close

देशभर सेवा विस्तार गर्ने यस्तो छ दराजको योजना

टेकपाना टेकपाना

माघ १, २०७६ १८:४६

देशभर सेवा विस्तार गर्ने यस्तो छ दराजको योजना

नेपालकै सबैभन्दा ठूलो अनलाइन सपिङ साइट दराजले अबको वर्ष देशभर सेवा विस्तार गर्ने जनाएको छ । सन् २०१९ को समीक्षा गर्दै कम्पनीले देशभरका बिक्रेतालाई समेट्दै डेलिभरी लोकेशनहरु थप गर्ने योजना बनाएको हो ।

कम्पनीले २०२० मा अझ धेरै प्रयोगकर्ता र विक्रेताहरू संलग्न गराउने उद्देश्य राखेको छ । यसका लागि कम्पनीले लजिस्टिक इकोसिस्टमलाई सुधार्ने तथा देशभर नेटवर्क विस्तार गरी विक्रेताहरुलाई दराजमा व्यापारको मौका दिने जनाएको छ ।

दराजका प्रबन्ध निर्देशक लिनो अलरिन्गले ग्राहकहरूलाई उत्तम सेवा र अनुभव प्रदान गर्नु कम्पनीको उद्देश्य रहेको बताए । त्यसो त दराजमाथि अनेक किसिमका आलोचना र ट्रोलहरु समेत बन्ने गरेका छन् । त्यसलाई लिएर दराले ११.११ मेला आफूहरुका लागि परीक्षण भएको भन्दै सेवामा पुर्णता ल्याउन अझै बाँकी रहेको जनाएको छ ।

नेपालका तीन हजारभन्दा बढी बिक्रेता रहेको दराजले हरेक महिना एक लाख ६० हजारभन्दा बढी प्याकेजहरु नेपालभर वितरण कार्य भइरहेको उल्लेख गरेको छ । आफ्नो पूर्वाधार र स्रोतहरूमा लगानी गर्दै दराजले एक्स्प्रेस (डेक्स) नामक आफ्नो लजिस्टिक्स इकाई पनि स्थापना गरेको छ । पछिल्लो समय कम्पनीमा तीन सयभन्दा बढी कर्मचारीहरू थपिएका छन् ।

सन् २०१८ मा दराज अधिग्रहण गर्दै अलिबाबा नेपाल प्रवेश गरेको थियो । हाल अलिबाबाले पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा दराजकै ब्राण्डमा अनलाइन सपिङ गरिरहको छ ।
सन् २०१८ मा एपको रिडिजाइन गरेको दराजले गत वर्ष थप सुधार तथा विकास गर्दै ग्राहकको संख्यामा उल्लेख्य बृद्धि भएको जनाएको छ । २०१९ को नोभेम्बरमा आयोजना भएको इलाभेन इलाभेनमा साढे तीन लाख प्रयोगकर्ताले अनलाइन सपिङ गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०