close

प्रविधि बुझ्न विश्व चाहार्ने सागरदेव लाखे भन्छन्-एक्स्पो किन्ने हैन, हेर्ने र बुझ्ने ठाउँ हुनुपर्छ

टेकपाना टेकपाना

माघ ३, २०७६ १५:५३

प्रविधि बुझ्न विश्व चाहार्ने सागरदेव लाखे भन्छन्-एक्स्पो किन्ने हैन, हेर्ने र बुझ्ने ठाउँ हुनुपर्छ

सूचना प्रविधिको क्षेत्रमा विश्वभर हुने मेलाहरु सकेसम्म नछुटाउने पात्र हुन् सागरदेव लाखे । हरेक वर्ष अमेरिकाको लसभेगसमा आयोजना हुने विश्वकै ठूलो सूचना प्रविधि मेला कञ्जुमर इलेक्ट्रोनिक्स सो-सीईएसमा पनि नियमित रुपमा पुगिरहन्छन् उनी ।

यसै जनवरी ७-१० मा आयोजित सीईएसमा सहभागि हुन अमेरिका पुगेका उनी अहिले त्यतै छन् । सीईएसलाई विश्वविख्यात प्रविधि जायन्टहरुले आफ्ना नयाँ नयाँ प्रविधि बजारमा सार्वजनिक गर्ने उपयुक्त अवसरकाे रुपमा प्रयोग गर्न थालेको धेरै भयो । 

नेपालमा पनि हरेक वर्ष आयोजना हुने क्यान इन्फोटेक बारे त तपाईं हामी प्रायः जानकार नै छौँ । नेपालकै ठूलो सूचना प्रविधिको मेलाको रुपमा स्थापित यसको सुरुवात १९९४ मै भएको हो । कम्प्युटर एशाेसियसन अफ नेपाल (क्यान) का तत्कालीन अध्यक्ष संजीवराज भण्डारी र महासचिव एलेन बेलाचोन तुलाधरको अग्रसरतामा सुरु भएको यो मेला त्यसयता नियमित रुपमा हरेक वर्ष काठमाडौंमा भइरहेकै छ ।  

सूचना प्रविधिको क्षेत्रमा जागरण ल्याउने र नयाँ प्रविधि भित्र्याउने उद्देश्यका साथ सुरु भएको मेला पछिल्लो समय व्यापरिक गतिविधिमा मात्रै सिमित रहेको भन्दै यसको आलोचना समेत हुन थालेको छ । यस्ता मेलाहरु पछिल्लो समय मोफसलमा समेत विस्तार हुनेक्रम जारी नै छ ।

तर सागरदेव लाखेलाई एक्स्पो तथा प्रदर्शनीको यस किसिमको ढर्रा मन परिरहेको थिएन र सन् २००८ तिर नयाँ किसिमको प्रदर्शनी आयोजना गर्ने सोँच बनाए । टिकट बिक्रीको संख्या, सहभागी संख्या, भिडभाड आदिलाई एक्स्पोको सफलताको आधारमान्ने हो भने लामाे समय फरक भन्ने कुरामा उनी प्रष्टै थिए ।

तर प्रविधिको जानकारी दिने, ग्राहकसँग जोडिने विषयको रुपमा एक्स्पोलाई लिने प्रचलन नेपालमा थिएन । ‘हामी एक्स्पो भनेको देखाउने र भविष्यमा ग्राहकसँग जोडिने ठाउँ बनाउनु पर्छ भनेर योजना बनाएका थियौँ । हामी चाहन्थ्यौं, एउटा प्रचलनको विकास होस्,’ उनी भन्छन् । 

यस्तैमा उनको अग्रसरतामा आईसीटी एक्स्पो सुरु हुने भयाे । त्यसमा कुनैपनि कम्पनीको आधिकारिक बिक्रेतामात्रै सहभागि हुन पाउने निर्णय गरियो । विस्तारै यसलाई अरुले पनि आत्मसाथ गर्न थाले । वास्तवमा त्यो एउटा ब्राण्डिङ एक्स्पो तथा नयाँ प्रविधिसँग प्रयोगकर्तालाई साक्षात्कार गराउने कार्यको परीक्षण थियो ।

‘ब्राण्डिङ एक्स्पो कति सफल भयो त्यो छुट्टै कुरा छ । तर, त्यहाँ सहभागी भएका कम्पनीले आफ्नो ब्राण्ड बनाउन भने सफल भएकै हुन्,’ लाखे निर्धक्क छन्, ‘यो लामो समयसम्म चल्यो । मैले आफ्नो नेतृत्वबाट मात्रै नभएर अन्य साथिभाइहरुले पनि यसलाई निरन्तरता दिने तर्फ अगाडि सर्नुपर्छ भनेर छाँडिदिएँ । उहाँहरुले पनि दुई चार वटा एक्स्पो त गर्नुभयो । तर, विस्तारै त्यो ओझेलमा पर्‍यो र बन्द भयो ।’

आईसीटी एक्पोभन्दा अगाडिदेखि सुरु भएको क्यान इन्फोटेक अहिलेसम्म निरन्तर रुपमा आयोजना भइरहेकै छ । तर, यसको प्रभावकारिता भने सोचे अनुरुप नरहेको उनको मूल्याङ्कन छ । भन्छन्, ‘हामीले सुरुमा सुरु गर्दा ब्राण्डडिङ एक्स्पोको रुपमा गरियो । त्यो एक हिसाबले सफल पनि भएकै हो । तर, हाल त्यस्ता प्रर्दशनीको प्रभाव कम पर्न थालेको छ । कारण मान्छेको चाहना र आकांक्षा धेरै छ । तर प्रदर्शनीले त्यसको भोक भने मेटाउन नसकेको अवस्था छ । ’

विश्वभरका सूचना प्रविधि मेलाहरु चहारिरहने उनले त्यसलाई चाहिँ कसरी लिइरहेका छन् त ? उनको जवाफ हुन्छ,  ‘यो नेपालमा मात्रै नभएर अन्य देशमा पनि उस्तै हो । विदेशका विभिन्न प्रदर्शनीको अवलोकन मैले गरेको छु । जाँदा एउटा अपेक्षा लिएर गइन्छ तर त्यहाँ पुग्दा सोचेअनुरुप पाएको छैन ।’

त्यस पछाडिको कारण प्रविधिमा भएको विकासको रफ्तारसँग हाम्रा प्रर्दशनीले आफूलाई विकास गर्न नसक्नुमा देख्छन् उनी । तर, पनि जे जति भइरहेका छन्, त्यसलाई पनि एउटा उपलब्धीकै रुपमा हेर्नुपर्ने लाखेको भनाई छ । त्यसैले यस्ता प्रर्दशनीको विकल्प खोज्नेभन्दा पनि अझ प्रभावकारी बनाउने तर्फ लाग्नु पर्ने देखिएको छ ।

कसरी नयाँ–नयाँ प्रतिभा लाई ठाउँ दिने, लुकेर बसेका विषयवस्तुलाई बाहिर ल्याउने भन्ने स्तरमा काम गर्न आवश्यक रहेको उनको बुझाई छ । सँगसँगै सम्बन्धित विषयमा तालिम, कन्फ्रेन्स आयोजना गरेर यसलाई अझ प्रभावकारी बनाउने ठाउँ पनि बाँकी नै छ ।  अवलोकनकर्ताको पनि प्रर्दशनीप्रतिको अपेक्षा बेग्लै हुने गरेको छ ।

त्यसैले त धेरैजसो अवलोकनकर्ताहर प्रदर्शनीमा सस्तोमा सामान पाइन्छ भनेर गइरहेका हुन्छन् । वास्तवमा प्रदर्शनी किन्ने ठाउँ हैन, हेर्ने र बुझ्ने ठाउँ हुनुपर्ने लाखेको तर्क छ । मेला पनि अवलोकनकर्ताकै पछि लाग्न थालेको छ । आयोजक पनि ग्राहक केन्द्रीत हुने थालेका छन् । ‘म त अवलोकनकर्तामा पनि ज्ञानको कमी पाउँछु । कुनै स्टलमा प्रिन्टर राखिएको छ र उक्त प्रिन्टरको फिचर देखाउन टीभी प्रयोग गरिरहेको छ भने मान्छेहरु टीभीको बारेमा सोधिरहेका हुन्छन् । जुन म आफैले भोगेको कुरा हो,’ उनी निश्कर्ष निकाल्छन्, ‘त्यसैले पनि प्रदर्शनी सोचे अनुसार हुन नसकेको हो ।’ 

अर्कोतर्फ नेपालीको स्वभावलाई समेत उनी रोचक मानिरहेका छन्, ‘सोध्ने र हेर्ने राम्रो, अनी किन्ने बेला सस्तो किन्ने प्रवृती हामीमा छ । यसैकाे कारणले पनि भृकुटीमण्डमा आयोजना हुने इन्फोटेकमा व्यवसायीले पनि पसलमा बिक्री नभएका सामान ल्याएर सस्तामो बेच्ने थलो बनाएको जस्तो मलाई लाग्छ । त्यसैले यसमा पनि ठुलो परिवर्तनको आवश्यकता छ । ‘वाकम्यान, रेडियो, घडी र क्यामेरालाई मोबाइलले जसरी विस्थापित गर्‍यो, त्यसरी नै अब एक्स्पोले पनि रुप फेर्न आवश्यक छ । प्लाटफर्म एउटै हो । तर, त्यहाँ दिने तरिका, प्रस्तुत हुने तरिकामा परिवर्तन हुन आवश्यक छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१