close

रिचार्ज कार्डको पिन नम्बर मेटियो ? रिचार्ज गर्न यसो गर्नुहोस्

टेकपाना टेकपाना

मंसिर २३, २०७६ १४:२३

रिचार्ज कार्डको पिन नम्बर मेटियो ? रिचार्ज गर्न यसो गर्नुहोस्

कोट्याउने क्रममा कहिल्यै तपाईंको रिचार्ज कार्डको नम्बर मेटिएकाे छ ? अब भने त्यस्तो अवस्थामा चिन्ता गर्नुनपर्ने भएको छ । पिन नम्बर मेटिएकाे अवस्थामा समेत नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई सहजरुपमा रिचार्ज गर्न सक्ने सुविधा दिन थालेको छ ।

त्यसअनुसार रिचार्ज कार्डमा मेटिएर ६ वटा मात्रै पिन नम्बर बाँकी रहेको अवस्थामा पनि रिचार्ज गर्न सकिनेछ । यसअघि रिचार्ज कार्डको पिन नम्बर मेटिएमा कार्ड साट्न कम्पनीको काउण्टरमै पुग्नु पर्ने बाध्यता रहेको थियो । काउण्टरमा उक्त कार्डको जाँच गरेपछि मात्रै टेलिकमले नयाँ कार्ड उपलब्ध गराउने गरेको थियो । तर, अब भने ग्राहक आफैले कम्पनीको वेबसाइटबाटै त्यस्तो समस्या सल्टाउन सक्नेछन् ।

कसरी गर्ने ?

त्यसका लागि सुरुमा नेपाल टेलिकमको वेबसाइट मा जानुहाेस् । त्यहाँ ‘पिन रिकभरी‘ अप्सन दिइएको छ । उक्त अप्सनमा गएर त्यहाँ मागिएको तथ्याङ्क भरी आफ्नो मोबाइल रिचार्ज गर्न सक्नुहुनेछ । त्यसका लागि कार्डको सिरियल नम्बर भने आवश्यक हुन्छ ।

ग्राहकले वेबसाइटमा गएर रिचार्ज कार्डको सिरियल नम्बर, १६ अंकको रिचार्ज कार्डको पिनमध्ये बाँकी रहेको (कम्पीमा ६ वटा) पीन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराउनु पर्नेछ । देखिएको पिन नम्बरलाई कार्डमा उपलब्ध गराइएको क्रमसँगै राख्नु पर्ने हुन्छ ।

अर्थात मेटिएको अंकमा ‘एक्स’ चिन्न राख्ने र अन्य बाँकी जस्ताको तस्तै उल्लेख गर्नुहोस् । जस्तो पीन नम्बरको ढाँचा ०९८७६५४३२११२३४५६ रहेकाे छ र त्यसको बीचका केही अंकहरु मेटिएको छन् भने, त्यहि अनुसार ०९८xx५४३x११xx२३xx५६ रुपमा राख्नु पर्ने हुन्छ । अनलाइनबाट यसरी बढीमा १० पटक सम्म प्रयास गर्न सकिने सुविधा कम्पनीले दिएको छ । १० पटकसम्म प्रयास गर्दा समेत नभएको खण्डमा भने कार्ड लिएर कम्पनीको काउन्टरमै पुग्नु पर्ने टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार रिचार्ज कार्ड कोट्याउँदा पिन नम्बर मेटिएमा सधैं टेलिकमको कार्यलय पुग्नु पर्ने बाध्यतालाई अन्त्य गर्न यो प्रविधिको सुरुवात गरिएको हो । यसबाट ग्राहकले घरमै बसी आफुलाई परेको समस्याको समधान गर्न सक्ने कम्पनीको विश्वास छ । त्यतिमात्रै नभएर टेलिकमले आगामी दिनमा नेपाल टेलिकमको एप ‘नेपाल टेलिकम’ र सर्ट कोडमार्फत एसएसएस पठाएर पनि रिचार्जकार्ड साट्न सकिने व्यवस्था गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३