close

ई-सेवा जस्तै ई-ढेवाको सेवा, डिजिटल वालेटकै ब्यालेन्समा ७ प्रतिश ब्याज

रन्जन कोइराला रन्जन कोइराला

मंसिर २८, २०७६ १२:५८

ई-सेवा जस्तै ई-ढेवाको सेवा, डिजिटल वालेटकै ब्यालेन्समा ७ प्रतिश ब्याज

हामी बिजुलीको बिल तिर्न, पानीको बिल तिर्न, स्कुल कलेजको फिस तिर्न, मोबाइल रिचार्जका लागि मोबाइल वालेटको प्रयोग गर्छाै । यसको दायरा दिन प्रतिदिन विस्तार हुने क्रममा छ ।

अहिले मोबाइल वालेट प्रयोगकर्ताको संख्या २५ लाख भन्दा बढी पुगिसकेको छ भने त्यसका लागि बजारमा ई-सेवा, खल्ती, आईएमई पे, प्रभु पे, सेल पे लगायतका मोबाइल वालेट छन् । दर्जनौंको संख्यामा नेपाल राष्ट्र बैंकमा लाइसेन्स लिने प्रक्रियामा छन् ।

यी सबैको एउटै उदेश्य छ, नेपाललाई क्यासलेस समाजको रुपमा विकास गर्नु अर्थात नगद कारोबारलाई डिजिटल कारोबारमा रुपान्तरण गर्नु । त्यसका लागि विभिन्न कम्पनीले आफुलाई प्रतिस्पर्धी भन्दा फरक तुल्याउन विभिन्न सुविधा र योजना ल्याइरहेकै छन् ।

यसैबिच अब मोबाइल वालेटमा रहेको पैसामा पनि ब्याज दिने गरी एउटा अर्को भुक्तानी सेवा प्रदायक बजारमा छाउने तयारीमा छ ।

अहिले बजारमा रहेका सेवा प्रदायले ग्राहकको वालेटमा होल्ड भएको पैसाको ब्याज आम्दानी आफैसँग राखिरहेका छन् । एउटा ग्राहकको वालेटमा एक दिन थोरैमा पाँचसय रुपैयाँ होल्ड भएको खण्डमा पनि लाखौं ग्राहक हुने सेवा प्रदायकको बैंक खातामा करोडौं रकम जम्मा भइरहेको हुन्छ । उक्त रकमबाट सेवा प्रादायकले प्रसस्तै ब्याज आम्दानी गरिरहेका छन् ।

तर, यस्तै वालेटहरुको बिचमा अब फरक सुविधा दिने तयारीका साथ ‘ई–ढेवा’ आएको छ । उसले ग्राहक संख्या नै डेढलाख भन्दा बढी पुर्‍याइसकेको छ । केही समय अघिदेखी सेवा सुरु गरेको भएता पनि बजार विस्तारमा खासै ध्यान नदिएको कम्पनीले अब आफूलाई आक्रामक रुपमा प्रस्तुत गर्ने भएको हो ।

जसअनुसार आउँदो जनवरीबाट यो कम्पनी आफूलाई नयाँ योजनाका साथ अघि ल्याउँदै छ । ई–ढेवाका प्रमुख कार्यकारी निर्देशक एलेन बेलोचन तुलाधारले आफूहरु आउँदो जनवरी पहिलो हप्ताबाट नयाँरुपमा आउने जानकारी दिए ।

‘मोबाइल वालेटबाटै बैंकमा खाता खोल्न मिल्ने, वालेटमै ऋण लिन मिल्ने सुविधा पनि हुनेछ । त्यो भन्दा पनि महत्वपूर्ण कुरा हामी ग्राहकलाई वालेटमा रहेको पैसामा हरेक दिन ब्याज दिन्छौं ।,’ उनले आफ्नो योजनाबारे प्रष्ट्याउँदै भने.’ यदि ग्राहकको वालेटमा आज एक हजार रुपैयाँ छ र उसले साँझसम्म पाँच सय रुपैयाँ खर्च गर्‍यो भने पनि हामी ७ सय ५० रुपैयाँको ७ प्रतिशतसम्म ब्याज दिन्छौं ।’

यसका लागि सिटिजन्स बैंकसँग सहकार्य भैसकेको र अन्य बैंकसँग समेत सहकार्यको लागि तयारी भइरहेको कम्पनीले जनाएको छ ।

यसमा सहकारी संस्था पनि ठुलोमात्रामा आवद्ध भएको तुलाधार बताउँछन् । उनका अनुसार ग्राहकले आफ्नो पैसाको मूल्य पाउनुपर्छ भनेर यो सेवाको थालनी गर्ने तयारी भएको हो । ‘बजारमा अन्य कम्पनीले यसलाई आम्दनीको स्रोत बनाइरहेका बेला हामी ग्राहकलाई नै उनिहरुको पैसाको भ्यालु प्रदान गर्न चाहान्छौं,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३