close

ल्याण्डलाइन फोनको भविष्य के होला ? (भिडियो सहित)

टेकपाना टेकपाना

मंसिर २२, २०७६ १८:५७

ल्याण्डलाइन फोनको भविष्य के होला ? (भिडियो सहित)

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा दिन प्रति दिन तीब्र रुपमा नयाँ नयाँ प्रयोग, आविष्कार र विकास भइरहेको छ । त्यस सँगसँगै पुरानो प्रविधिको स्तरोन्नती मात्रै हुँदैन, कतिपय प्रविधि त नयाँ प्रविधिका कारण पुर्णतया विस्तापित नै हुनेगरेका छन् । त्यसैगरी दूरसञ्चारको क्षेत्रमा आकाशबाणी प्रविधि पुर्णतः विस्तापित भइसक्यो । इमेल–इन्टरनेटका कारण फ्याक्स पनि त्यसै बाटोमा छ ।

तर, ल्याण्डलाइन फोन भने विस्तापित हुने अवस्था अझै आइसकेको छैन । साच्चिकै आखिर यसको भविष्य के होला ? यो जिज्ञाशा तपाईंको दिमागमा पनि हुनसक्छ । नेपालमा यस्तो प्रविधिमा टेलिफोन सेवा दिने टेलिकम एक्लो कम्पनी हो । हामीले नेपाल टेलिकमको नेतृत्व गरिरहेका डिल्लिराम अधिकारीलाई यही प्रश्न गरेका छौँ । 

टेलिकम इन्जिनियर समेत रहेका अधिकारी ल्याण्डलाइन प्रविधि विस्थापित हुने कुरामा असहमत देखिए ।  पछिल्लो समय संसारमै हरेक घरमा एउटा कनेक्सन हुनैपर्ने परिपाटी बन्दै गएको उनको भनाई छ । ‘अरु देशमा त बच्चालाई विद्यालय भर्ना गर्नुपरेमा वा अन्य काम गर्नुपरेमा ल्याण्डलाइन नम्बर अनिवार्य नै गरिएको हुन्छ । त्यसको पछाडि सुरक्षालाई मूख्य सरोकारको रुपमा हेरिएको हुन्छ । तर नेपालमा भने त्यस किसिमको नीति अझै तयार भइसकेको छैन ।’

हरेक नेपालीको घरमा फाइबरको एउटा कनेक्सन, प्रबन्ध निर्देशक अधिकारीले देखेको एउटा सपना हो । पछिल्लो समय नेपाल टेलिकम एफटीटीएच (फइबर टू दी होम) प्रविधिलाई उच्च प्राथमिकताका साथ विस्तार गर्ने योजनाका साथ अगाडि बढिरहेको छ । इन्टरनेटको यो प्रविधिले एडीएसएल प्रविधिलाई मात्रै विस्थापित गरिरहेको छैन, ल्याण्डलाइन र टेलिभिजन समेत सँगसँगै पुर्‍याउने माध्यम पनि बनिरहेको छ । 

दूरसञ्चार प्राधिकरणका अनुसार देशभर टेलिकमका ६ लाख ६७६ लाइन ल्याण्डलाइन फोन, एक लाख १९ हजार ४३८ डब्ल्यूएलएल र ५८१ भिस्याट गरी कूल सात लाख ९६ हजार ५५२ लाइन फिक्सलाइन टेलिफोन सञ्चालनमा छन् ।

टेलिकमले अहिले एफटीटीएचसँगै ल्याण्डलाइन फोन दिने कार्यको थालनी गरिसकेको छ । निकट भविष्यमा त्यसैमार्फत टेलिभिजन दिने योजना समेत कम्पनीले बनाएको छ । यस्तो अवस्थामा सहर नै कुरुप हुने गरी छरिएका र झुण्डिएका तारहरुको व्यवस्थापन समेत सहज हुने अधिकारीको अपेक्षा छ । भन्छन्, ‘अरु देशमा नेटवर्क नै सेयरिङ गर्ने अवधारणा आइसक्यो, हामी पनि त्यतातर्फ जानुपर्ने हुन्छ । यस्तो अवस्थामा नितान्त विषयवस्तु र सेवामा प्रतिस्प्रर्धा गर्न सकिने अवस्था रहन्छ ।’ यद्यपी, टेलिकमले चाहेर मात्रै यो सपना पुरा हुने अवस्था भने रहँदैन । त्यसका लागि राज्य नै अग्रसर हुनुपर्ने अधिकारीको भनाई छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३