close

८ हजारमै वर्षभर टेलिकमको फाइबर इन्टरनेट, यी स्थानमा उपलब्ध छ

टेकपाना टेकपाना

मंसिर २६, २०७६ १८:२०

८ हजारमै वर्षभर टेलिकमको फाइबर इन्टरनेट, यी स्थानमा उपलब्ध छ

नेपाल टेलिकमले देशका विभिन्न स्थानमा तीब्र गतिको इन्टरनेटका लागि फाइबर टु दी होम (एफटीटीएच) प्रविधि विस्तार गरेको छ । काठमाडौं उपत्यकाबाट सुरु गरिएको एफटीटीएच सेवा हाल २५ जिल्लामा पुगेको कम्पनीले जनाएको छ ।

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सटो घरसम्म अप्टिकल फाइबर पुर्‍याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकका लागि यो सेवा प्रभावकारी र उपयोगी हुने कम्पनीले जनाएको छ ।

‘एनटी फाइबर’को नाममा आगामी दिनमा यो सेवा देशभर उपलब्ध गराउने लक्ष लिएको छ । नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट ग्राहकका साथै कम्बो प्याकेज समेत उपलब्ध गराइरहेको छ ।

यस अन्तर्गत न्यूनतम एक वर्षका लागि आठ एमबीपीएसको प्याक जम्मा आठ हजार रुपैयाँमा उपलब्ध छ । कम्पनीले हाल एफटीटीएच प्याकेज अन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।

कुन कुन स्थानमा उपलब्ध छ ?

काठमाडौं

काठमाडौंकाे कीर्तिपुर कार्यालय अन्तर्गत भत्केकोपाटी रुट, एक्सचेन्ज एरिया, नगाउँ दोबाटो चोक, नगाउँ, कीर्तिपुर विहार, कीर्तिपुर, कीर्तिपुर ढोकासी, चिखु प्लानिङ, कुमारी क्लब र ट्याङ्लाफाँट क्षेत्रमा यो सेवा वितरण भइरहेको छ ।

त्यसैगरी गोंगबु कार्यालय अन्तर्गत चमती, गोंगबु चोक रिङरोड, खुशिबु टाउन प्लानिङ, खुशिबु नयाँ बजार र बसुन्धरा क्षेत्रमा सेवा वितरण भइरहेको टेलिकमले जनाएको छ । नक्साल एक्सचेञ्जबाट पुतलीसडकमा कुमारी बैंकको विपरित क्षेत्र, पुतलीसडक, स्टार मल, डिल्लीबजार, डिल्लीबजार पिपलबोट, चारखाल, ज्ञानेश्वर, घट्टेकुलो, मैतीदेवी, खसीबजार र कृष्ण पाउरोटी क्षेत्रमा एफटीटीएच सेवा उपलब्ध छ ।

छाउनी कार्यालय अन्तर्गत कालिमाटी, ताहाचल, छाउनी, बाफल र गाईबाच्छा पाटी क्षेत्रमा र नैकाप अन्तर्गत सिभिल होम्स तीनथाना, अर्किड कोलोनी, ढुंगेअड्डा तथा ढुंगेअड्डादेखि तीनथाना क्षेत्रमा एफटीटीएच सेवा वितरण भइरहेको छ । सुन्धारा कार्यालयबाट ठहिटी चोक, भेडासिंह, असन, बागदरबार र टेकु तथा हात्तीगौडा अन्तर्गत बसुन्धारा, महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट नजिक, सुकेधारा र धुम्बाराही आसपासका क्षेत्रमा टेलिकमको एफटीटीएच सेवा उपलब्ध छ ।

त्यस्तै बबरमहल कार्यालय अन्तर्गत अल्फा बिटा नजिक, बीआईसीसीको उत्तर, ह्वाइट हाउस नजिक र भेनस हस्पिटलको विपरित क्षेत्रमा यो सेवा पुगेको छ । ठिमी (गोठाटार) अन्तर्गत नमुना चोक, सनराइज चोक, काँडाघारी चोक नजिक र सनसिटी तथा चाबहिलमा कार्यालय नजिकको क्षेत्रमा सेवा उपलब्ध छ ।

ललितपुर

ललितपुर जिल्लामा सैंबु, पाटन र ठैब कार्यालयबाट एफटीटीएच सेवा वितरण भइरहेको छ । टेलिकमका अनुसार सैंबु अन्तर्गत सैंबु कार्यालय, विनायक कोलोनी, जनता आवास र कार्यविनायक तथा पाटन कार्यालय अन्तर्गत बखुन्डोल नजिक, सानेपा चोक, झम्सिखेल, गुसिंगाल, कुपन्डोल र कानदेवता स्थानमा एफटीटीएच सेवा पुगेको छ । त्यसैगरी ठैब कार्यालय अन्तर्गत झरुवारासी, नयाँ वस्ती र दमाईटारमा सेवा उपलब्ध रहेको जनाइएको छ ।

भक्तपुर

भक्तपुर जिल्लामा भक्तपुर र ठिमी कार्यालयले एफटीटीएच सेवा उपलब्ध गराइरहेका छन् । जितपुर र नगरकोट तथा ठिमी अन्तर्गत आँखा अस्पताल क्षेत्र, पुल नजिकै, क्याबिनेट २५ मा र कौशलटार क्षेत्रमा यो सेवा उपलब्ध छ ।

उपत्यका बाहिर

यसका साथै कास्कीको पोखरा, रुपन्देहीको भैरहवा, काभ्रेको बनेपा कार्यालय नजिक, दाङको घोराही, बागलुङको बागलुङ बजार, बाँकेको नेपालगन्जमा टेलिकमको यो सेवा सेवा उपलब्ध रहेको छ ।

त्यसैगरी चितवनको सौराहास्थित हात्तिचोक र बछौली चोक, मकवानपुरको हेटौंडास्थित वस्तीपुर, मोरङको विराटनगर, धनकुटाको त्रिवेणी चोक, धनुषा, झापाको दमक, विर्तामोडस्थित मुक्ति चोकमा यो सेवा उपलब्ध छ ।

टेलिकमका अनुसार यो सेवा कैलालीको धनगढी, कन्चनपुरको महेन्द्रनगर, म्याग्दीको बेनी बजार, नवलपरासीको बर्दघाटस्थित र पाल्पाको बजार क्षेत्रमा पनि यो सेवा उपलब्ध रहेको छ ।

त्यसैगरि सिन्धुपाल्चोकको तातोपानी ड्राइपोर्ट एरिया, सोलुखुम्बुको लुक्लास्थित चौरीखर्क, सुर्खेतको बजार नजिक १९ क्याबिनेट र वीरेन्द्र चोकमा यो सुविधा रहेको टेलिकमले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३