close

इन्टरनेटमा के गर्छन् नेपाली ?

टेकपाना टेकपाना

मंसिर १९, २०७६ ११:०

इन्टरनेटमा के गर्छन् नेपाली ?

पछिल्ला केही वर्षमा नेपालमा इन्टरनेटको विस्तार र प्रयोग ह्वात्तै बढेको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ६७.२३ प्रतिशत अर्थात करीब २ करोड नेपाली तीब्र गतिको ब्रोडब्याण्ड इन्टरनेटको पहुँचमा छन् । 

प्रयोगकर्तासँगै नेपाल आयायात हुने इन्टरनेटको अन्तर्राष्ट्रिय ब्याण्डविथ समेत बढ्दो छ । पछिल्लो समय नेपालमा प्रति सेकेन्ड करीब चार सय जीबी अन्तर्राष्ट्रिय ब्याण्डविथ भित्रिरहेको छ । त्यसमाथि नेपालमा धेरै खपत हुने इन्टरनेट कन्टेन्टका लागि सेवाप्रदायकले स्थानीय स्तरमै क्यास सर्भर समेत राखेका छन् । त्यसको समेत हिसाव गर्दा नेपालीले गर्ने इन्टरनेट ब्याण्डविथ एकदमै उच्च रहेकाे छ । 

नेपालको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका अनुसार पछिल्लो दुई वर्षमा इन्टरनेट डेटा ट्राफिक तीन गुणाले बढेको छ । इन्टरनेटको खपत यति धेरै मात्रामा भइरहँदा नेपालीहरुले त्यसको प्रयोग चाहिँ के मा गरिरहेका छन् होला भन्ने प्रश्न उठ्नु पनि स्वभाविक नै हो । 

भर्खरै एनसेलले नेपालीहरुले डाटा के मा खर्च गरिरहेका छन् भन्ने एउटा तथ्याङ्क बाहिर ल्याएको छ । तथ्याङ्क अनुसार कुल मोबाइल डेटाको ४५ प्रतिशत भिडियो हेर्नका लागि खर्च गरिरहेका छन् । जसमध्ये सबैभन्दा बढी २९.२३ प्रतिशत मोबाइल डेटा युटुबको भिडियो हेर्न खर्च भइरहेको छ भने दोश्रोमा एचटीटीपीएस वेब कन्टेन्टमा १३.७८ प्रतिशत डेटा खर्च भइरहेको छ ।

यसमा सबैभन्दा रोचक तथ्य के छ भने नेपालीहरुले ११.७९ प्रतिशत मोबाइल डेटा अज्ञात किसिमको कन्टेन्ट हेर्नमा खर्च गरिरहेका छन् । यस पछाडिको अनुमान  के हो भने भीपीएन प्रयोग गरी पोर्न सम्बन्धि सामग्री हेर्नका लागि सो परिमाणमा मोबाइल डेटा खपत भइरहेको छ । 

त्यसपछि भने मोबाइल डेटाको १०.१३ प्रतिशत फेसबुक भिडियोमा, ५.६८ प्रतिशत यूडीपीमा, ४.५३ प्रतिशत फेसबुक म्यासेन्जरमा, ४.३८ प्रतिशत फेसबुकमा, ३.९२ प्रतिशत टिकटकमा खर्च भइरहेको देखिएको छ । 

यस्तै गुगल प्लेमा २.६४ प्रतिशत, फेसबुक लाइटमा २.१९ प्रतिशत, इन्स्टाग्राममा १.५५ प्रतिशत, इमोमा १.४५ प्रतिशत, बीएमएफएफमा १.४४ प्रतिशत, ह्वाट्सएपमा १.३७ प्रतिशत र बाँकी डेटा अन्यमा खपत भइरहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३