close

भिजिट नेपालको तयारीले ठमेलको इन्टरनेट ठप्प

टेकपाना टेकपाना

मंसिर २९, २०७६ १९:२५

भिजिट नेपालको तयारीले ठमेलको इन्टरनेट ठप्प

नेपालकै मूख्य पर्यटकीय क्षेत्र ठमेलको इन्टरनेट सेवा पुर्ण रुपमा अवरुद्ध भएको छ । भिजिट नेपाल २०२० को तयारीका क्रममा इन्टरनेट पुर्याउन जोडिएका अप्टिकल फाइबर समेत चुँडिदा आइतबार दिउँसोदेखि नै मूख्य पर्यटकीय क्षेत्रमा इन्टरनेट सेवा बन्द भएको हो ।

ठमेल पर्यटन विकास समितिको लापरबाहीपुर्ण कार्यबाट नेपाल टेलिकम, वल्र्डलिंक, भायनेट लगायतका मूख्य इन्टरनेट सेवा प्रदायकले दिइरहेको सेवा अवरुद्ध हुन पुगेको बताइएको छ । इन्टरनेट सेवा अवरुद्ध हुँदा ठमेल क्षेत्रका डेडिकेटेड इन्टरनेट जडान गरेका कर्पोरेट ग्राहकदेखि होटेल, रेस्टुरेन्ट लगायतका सबै व्यवसाय र स्थानीयका घर सबैतिरको इन्टरनेट सेवा प्रभावित भएको छ ।

एक्कासी इन्टरनेट सेवा अवरुद्ध भएपछि त्यहाँका व्यवसायी र स्थानीयहरु सडकमा आएर विरोध जनाइरहेका छन् । तार हटाउने विषयमा दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरण र सेवा प्रदाय कसैसँग समन्वय समेत नभएको पाइएको छ । यस विषयमा आफूहरुलाई कुनै पनि जानकारी नभएकाे प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष भोजराज भट्टले हचुवा तरिकाले अप्टिकल फाइबरका तारहरु हटाउन खोज्दा मूख्य पर्यटकीय क्षेत्रको महत्वपुर्ण इन्टरनेट सम्पर्क विच्छेद हुन पुगेको बताए । यस किसिमको लापरबाहीपुर्ण तरिकाले अन्यत्र समेत यस्तै किसिमको समस्या दोहोरिन सक्ने चिन्ता व्यक्त गरे ।

अत्यावश्यक इन्टरनेट तथा टेलिफोन सेवामा अवरोध हुने गरी पूर्वाधारमा क्षति पुर्याएमा कारबाही हुने दूरसञ्चार ऐनको व्यवस्था छ । ठमेल पर्यटन विकास समितिले सेवा अवरुद्ध भएपछि मात्र सोमबार ११ बजेका लागि इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३