close

एक वर्षमै ६ दर्जन टावरमा आगजनी, अत्यावश्यक सेवा नै असुरक्षित

रन्जन कोइराला रन्जन कोइराला

माघ १, २०७६ १४:२५

एक वर्षमै ६ दर्जन टावरमा आगजनी, अत्यावश्यक सेवा नै असुरक्षित

दूरसञ्चार सेवा प्रदायक एनसेलका लागि यो हप्ता सुखद रहेन । आफ्ना टावरहरुमा निरन्तरको क्षति र आगजनीका कारण कम्पनीको पूर्वाधार मात्र हैन सेवा प्रवाहमा समेत ठूलो समस्या सिर्जना भयो ।

हरेक दिनजसो एनसेलका टावरमाथिको आगजनी यो हप्ता समाचारका विषय बने । सोमबारमात्रै इलामको देउमाइस्थित एनसेलको टावरमा अज्ञात समुहले बम विस्फोट गरायो । त्यसअघि राजधानी नजिकैको दक्षिणकाली नगरपालिका–८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावर जलाईयो ।

पछिल्ला १५ दिनमा मात्रै तनहुँ, बारा, गोर्खा, सुर्खेत, नुवाकोट, ललितपुर, इलाम र काठमाडौं लगायतका जिल्लामा रहेका टावरहरुमा आगजनी गरिएको छ । गत वर्ष पनि एनसेलको टावरमा बारम्बारआक्रमणको प्रयास भएको थियो । कम्पनीका अनुसार सन् २०१९ मा मात्रै ५० भन्दा बढी टावरमा क्षति पुगेको छ ।

विगत एक वर्षको अवधिमामात्रै ६ दर्जनभन्दा बढी टावरमा आगजनी र क्षति भयो । त्यतिमात्र होइन यी टावरमा भएको क्षतिले २५० भन्दा बढी टावरले प्रदान गर्ने दूरसञ्चार सेवा प्रभावित हुन पुग्यो ।

कम्पनीका अनुसार प्रभावित कतिपय स्थानमा सेवा सञ्चालनमा ल्याइएको छ भने, कतिपय स्थानमा सेवा सुरु हुन अझै बाँकी नै । एकपटक आगजनी अथवा बम विस्फोटको समस्या भएपछि सोही क्षेत्रमा टावर राख्न खोज्दा स्थानीय त्रसित हुने र फेरि त्यहाँ राख्न नदिने समस्या पनि देखिएको छ । 

छैन सुरक्षाको प्रत्याभुति

दूरसञ्चार सेवा अब आम नेपालीका लागि अत्यावश्यक सेवाको रुपमा स्थापित भइसकेको छ । देशको हरेक भुगोलमा सेवा प्रदायकको उपस्थितिले सञ्चार सम्पर्क सहजमात्र बनाएको छैन, यसबाट अनेक काम सम्भव पनि बनाएको छ । तर सञ्चार सम्पर्क सम्भव बनाउने त्यहि टेलिकम टावरमै श्रृङ्खलाबद्ध आक्रमण हुँदा पनि सरकारले चुस्त सुरक्षा प्रबन्ध भने गर्न सकेको छैन ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै टावरमा क्षति नपुर्‍याउन औपचारिक आग्रह गरेको छ । यसबाहेक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जानकारी समेत गराइसकेको नियामकले जनाएको छ । मन्त्रालयले पनि गृह मन्त्रालयलाई पत्र लेख्दै लगानी सूरक्षा प्रबन्ध मिलाउन जानकारी गराएको छ । तर, कारबाही हुन भने सकेको छैन । 

कानुनमा टावरमाथीको आगजनीलाई सार्वजनिक अपराधको रुपमा उल्लेख गरिएपनि बारम्बार आक्रमण किन हुन्छ त ? ‘चन्दा माग्ने दाउ त होला नी’, नेपाल दुरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष तथा विज्ञ भेषराज कंडेल भन्छन्, ‘नेपालको निजी क्षेत्रले भोगेको सबैभन्दा ठूलो समस्या चन्दाकै हो । चन्दा दिनु पर्ने, जागिर लगाइ दिनु पर्ने, टावर बनाउँदा गाउँमा बाटो बनाइदिनु पर्ने खालको माग हुन्छ । त्यो भएन भने टावर पड्काउने । क्षति पुर्‍याउने लगायतका काम भइरहेको छ ।’ 

एनसेलको टावरमा आगजनीको पछाडि जुन विषय उठाइएको छ, त्यो अर्थहिन भएको उनको बुझाई छ । करको विषयलाई जोडेर आक्रमण गरेर आम जनतामा प्रभाव छाड्न सकिने प्रतिबन्धित दलको खराब रणनीतिले दूरसञ्चार सेवा प्रदायकले समस्या व्यहोर्नु परेको उनले बताए । 

विदेशी लगानीको सवाल

एनसेल कारोबारको हिसाबले सम्भवतः देशकै ठूलो कम्पनी हो । वार्षिक औषत ५५ अर्ब रुपैयाँको आम्दानी गर्ने एनसेलमा बहुमत लगानी विदेशीको छ । चार वर्षअघि एनसेलमा रहेको विदेशी लगानी किनबेच वापत नेपालले पाउनुपर्ने लाभकरको विषय यो अवधिमा निकै चर्चाको विषय बन्यो । 

सर्वोच्च अदालतले नै लाभकरको विषय टुङ्ग्याउँदै एक महिना अघि ठूला करदाता कार्यालयलाई एनसेलबाट करिब २२ अर्ब रुपैयाँ उठाउन निर्देशन पनि दिइसकेको छ । सोही निर्देशन अनुसार एनसेलले पहिलो किस्ता स्वरुप ४ अर्ब ५० करोड रुपैयाँ दाखिला गरिसकेको छ ।

बाँकीका लागि किस्ताको सुविधा माग गरेको छ । जुन अन्य कम्पनीले पनि पाउँदै आएको सुविधा सरह भएको ठूला करदाता कार्यलयका प्रमुख झलक राम अधिकारी बताउँछन् । 

गत आर्थिक वर्षमा मात्र एनसेलले सरकारी ढुकुटीमा विभिन्न शीर्षक अन्तर्गत  ३४ अर्बभन्दा बढी कर दाखिला गरेको छ । एनसेल सञ्चालनमा आएयता करिब दुई खर्ब १० अर्ब कर तिरेको छ । कर अथवा जुनसुकै बहानामा जनतासँग प्रत्यक्ष जोडिएका सेवा पूर्वाधारमाथीको आक्रमणले विदेशी लगानीलाई प्रोत्साहित भने गर्दैन ।

त्यतिमात्र होइन यसरी भएको आक्रमणको प्रभाव अन्ततः सामान्य उपभोक्ताले नै व्यहोर्नुपर्ने हुन्छ । एकातर्फ तत्काल सेवाबाट वञ्चित हुनु त छँदैछ, अर्कोतर्फ कम्पनीको लागत बढ्दा त्यसको अप्रत्यक्ष भार उपभोक्तामै पर्ने गर्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०