस्तो पृष्ठभुमीमा नगद कारोबारलाई डिजिटलमा लैजान सबैभन्दा उपयुक्त माध्यम क्युआर नै हो ।’

फोन–पे खुल्ला अवधारणमा सञ्चालित छ । अर्को शब्दमा यसमा जो पनि मेम्बर हुन पाउँछन् । डिजिटल पेमेन्टका लागि फोन–पेको नेटवर्कको अवधारणा मौलिक नै हो ।

‘मोबाइल भुक्तानीमा नेटवर्कको अवधारण ल्याएको हामीले नै हो,’ शर्मा भन्छन, ‘सबैलाई यसको मेम्बर बनाएर नगद कारोबारलाई घटाउने नै हाम्रो लक्ष्य हो । अरु प्रतिस्प्रर्धीहरु पनि फोन–पेमा आउन सक्छन् । हामीसँग आउन सहज महशुस गर्नुहुन्छ वा हुँदैन भन्ने चाहिँ उहाँहरुको कुरा हो ।’

ई–सेवा लगायत सबै मोबाइल बैंकिङ फोन–पेमा आबद्ध भइसकेको शर्मा बताउँछन् । चाइना युनियन–पेको वालेट पनि आबद्ध भइसकेको छ । यसको अर्थ चिनियाँ पर्यटकले चाइना युनियन–पेको एप प्रयोग गरेर फोन–पेमा सोझै पैसा तिर्न सक्छन् । ‘चीनको वालेटले त नेपालमा आएर फोन–पेमा पैसा तिर्न मिल्छ भने नेपालका अरु प्रतिस्पर्धीबाट नमिल्ने भन्ने छैन,’ उनी भन्छन् ।

शर्माले यसो भनिरहँदा ई–सेवा बाहेक नेपालका अरु वालेट भने फोन–पेमा आवद्ध भएका छैनन् । यसबाट बैंकको पैसा बैंकमै रहने, मर्चेन्टहरुलाई पनि आफ्नै खातामा पैसा जम्मा हुने र ग्राहकलाई पनि भुक्तानी दिन सहज हुने भएपछि अहिले यसको प्रयोग बढ्दो छ । 

अहिले जहाँ बैंक पुगेको छ, त्यहाँ क्युआर पुगिसकेको छ । अहिले फोन–पेबाट दैनिक ४५ सयदेखि पाँच हजार ओटा कारोबार हुने गरेको छ । यस हिसाबले दैनिक औषतमा एक करोड १० लाख रुपैयाँ फोन–पेको क्युआर मार्फत भुक्तानी हुन्छ ।

ई–सेवामा वा कुनै पनि बैंकमा खाता हुनेहरु सजिलै फोन–पेको मर्चेन्ट बन्न सक्छन् । त्यसका लागि ई–सेवामा वा आफ्नो खाता रहेको बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ । व्यवसायको सानो विवरण भरिसकेपछि भोलिदेखि नै क्युआरमार्फत भुक्तानी अपनाउन सकिने सिईओ शर्मा बताउँछन् । ‘कुनै पनि बैंकको खाता छैन भने पनि ई–सेवामा खाता खोलेरै पनि फोन–पेको क्युआर राख्न सकिन्छ,’ उनी भन्छन् ।

Facebook Comments
Scroll To Top