close

एकै वर्षमा सरकारलाई टेलिकमको ३३ अर्ब ३१ करोड राजस्व, प्रतिशेयर ४५ रुपैयाँ लाभांश बाँड्दै

टेकपाना टेकपाना

पुस २९, २०७६ १८:२२

एकै वर्षमा सरकारलाई टेलिकमको ३३ अर्ब ३१ करोड राजस्व, प्रतिशेयर ४५ रुपैयाँ लाभांश बाँड्दै

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७५/७६ मा कर तथा गैरकर वापत सरकारलाई ३३ अर्ब ३१ करोड रुपैयाँ दाखिला गरेको छ । मंगलबार सम्पन्न कम्पनीको बाह्रौँ वार्षिक साधारण सभामा सञ्चालक समिति अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले टेलिकमले सरकारलाई बुझाएको राजश्वको योगदानको विषयमा जानकारी गराएका हुन् ।

गत वर्ष ४३ अर्ब ८४ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले ९ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफा रकमबाट प्रति शेयर ४५ रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

अध्यक्षको हैसियतमा सचिव सुवेदीले कम्पनीको बाह्रौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए । शेयरधनीहरूको लगानीको प्रतिफल सुनिश्चित हुनेगरी कम्पनीको दीर्घकालीन विकास तथा समृद्धिको लागि सञ्चालक समिति क्रियाशील रहेको अध्यक्ष सुवेदीको भनाई थियो ।

कम्पनीलाई सबल, अग्रणी संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले कम्पनीका मूख्य उपलब्धिको बारेमा चर्चा गरेका थिए । ‘मुलुकको विकट तथा ग्रामीण क्षेत्रहरूमा समेत सञ्चार सेवा उपलब्ध गराएर मुलुकमा व्याप्त डिजिटल डिभाइड न्यूनीकरण गर्ने र डिजिटल समावेशिताको अवधारणालाई साकार पार्ने सिलसिलामा कम्पनीको योगदान महत्वपूर्ण रहेको छ,’ उनले भने, ‘देशव्यापी रुपमा आवश्यक पूर्वाधार विकासमा समेत कम्पनीले विशेष ध्यान दिएको छ ।

कम्पनीलाई बजारमा मजबुत पार्न तथा व्यवसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गुणात्मक सुधारमा प्रतिबद्ध रहेको अध्यक्ष सुवेदीले बताए । कम्पनीले वायरलेस प्रविधिको फोरजी एलटीई मोबाइल सेवाको विस्तार, एउटै लाइनबाट गुणस्तरीय टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजनसमेत चलाउन सकिने एफटीटीएच प्रविधिको विस्तार, डाटाको मागलाई बढाउने भ्यालु एडेड सेवाहरूको विस्तारलाई तीब्र पारिने जनाएको छ ।

यसका साथै अन्तर्राष्ट्रिय रोमिङ सेवाको विस्तार र सेवाहरूको गुणस्तर सुधार लगायतका कार्यहरूमा कम्पनी लागि परेकाले चालू आर्थिक वर्षदेखि कम्पनीको राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ । बाह्रौँ साधारण सभाले लाभांश रकम २०७६ माघ १ गतेदेखि एनएमबी बैंकमार्फत शेयरधनीहरुलाई वितरण गर्ने ब्यवस्था मिलाएको कम्पनीकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

करिब ९२ प्रतिशत शेयरधनीहरुको सहभागिता रहेको साधारण सभाले गत आर्थिक वर्षको लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन समेत सर्वसम्मतले पारित गरेको छ । यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिस अनुसार चालु आर्थिक वर्षका लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट प्रकाशजंग थापा र अच्युतराज जोशीलाई लेखापरीक्षक नियुक्त गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०