close

दूरसञ्चार सेवा प्रदायककाे भ्वाइसतर्फको आम्दानी ५ वर्षमा आधाले घट्ने

टेकपाना टेकपाना

पुस २३, २०७६ १८:४

दूरसञ्चार सेवा प्रदायककाे भ्वाइसतर्फको आम्दानी ५ वर्षमा आधाले घट्ने

दूरसञ्चार सेवाप्रदायकहरुको भ्वाइस सेवाबाट हुने आम्दानी सन् २०२४ सम्ममा ४५ प्रतिशतले घट्ने देखिएको छ । जुनिपर रिसर्च सेन्टरको नयाँ अध्ययनले ओभर द टप (ओटीटी) सेवाले भ्वाइस सेवालाई विस्थापन गरिरहेकाले सेवा प्रदायकको आय ठुलो मात्रामा घट्ने प्रक्षेपण गरेको हो ।

२०१९ मा विश्वव्यापी रुपमा दूरसञ्चार क्षेत्रमा भ्वाइस सेवाबाट हुने आयको आकार ३ खर्ब ८१ अर्ब अमेरिकी डलरको रहेको छ । तर पछिल्लो अध्ययनले यो आकार आगामी पाँच वर्षमा दुई खर्ब ८ अर्बमा झर्ने देखाएको छ । उक्त अध्ययनले भ्वाइस तर्फको आयको आकार खुम्चिनुको पछाडी ओटीटी सेवा जिम्मेवार रहेको बताएको छ ।

२०२४ सम्म मोबाइल भ्वाइस ओभर आईपी (एमभीओआईपी) मा आधारित ओटीटी सेवा ८८ प्रतिशतले विस्तार हुने उल्लेख गरेको छ । त्यस अवधिसम्म ओटीटीका ग्राहक ४ अर्ब ५० करोड पुग्ने अनुमान छ । ‘थर्डपार्टी एपहरुले सेवा प्रदायकको नेटवर्क निःशूल्क रुपमा प्रयोग गरिरहेका छन्’, अध्ययन प्रतिवेदनमा उल्लेख छ, ‘यसर्थमा सेवाप्रदायकहरु त्यही सेवालाई सहजीकरण गरिरहेका छन् । जसका कारण उनीहरुकै आम्दानी गुमिरहेको छ ।’

अध्ययनले सबै निराशाजनक प्रक्षेपण मात्र गरेको छैन । फाइभजीको रोलआउटसँगै मोबाइल भ्वाइस तथा भिडियो सेवामा व्यापक सुधार हुने उल्लेख छ । भिडियो ओभर एलटीईले अपरेटरको आयलाई २०२४ सम्ममा ३३ अर्ब डलरले बढाउने अनुमान गरिएको छ ।

उक्त अध्ययनले सेवाप्रदायकलाई आफ्नो भ्वाइस ओभर फाइभजी (भीओफाइभजी) तथा एआईमा आधारित सञ्चार पूर्वाधारलाई तिब्र गतिमा विस्तार गर्न सुझाव दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०