close

५ दिनसम्म टिक्ने ब्याट्री विकास गर्दै अस्ट्रेलिया !

टेकपाना टेकपाना

पुस २२, २०७६ १७:५६

५ दिनसम्म टिक्ने ब्याट्री विकास गर्दै अस्ट्रेलिया !

अनुमान गर्नुहोस् त तपाईंले बोकिरहेको मोबाइलमा पाँच दिनसम्म टिक्ने ब्याट्री हुँदा कस्तो होला ? अस्ट्रेलियाको मोनास युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले त्यसलाई सम्भव बनाउन नयाँ लिथियम सल्फर ब्याट्रीको विकासमा लागेको बताएका छन् ।

दाबी त यो पनि गरिएको छ कि यस किसिमको ब्याट्रीले एक पटकको चार्जमा विद्युतीय कारलाई ६ सय माइल अर्थात एक हजार किलोमिटरसम्म गुडाउन सक्छ । मोनास युनिभर्सिटीको रिपोर्टलाई उदृत गर्दै इनग्याजेटले अनुसन्धानकर्ताहरुले उस्तै किसिमका सामग्री प्रयोग गरी अनुसन्धानकर्ताले लिथियम आयन ब्याट्रीको प्रोटोटाइप तयार पारेको उल्लेख गरेको छ ।

उनीहरुले सल्फर क्याथोड्सको डिजाइनलाई परिवर्तन गरी लिथियम सल्फर ब्याट्री तयार पारेका हुन् । जसले सहजै एकदमै उच्च भार खेप्न सक्ने बताइएको छ । यसले चल्तिका लिथियम आयन ब्याट्रीको दाँजोमा वातावरणीय प्रभाव समेत कम गर्नेछ । किन भने यो नयाँ ब्याट्री पानीमा आधारित छ, जसले तयार पार्न लाग्ने खर्च समेत कम गर्न सक्नेछ ।

अनुसन्धानकर्ताहरुको खोज तथा उपलब्धि यसै साता साइन्स एड्भान्सस जर्नलमा प्रकाशन भएको ‍छ । उनीहरुले जर्मनीको अनुसन्धान तथा विकास केन्द्रमा तयार पारेको ब्याट्री उत्पादनको प्रक्रिया र प्रोटोटाइपको यस अघि नै प्याटेन्ट समेत दर्ता गराइसकेका छन् ।

यसै वर्ष अस्ट्रेलियामा ब्याट्रीको विकास हुने जनाइएको छ । जहाँ कार तथा सोलार ग्रिडमा लिथियम सल्फर ब्याट्रीको परीक्षण समेत गरिनेछ । लामो समयसम्म टिकाउ हुने किसिमको ब्याट्री सार्वजनिक रुपमा उपलब्ध हुन केही वर्ष लाग्ने भए पनि यसले इलेक्ट्रोनिक प्रविधिको आधारभूत पक्षलाई नै परिवर्तन गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०