close

गोलाकार स्मार्टफोन चलाउने चाहना छ ?

टेकपाना टेकपाना

माघ ३, २०७६ १२:३२

गोलाकार स्मार्टफोन चलाउने चाहना छ ?

एजेन्सी । तपाईले चारपाटे आकारको स्मार्टफोन त देख्दै आउनु भएको छ, तर गोलो आकारको स्मार्टफोनको बारेमा कहिल्यै सुन्नु भएको छ ? सीईएस २०२० मा प्रदर्शनमा राखिएको एउटा गोलाकार डिजाइनको स्मार्टफोन अहिले धेरैको चर्चाको विषय बनेको छ । 

अमेरिकामा आधारित कम्पनीले निर्माण गरेको यो सर्कुलर आकारको स्मार्टफोन अहिले निर्माणकै अवस्थामा छ । तर कम्पनीले यसलाई २०२१ को पहिलो चौमासिकसम्ममा सार्वजनिक गर्ने र यसको मूल्य ७ सय अमेरिकी डलर हुने बताएको छ । 

यसै किसिमको डिजाइन भएको टूजी मोडेलको फोन यस अघि २०१६ मा आएको थियो । त्यसपश्चात सार्कलले त्यस मोडलमा फोरजी एलटीई फिचरलाई थप गरेर यसको हार्डवेयरमा पनि सुधार गरेको छ । ३.४५ इन्चको टचस्क्रिन डिस्प्ले रहेको यो फोन, एन्ड्रोएइड नाइन अपरेटिङ सिस्टममा आधारित हुनेछ ।  

यस फोनको अगाडि र पछाडि भागमा समान १३ मेगापिक्सेलको क्यामेरा रहेको छ । दुई सिम लाग्ने यो फोनमा दुईओटा हेडफोन ज्याकको सुविधा छ । यो फोनमा ६.४४x३x०.३४ इञ्चको डायमेन्सन, ३.४५ इञ्चको एलसीडी स्क्रिन डायमिटर रहेको छ । यसमा ८००x८०० पिक्सेल रेज्युलेसन रहेको छ । 

यसमा २ जीबीको र्‍याम तथा १६ जीबीको स्टोरेज तथा रोम रहेको छ । यसको ब्याट्रो भने २ हजार एमएएचको रहेको छ । सार्कल कम्पनीका सीईओ क्रिस्टन सार्कका अनुसार विभिन्न गेमिङ एपहरुलाई यस्तो सर्कुलर डिस्प्ले फ्रेममा अटाउनका लागि आवश्यक काम भइरहेको छ । मोटो आकारका कारण यो फोनलाई पाइन्टको गोजीमा राख्न केही असहज हुनसक्ने देखिन्छ ।

त्यसो त यस्तो डिजाइन अवधारणामा बनेको यो नै पहिलो फोन भने होइन । २०१६ मा एउटा अर्को कम्पनीले पनि यस्तै किसिमको फोन रुञ्ची ६ सय अमेरिकी डलरमा बजारमा सार्वजनिक गरेको थियो । त्यस समय कम्पनीले उक्त फोनलाई इंडिगोगोमार्फत बिक्री गरेको थियो । 

रुञ्चीबल फोनको चर्चा त्यस ताका त्यति सुनिएको थिएन । तर सार्कल फोन भने सीईएसमा प्रदर्शन भएसँगै यसको चर्चा समेत चुलिएको छ । कम्पनीले आफ्नो प्रिअर्डर अभियान यसै वर्षको दोस्रो चौमासिकमा सार्वजनिक गर्नेछ, जसमा ग्राहकहरुले यो फोनलाई ५ सय डलरको मूल्यमा प्राप्त गर्नसक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१