close

हेल्लो र स्मार्टलाई तोकियो बक्यौताको किस्ताः ५ वर्षसम्म ३४ देखि ८३ करोडसम्म बुझाउनुपर्ने

रन्जन कोइराला रन्जन कोइराला

माघ २, २०७६ १३:२

हेल्लो र स्मार्टलाई तोकियो बक्यौताको किस्ताः ५ वर्षसम्म ३४ देखि ८३ करोडसम्म बुझाउनुपर्ने

दूरसञ्चार सेवा प्रदायक कम्पनीहरु हेल्लो नेपाल र स्मार्ट टेलिकम तथा इन्टरनेट सेवाप्रदाय वेबसर्फरले सरकारलाई बुझाउन बाँकी बक्यौताको किस्ता निर्धारण भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अहिलेसम्मको बक्यौता प्रतिवर्ष बुझाउने गरी तीनै कम्पनीका लागि पाँच किस्ता तय गरेको हो । 

प्राधिकणले गरेको निर्णय अनुसार सबैभन्दा धेरे बक्यौता बाँकी रहेको स्मार्ट टेलिकमले पाँच किस्तामा क्रमशः ५९ करोड ८८ लाख ६९ हजार रुपैयाँ, ८३ करोड २४ लाख रुपैयाँ, ७७ करोड ४० लाख रुपैयाँ, ७१ करोड ५६ लाख रुपैयाँ र ६५ करोड ७२ लाख रुपैयाँ बुझाउनुपर्नेछ । यसरी उसले कुल ३ अर्ब ५७ करोड ८१ लाख रुपैयाँभन्दा बढी सरकारी बक्यौता चुक्ता गर्नुपर्नेछ ।

यसैगरी १ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ बक्यौता रहेको हेल्लो नेपालका लागि समेत रकम बुझाउन पाँच किस्ता तोकिएको छ । जसअनुसार उसले किस्ता रकम क्रमशः २१ करोड ५१ लाख रुपैयाँ, ३३ करोड ९८ लाख रुपैयाँ, ३० करोड ८७ लाख रुपैयाँ, २७ करोड ७५ लाख रुपैयाँ र २४ करोड ६३ लाख रुपैयाँ सरकारलाई बुझाउनुपर्नेछ ।

त्यस्तै इन्टरनेट सेवा प्रदायक कम्पनी वेबसर्फरले सरकारलाई हालसम्म सरकारलाई बुझाउन बाकी बक्यौता ५ करोड ३० लाख ३४ हजार रुपैयाँ रहेको छ । उसले पाँच किस्तामा क्रमशः ८४ लाख रुपैयाँ, १ करोड २८ लाख रुपैयाँ, १ करोड १७ लाख रुपैयाँ, १ करोड ६ लाख रुपैयाँ र ९५ लाख रुपैयाँ सरकारी बक्यौता चुक्ता गर्नुपर्नेछ ।

हरेक आर्थिक वर्षका लागि निर्धारित किस्ता रकम असार मसान्तभीत्र बुझाइसक्नुपर्ने प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ देखिको वित्तीय विवरण अनुसार बुझाउनुपर्ने रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष वापतको रकम किस्तामा गणना नगरिएकाले छुट्टै रुपमा बुझाउनुपर्ने छ ।

यस अघि बक्यौता तिर्न नसकेपछि प्राधिकरणले तीनै कम्पनीको लाइसेन्स खारेज गरेको थियो । केही दिन अघिको मन्त्रिपरिषदले प्राधिकरणको उक्त निर्णय उल्ट्याउँदै किस्ताको सहुलियत दिए थियो । सोही निर्णयका आधारमा प्राधिकरणले किस्ता रकम निर्धारण गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०