close

कागजी धन्दा चलाउनेहरु डिजिटल सिस्टमदेखि तिलमिलाएका छन्ः अस्गर अली

टेकपाना टेकपाना

माघ ६, २०७६ १५:२६

कागजी धन्दा चलाउनेहरु डिजिटल सिस्टमदेखि तिलमिलाएका छन्ः अस्गर अली

ई-सेवाका सीईओ रहेका अस्गर अलीले प्रधानमन्त्री केपी शर्मा ओलीको आईटी विज्ञ नियुक्त भएसँगै कम्पनीको जिम्मेवारी छाडे । नयाँ जिम्मेवारी लिएसँगै उनले सरकारी कामकाजलाई अनलाइन प्रणालीमा लैजान निकै सक्रियता देखाइरहेका छन् ।

परम्परागत ढर्राबाट चल्दै आएका सरकारी निकायहरुलाई परिवर्तन गर्ने कार्य अलीका लागि त्यति सहज भने छैन । अनलाइन तथा डिजिटल प्रणाली कार्यान्वयनमा ल्याउने सवालमा त्यसबाट एउटा जमात नै अत्तालिएको अली बताउँछन् । त्यसैको प्रतिक्रिया तथा प्रतिशोधको रुपमा बेला बेलामा अनेक किसिमका आरोप समेत उनले खेप्दै आएका छन् ।

टेकपानासँगको विशेष कुराकानीमा उनले केही मिडियामार्फत आफूमाथि  लगाइएका आरोप कपोकल्पित र निराधार रहेको भन्दै प्रतिवाद गरेका छन् । उनी भन्छन्, ‘मिडियामा मेरो बारे जुनरुपमा नकारात्मक समाचार आए, त्यी सबै निराधार छन् । आरोप लगाउनेहरुले मेरो पदीय जिम्मेवारीको सीमितता समेत नबुझेको देखिन्छ । मैले कुन विषयमा कतिसम्म पहुँच पाउँछु भन्ने कुराको जानकारी लिन आग्रह गर्छु । मेरो अधिकार र सीमितता के हो भन्ने बुझेको खण्डमा यस्ता आरोपहरुको जवाफ स्वतः पाउन सक्नुहुन्छ ।’

अलीले प्रधानमन्त्री ओलीको ‘शुखी नेपाली, समृद्ध नेपाल’ नारालाई डिजिटल नेपालको अवधारणाबाट सघाइरहेका छन् । प्रधानमन्त्री ओलीकै निर्देशनका आधारमा उनले विभिन्न सरकारी निकायसँग समन्वय गरी डिजिटल नेपालको अवधारणालाई मुर्त रुप दिने प्रयास गरिरहेका छन् । आफूले त्यस प्रयोजनका लागि वर्तमान अवस्थाको जानकारी संकलन गर्ने र सम्बन्धित मन्त्रालय र मातहतका निकायहरुलाई सुचना प्रविधिको क्षेत्रमा सहयोग पुर्‍याउने भुमिका मात्रै निभाइरहेको उनी बताउँछन् ।

‘यो भुमिका निर्वाह गर्दै गर्दा मैले सिधै सिस्टममा एक्सेस पाउने कुरा हुँदैन । मलाई त्यसमा रुची पनि छैन ।,’ उनी भन्छन्, ‘हरेक मन्त्रालयमा सचिव ज्यू हुनुहुन्छ । उहाँहरुकै आग्रहमा मिटिङ बस्ने हो, मिटिङमार्फत नै सबै काम हुने गरेको छ ।’

यद्यपी, मिटिङमा कतिपय कुरा अमुर्त हुन्छन् । त्यस्ता विषयका लागि सम्बन्धित कार्यलयमै पुग्नु पर्ने बाध्यता पनि रहन्छ । तर पनि कार्यलय तहमा आफ्नो सोझो पहुँच नहुने आईटी विज्ञ अली बताउछन् । सम्बन्धित निकायको प्रोटोकलकै आधारमा काम हुने गरेको उनको प्रष्टोक्ती छ । 

अलीकै पहलमा अनलाइन मार्फत दिइने सबै किसिमका सरकारी सेवाका लागि नागरिक एप ल्याउने तयारी भइरहेको छ । आफू बिरुद्ध चलाइएको हल्ला कागजी रुपमा काम गर्दा लाभ उठाइरहेको जमातले परियोजना रोक्न चालेको कदम मात्रै भएको उनी बताउँछन् ।

‘सकेसम्म डिजिटल प्रणाली नआइदिए हुन्थ्यो र ग्रे एरियामा आफ्नो धन्दा जारी चलाइराख्न पाए हुन्थ्यो भनेर चाहनेहरु छन् । त्यहाँ ठूलो बिजनेस छ । यो डिजिटल सिस्टमबाट तिलमिलाएको त्यही जमातले फैलाएको हल्ला मात्र हो,’ अलि भन्छन्, ‘हो म एउटा कम्पनीमा संलग्न भएको मान्छे हुँ । तर हामीले पैसाका लागि कुनै दिन पनि सरकारी परियोजनामा काम गरेको छैनौं  र आगामी दिनमा पनि गर्ने योजना छैन । जम्माजम्मी अहिलेसम्म हामीले गरेको एउटा मात्रै सरकारी परियोजना छ । त्यो पनि कोरिया जानको लागि लाइनबस्नु पर्ने बाध्यतलाई सहज बनाउने काम । त्यसमा पनि हामीले निःशूल्क गरिदिन्छौं भनेका थियौं । उहाँहरुले निःशूल्क गर्न नमिल्ने भएकाले न्युनतम मूल्यमा काम गर्ने प्रस्ताव गर्नुभयो । उहाँहरुले ६० लाख छुट्याएको परियोजनामा हामीले १६ लाखमा काम गरेका थियौं । त्योभन्दा तल हामीले प्रस्ताव नै गर्न मिल्दैन थ्यो । यसबाट हामीले पैसाको लागि सरकारी काम गर्दैनाैँ भन्ने देखाउन खोजेका हौँ ।’

प्रधानमन्त्रीको आईटी विज्ञको रुपमा आएपछि आफूले विभिन्न परियोजनाको लागत निकै कम गर्न भुमिका खेलेको उनी सगर्व उल्लेख गर्छन् । ‘कुनै पनि परियोजनाको लागत कति हुनसक्छ भन्ने अन्दाज मैले गर्न सक्छु । एउटा जमात थियो, जसले लागत घटेपछि त्यसमा चलखेल गर्न पाएन,’ उनी दृष्टान्त दिन्छन्, ‘एउटा उदाहरुणकै रुपमा भनौँ, राष्ट्रिय परिचयपत्रको पाँच वर्षको परियोजनामा ३५ अर्ब लाग्ने भनिएको थियो । म आएपश्चात त्यसलाई एक वर्षमा ५ देखि ७ अर्बमा गर्न सकिन्छ भनेर निर्क्योल गर्‍यौँ । यसले गर्दा मसँग एउटा जमात निकै रिसाएको छ । त्यसैको परिणाम मिडियाबाजी भएको जस्तो मलाई लाग्छ ।’

अध्यागमनको २ करोड ४० लाखको सफ्टवेयरको लागत घटाएर ४० लाखमै तयार पार्ने काम समेत अलिको सक्रियतामा भएको थियो । त्यसैका कारण समेत एउटा अर्को जमात आफूसँग चिढिएको अलीको भनाई छ । ‘म टुडिखेलमा उभिएर भए पनि हरेक कुराकाे हिसाव किताब दिन तयार छु । तर जेन्युन रुपमा आउनुपर्‍यो । अरु हिसावले अफवाह फैलाएर हुँदैन,’ उनी भन्छन् । 

सरकारी डेटामा आफूमा कुनै पनि किसिमको स्वार्थ नरहेको प्रष्टिकरण उनले दिएका छन्, ‘त्यसबाट हामीलाई फाइदा हुने पनि केही छैन । कम्पनीकै कुरा गर्ने हो भने पनि मेरो श्रीमती पनि ई-सेवाको प्रयोगकर्ता होइन । जबसम्म उनले चाहँदिनन्, मैले ई-सेवाको प्रयोगकर्ता बनाउँनै सक्दिनँ । त्यसैले डाटा लिएर ई-सेवाको प्रयोगकर्ता बनायो भनेर आरोपित गर्नुको कुनै तुक छैन ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१