close

भोइस र डेटाको मूल्य ५० प्रतिशतसम्म बढाउँदै भारतीय टेलिकम कम्पनी

टेकपाना टेकपाना

मंसिर १६, २०७६ ११:१०

भोइस र डेटाको मूल्य ५० प्रतिशतसम्म बढाउँदै भारतीय टेलिकम कम्पनी

अति न्यूनतम मूल्यमा भोइस र डेटा उपलब्ध गराएर ‘प्राइस वार’को तहमा उत्रिएका भारतीय टेलिकम सेवा प्रदायकले अहिले त्यसको मूल्य चुकाउनु परेको छ । ग्राहक आकर्षित गर्न अति कम मूल्यमा सेवा बेच्ने प्रतिस्पर्धा गरिरहेका कम्पनीको आम्दानीमै समस्या भएपछि अहिले प्रायः सबै कम्पनीहरु यसबाट पछाडि हट्ने निर्णयमा पुगेका छन् ।

‘सिन्डिकेट’कै शैलीमा एक पछि अर्को भारतीय टेलिकम कम्पनीले मूल्य बढाउने जानकारी दिन थालेका छन् । आइतबार मात्रै रिलायन्सले डिसेम्बर ६ देखि ल्याउन लागेको अनलिमिटेड प्लान अन्तर्गत भोइस र डेटाको मूल्य ४० प्रतिशतसम्मले बढ्ने जनाएको छ ।

यद्यपि रिलायन्सका सञ्चालक मुकेश अम्बानीले यो प्लानबाट प्रयोगकर्ताले ३ सय प्रतिसम्म फाइदा लिन सक्ने दाबी गर्न भने छुटाएका छैनन् । रिलायन्स अघि भारती र भोडाफोनले पनि मंगलबारदेखि लागु हुने गरी ट्यारिफ बढाएका छन् । यी दुवै कम्पनीले पनि अनलिमिटेड प्लान अन्तर्गत ५० प्रतिशतसम्म मूल्य बढाएका छन् । यसको प्रत्यक्ष असर खासगरी प्रिपेड प्रयोगकर्तालाई पर्नेछ ।

भोडाफोनले इन्ट्री लेभलमा १५ सय भारुमा बर्षभर प्रयोग गर्न सकिने गरी २४ जीबी डेटा उपलब्ध गराउने भएको छ । भारतीले पनि यस्तै किसिमको प्लान सार्वजनिक गरेको छ ।

मंगलबारदेखि भारती र भोडाफोनका ग्राहकसँग इन्टरनेट र भोइस सेवा प्रयोग गर्न न्यूनतम ४९ भारु ब्यालेन्स हुनुपर्नेछ । भारतमा विगत पाँच बर्षयता पहिलो पटक भोइस र इन्टरनेटको मूल्य बढेको हो ।

गत अक्टोबर २४ मा भारतको सर्वोच्च अदालतले टेलिकम कम्पनीले आफ्नो सेवा बिक्री बापत गर्ने आम्दानी सेयर गणना सरकारी नियम अनुसार हुने आदेश जारी गरेपछि टेलिकम कम्पनीहरुले सेवाको मूल्य बढाएका हुन् । उक्त आदेशपछि धेरै कम्पनीहरुको खर्बौं दायित्व बढेपछि प्राइस वारको युग तत्कालका लागि अन्त्य भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१