close

स्वास्थ्य सेवाको इको-सिस्टम फेर्ने यस्तो छ जीवीको योजना

युजु खालिङ युजु खालिङ

माघ १, २०७६ १५:५७

स्वास्थ्य सेवाको इको-सिस्टम फेर्ने यस्तो छ जीवीको योजना

काठमाडौं । एक हजार जनसंख्या बराबर एक चिकित्सक हुनुपर्ने विश्व स्वास्थ संगठनको मापदण्ड छ । तर, नेपालमा भने दश हजार जनसंख्या एक चिकित्सकमा भर पर्नुपर्ने बाध्यता छ ।

यस्तो अवस्थामा स्वास्थ्य सेवामा आम जनताको पहुँच आफैमा चुनौतिको विषय हो । जीवी नामक कम्पनीले नयाँ प्रविधिको प्रयोग मार्फत डाक्टरको कामलाई तीब्रता दिन खोजिरहेको छ । चिकित्सकको अपोइन्टमेन्ट अनलाइनबाटै लिन सकिने गरी यो स्टार्टअपले  गत १ जनवरीबाट अपोइन्टमेन्ट सुविधा सुरु गरिसकेको छ ।

अपोइन्टमेन्टलाई भरपर्दो र अन्तरक्रियात्मक बनाउन तथा सेवाग्राहीहरुको मेडिकल हिस्ट्रीको डेटाबेस बनाएर सेवालाई छिटो, छरितो र पेपरलेस बनाउने गरी कम्पनीले काम गरिरहेकाे छ । साथै ती डेटामाथि एआईको प्रयोग गरेर नेपालकै समग्र स्वास्थ्य सेवाको क्षेत्रमा परिवर्तन ल्याउने उद्देश्य समेत उसले राखेको छ । 

यसका लागि हाल जीवी ठूला तथा साना अस्पताल र क्लिनिकहरुका लागि आवश्यक सफ्टवेयर तथा सिस्टम बनाईरहेको जीवीका व्यवस्थापक निर्देशक आभुषण ज्योति कंसाकार बताउँछन् । सफ्टवेयर विकासलाई आफ्नो मूख्य आयआर्जनको माध्यम बनाइरहेको कम्पनीले चिकित्सक तथा क्लिनिकको कार्यगति र व्यापारमा सहयोग हुने हुँदा त्यसलाई समेत आम्दानीको क्षेत्र बनाउन सकिने उनको भनाई छ ।

‘सेवा सुरुवातको पहिलोवर्षमा हामीले सर्वसाधारण सेवाग्राहीलाई केन्द्रीत गरेका छौं भने दोस्रो वर्ष चिकित्सक, क्लिनिक तथा अस्पताल लगायतका निकायलाई लक्षित गर्छौँ,’ कंसाकार भन्छन्, ‘अपोइन्टमेन्ट सिस्टमलाई व्यवस्थापन गर्न र हेल्थकेयरको क्षेत्रमा डेटा संकलन तथा व्यवस्थापन गर्न अस्पतालका लागि आवश्यक सफ्टवेयर सिस्टम हामीले बनाई दिन्छौं ।

त्यस्तो सिस्टमले सेवाग्राही, सेवाप्रदायक र जीवी जस्ता सिस्टम अपरेटर सबैलाई जोड्छ । यो पनि अहिले सानै स्तरमा भए पनि सुरु भइसकेको छ । अबको दुई महिनामा ल्याब सिस्टम तयार गरिसक्छौं । त्यससँगै अस्पतालहरुका लागि आवश्यक ठूलो सिस्टम पनि कार्यान्वयनमा आउँछ ।’

यस्ता विभिन्न प्रणालीको माध्यमबाट संकलित डेटालाई प्रयोग गरेर एआई प्रविधिको सुरुवात गर्न सकिने कम्पनीको योजना छ । त्यस्तो अवस्थमा स्वास्थ्य क्षेत्र चिकित्सको एकल क्षमतामा मात्र निर्भर नभएर प्रिडिक्टेवल अर्थात अन्दाज गर्न सकिने किसिमको बनाउन सकिनेछ ।  गोपनीताको प्रश्नमा जीवीले सम्पूर्ण डेटा तथा पहिचान इन्क्रिप्टेड हुने र डिक्रिप्ट गर्नका लागि सम्बन्धित सेवाग्राहीको अनुमति आवश्यक हुने कंसाकार बताउँछन् । 

‘तपाई चिकित्सकहाँ जाँदा जति पनि मेडिकल हिस्ट्रीका फाइलहरु साथमा लिएर जानुहुन्छ त्यो कुराहरु सबै हाम्रो सिस्टममा कम्पाइल हुन्छ र अबको ५, ६ वर्षमा सबै कुरा हाम्रो सिस्टममै आउँछ । फाइल बोकेर हिड्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । हाम्रा सम्पूर्ण सेवाग्राहीहरुको डेटा कम्पाइल भएपछि त्यो डेटामा एआईको प्रयोग गरी चिकित्सा सेवा प्रणालीमा सहजता ल्याउने हाम्रो सोच हो ।’

सरकारले मासिक स्वास्थ रिपोर्टको प्रयोजनका लागि बनाएको डिस्ट्रिक्ट हेल्थ इन्फरमेशन सफ्टवेयर (डीएचआईएस) मा जीवीले योगदान दिने कंसाकार बताउँछन् । प्राइभेट तथा सरकारी अस्पतालहरुले महिनामा एकपटक डीएचआईएस प्रणालीमा रिपोर्ट बुझाउनुपर्छ । तर जीवीमा १५ दिनमै त्यो काम हुने कंसाकार बताउँछन् ।

अस्पतालहरुले जीवीको सफ्टवेयर सिस्टम राखिसकेपछि हरेक स्वास्थ्य समस्याहरु त्यसैमा दर्ता हुनेछन् र रियल टाइममा डीएचआईएसमा त्यसको नोटिफिकेसन पुग्ने बताइएको छ । यो सफ्टवेयर सिस्टममा ईएमआर तथा ईएचआर दुबैलाई एकत्रित गरिएको छ ।

यसमा ल्याब रिपोट र अस्पतालको व्यवस्थापन प्रणाली एचएमएसका सबै डेटा संकलन भएर ईएमआरमा बस्ने र त्यो सरकरको डीएचआईएस सिस्टममा रियलटाइममा पुग्ने कंसाकारको भनाई छ । हेल्थ केयर सिस्टमको डेटा रेकर्डका लागि सबै संयन्त्रमा भएको फरक फरक मापदण्डको सफ्टवेयरको समस्यामा पनि यसले एकरुपता ल्याउने उनको दाबी छ ।

यसका लागि ग्लोबल स्ट्याण्डर्ड हिपामा आधारित सिस्टम तयार गर्ने कम्पनीले जनाएको छ । सरकारले चाहेको खण्डमा सरकारी अस्पतालमा पनि यो सेवा दिनसक्ने भन्दै कंसाकारले अहिले जीवीसँग १२ ओटा मेडिकल सहित दुई सयको हाराहारीमा नेपाल मेडिकल काउन्सिलबाट सम्बन्धन प्राप्त चिकित्सकहरु रहेको जानकारी दिए ।  

ग्रामीण क्षेत्रमा सेवाप्रदान गर्ने उद्देश्य लिएको जीवीले हाल काठमाडौंबाट सेवा थालेको छ । कम्पनीले २०२० भित्र देशका ५ देखि ६ ओटा ठूला शहरहरुमा पुग्ने योजना बनाएको छ । तत्काल उसले  बुटवल र पोखरामा जाने तयारी गरिरहेको छ । 

अपोइन्टमेन्टका अलावा जीवीले चिकित्सकले प्रेस्क्राइब गरेका विभिन्न औषधीजन्य सामाग्री, हेल्थ केयर सामाग्री तथा बेबी प्रोडक्टहरुको पनि अनलाइन सपिङ तथा फ्री डेलिभरी सेवा उपलब्ध गराउँदै आएको छ । यसमा कम्पनीले ५ देखि २५ प्रतिशतसम्मको छूटको व्यवस्था समेत गरेको छ ।

जीवीले काठमाडौं र ललितपुरभित्र सोही दिन डेलिभरी दिने र भक्तपुरमा भने अर्डर गरेको भोलीपल्ट डेलिभरी दिने जनाएको छ । जीवीको एप हालसम्म ९.३३ हजार पटक डाउनलोड भइसकेको छ । जीवी जस्तो अपोइन्टमेन्ट लिने एपहरु अन्तराष्ट्रिय स्तरमा प्रयोगमा रहेको भए पनि हेल्थ केयर सम्बन्धि सम्पुर्ण सरोकारवालाहरुलाई जोड्ने इकोसिस्टम विश्वममै अन्यत्र नभएको कंसाकारको दाबी छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०