close

अनलाइन भुक्तानीको सीमा बढ्यो, यस्तो छ नयाँ व्यवस्था

टेकपाना टेकपाना

पुस १८, २०७६ ९:२७

अनलाइन भुक्तानीको सीमा बढ्यो, यस्तो छ नयाँ व्यवस्था

मोबाइल तथा इन्टरनेट बैंकिङ मार्फत गरिने कारोबारको सीमा बढेको छ । राष्ट्र बैंकले क्यूआर कोड समेतको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङमार्फत मर्चेन्टलाई गरिने भुक्तानी तथा अर्को खातामा गरिने रकम ट्रान्सफरको सीमा बढाएको हो ।

नयाँ व्यवस्था अनुसार मोबाइल बैंकिङ बैंकिङ मार्फत दैनिक ५० हजार रुपैयाँसम्म तथा मासिक दुई लाख रुपैयाँसम्मको भुक्तानी गर्न सकिनेछ । यसैगरी इन्टरनेट बैंकिङतर्फको भुक्तानीको सीमा समेत बढेको छ । जसबाट मर्चेन्टलाई दैनिक १० लाख रुपैयाँसम्मको तथा मासिक ३० लाख रुपैयाँसम्मको भुक्तानी गर्न सकिनेछ । यसैगरी एक बैंकको खाताबाट अर्को खातामा दैनिक १० लाख रुपैयाँसम्म तथा मासिक ५० लाख रुपैयाँसम्म रकम पठाउन सकिने राष्ट्र ब‌ैंकले जनाएको छ ।

तर नेपाल सरकारी कार्यालयमा भुक्तानी गर्नुपर्ने कर तथा राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेसन तथा सेवा शूल्कमा भने ताेकिएको सीमा लागु हुनेछैन । यद्यपी त्यसका लागि सम्बन्धित निकायहरुले बिल अनुसारको भुक्तानीका लागि विद्युतीय माध्यमबाट भुक्तानी गर्न नीतिगत निर्णय गरी आवश्यक व्यवस्था भने मिलाउनुपर्नेछ ।

यसैगरी नेपाल दूरसञ्चार प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक कम्पनी, खानेपानी, शिक्षण संस्था, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा, होटल तथा रेष्टुरेन्ट, सामाजिक सुरक्षा भत्ता, बीमा प्रिमियम, धितोपत्र लगायतका सेवामा समेत तोकिएको सीमाभन्दा बढीको भुक्तानी गर्न समस्या पर्नेछैन । तर त्यसका लागि भुक्तानी सेवाप्रदायकले बिलको व्यवस्था भने गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०