close

पोस्टपेड मोबाइलमा ‘९८५१०’ नै चाहिने किन ?

रन्जन कोइराला रन्जन कोइराला

माघ ४, २०७६ ८:४५

पोस्टपेड मोबाइलमा ‘९८५१०’ नै चाहिने किन ?

काठमाडौं । टेलिकम कम्पनीहरुले नेपालमा विशेष गरी दुई किसिमका बिलिङ प्रणाली अपनाएका छन्, प्रीपेड र पोस्टपेड ।

प्रिपेड बिलिङ प्रक्रिया अन्तर्गत तपाईंले कल, एसएमएस तथा डेटा प्रयोग गर्नुभएको समयमा नै बिल तयार हुन्छ र त्यस वापतको रकम तपाईँको ब्यालेन्सबाट कट्टा गरिन्छ । तर पोस्टपेड बिलिङ प्रक्रियामा भने तपाईँले प्रयोग गरेका कल, एसएमएस तथा डेटाको शूल्क बिल तयार नगरी लेखांकन गरिन्छ र महिनाको अन्त्यमा (सामान्यतया प्रत्येक अंग्रेजी महिनाको १५ तारिखमा) मा मात्र बिल तयार गरिन्छ ।

प्रिपेडमा जस्तै पोस्टपेडमा पनि रिचार्ज कार्डमार्फत नै रिचार्ज गर्न सकिने भए पनि कल गर्न सस्तो र थप सुविधा हुने भएकाले पछिल्लो समय पोस्टपेड सिम प्रयोगकर्ता बढिरहेका छन् । एनसेलमा केही समय अघिसम्म ‘९८०१’ बाट पोस्टपेड नम्बर सुरु हुन्थ्यो । तर, हाल उसले प्रीपेड र पोस्ट पेडलाई एउटै बनाएको छ । प्रयोगकर्ताले प्रयोग गर्ने प्याकको आधारमा मात्रै पीप्रेड र पोस्टपेड छुट्याउने गरेकाले नम्बरमा कुनै फरक नपर्ने व्यवस्था एनसेलले गरेको छ ।

अर्कोतर्फ नेपाल टेलिकमको पोस्ट पेड नम्बर ‘९८५’ बाट सुरु हुन्छ । टेलिकमले साविकका अञ्चल अनुसार पोस्टपेड सिमलाई फरक बनाउन ‘९८५’ सँगै एउटा फरक नम्बर दिँदै आएको छ । उदाहरणका लागि टेलिकमको पोस्टपेड सिमको नम्बर काठमाडौंमा ‘९८५१’ बाट सुरुहुन्छ भने सुर्खेतमा ‘९८५८’ बाट । टेलिकमले अञ्चलअनुसार सुरुवाती नम्बर फरक पारेर पोस्टपेड सिम उपलब्ध गराउँदै आएको भएतापनि अधिकांस प्रयोगकर्ताको रोजाईमा भने ‘९८५१०’ नै पर्छ ।

‘पोस्टपेड सिम लिनुपर्दा ‘९८५१०’ बाट सुरु भएको मात्रै बौक्ने हो’, टेलिकमका प्रिपेड सिम प्रयोगकर्ता केशव श्रेष्ठ भन्छन्, ‘म अहिले टेलिकमको प्रिपेड सिम प्रयोग गरिरहेको छु । पोस्टपेड प्रयोग गुर्न पर्‍यो भनेर सोच बनाएको धेरै भयो तर ९८५१० बाट सुरु हुने पोस्टपेड सिम पाएको छैन । बरु म त्यस्तो नम्बरका लागि थप रकम तिर्न पनि तयार छु ।’

वास्तवमा पोस्टपेडको मोबाइल नम्बर जतिबाट सुरु भएता पनि सेवा भने उही हो । किन अरु नबोक्ने त ? उनि हाँस्दै भन्छन्, ‘पोस्टपेड भनेको त ९८५१० बाट सुरु हुने मात्रै हो जस्तो लाग्छ ।’

हुन पनि हो, नेपालमै पहिलो पटक पोस्टपेड मोबाइलको सुरुवात नै यही नम्बरबाट भएको थियो । नेपाल टेलिकमले सुरुमा पोस्टपेड सेवा सुरु गर्दा ९८५१० लाई प्रयोगमा ल्यायो । ‘त्यतिबेला यो सिम ठुलाबडाले बोक्ने सिमको रुपमा लिइन्थ्यो’, टेलिकमका सह–प्रवक्ता कृष्णप्रसाद भण्डारी भन्छन्, ‘सुरुमा पोस्टपेड सिम प्रयोगका लागि ५२ हजार रुपैयाँसम्म तिर्नुपर्ने हुन्थ्यो । त्यसमा २५ हजारको ह्याण्डसेट, २५ हजार डिपोजिट र दुई हजार सिमकार्डको हुन्थ्यो । यति धेरै मूल्य तिरेर सेवा लिने धेरैजसो ठूला व्यवसायी हुन्थे ।’

त्यसैले ९८५१० नम्बरबाट सुरु हुने सिमकार्डप्रती प्रयोगकर्तामा विशेष खालको छाप परेको हो । यो ठूलाबडाले बोक्ने सिम हो र आफू पनी त्यही स्तर वा भनौँ हैसियतको हुँ भन्ने देखाउन पनि प्रयोगकर्ताको पहिलो रोजाइमा ९८५१० बाट सुरु हुने सिमकार्ड नै पर्छ । ९८५१२ लिएको छ भने यसले भर्खरै पोस्टपेड चलाएको रहेछ भन्ने सन्देश जाने मानसिकताका कारण यस्तो भएको हुन सक्ने सहप्रवक्ता भण्डारीको विश्लेषण छ ।

‘एउटा त स्ट्याटसको लागि पनि हो’, टेलिकमकी प्रवक्ता प्रतिभा वैद्य भन्छिन्, ‘मान्छे अरुले छाडेको ९८५१० को सिम खोजी खोजी लिन आउँछन् । प्रिमियम सिमको रुपमा प्रयोगकर्ताले यसलाई हेरेका छन् । तर, यो पनि अन्य पोस्टपेड जस्तै हो । सेवाको हिसावले पोस्टपेडका अन्य नम्बर र यसमा कुनै फरक छैन ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१