close

फिक्स्ड इन्टरनेट कनेक्सनमा नेपालको छलाङ, विश्वमै दोस्रो

टेकपाना टेकपाना

माघ १०, २०७६ १३:३६

फिक्स्ड इन्टरनेट कनेक्सनमा नेपालको छलाङ, विश्वमै दोस्रो

काठमाडौं । फिक्स्ड इन्टरनेट विस्तारमा नेपालले छलाङ मारेको छ । भर्खरै सार्वजनिक प्वाइन्ट टपिकको अनुसन्धान प्रतिवेदन अनुसार नेपाल फिक्स्ड ब्रोडब्याण्डमा प्रयोगकर्ता थप्ने दरमा विश्वकै दोस्रो मुलुक भएको छ ।

प्रतिवेदन अनुसार नेपालको फिक्स्ड ब्रोडब्याण्ड कनेक्सनमा प्रयोगकर्ताको संख्या ६.२ प्रतिशतले वृद्धि भएको छ । यो सन् २०१९ को तेस्रो चौमासिकसम्मको तथ्याङ्क हो । उक्त सूचीको पहिलो नम्बरमा चीन छ, जसले करिब १ करोड ५० लाख ग्राहकहरु थप गरेको उल्लेख गरिएको छ ।

नेपालभन्दा पछाडि ब्राजिल, अमेरिका, इरान, इण्डोनेशिया, भियतनाम, दक्षिण अफ्रिका, थाईल्याण्ड र रसियाले छन् । नेपाल दुरसञ्चार प्राधिकरणको तथ्याङ्कलाई हेर्ने हो भनेपनि फिक्स्ड ब्रोडब्याण्डमा फड्को मारेको देखिन्छ । मोबाइल ब्रोडब्याण्डको तुलनामा फिक्स्ड ब्रोडब्याण्ड सेवा सस्तो र भरपर्दाै हुने भएकाले पनि यसको विस्तार भएको हो ।

फिक्स्ड ब्रोडब्याण्डको क्षेत्रमा विगत पाँच वर्षको आँकडा केलाउने हो भने नेपालमा फाइबर इन्टरनेटले प्रगति गरेको देखिन्छ । २०७३ पछिको एक वर्षमा मात्रै फाइबर इन्टरनेटका प्रयोगकर्ता दोब्बरभन्दा बढीले बृद्धि भएको थियो । त्यसयताका हरेक वर्ष प्रयोगकर्ता थपिने क्रम बढ्दो छ । २०७३ मा १२ हजार फाइबर इन्टरनेटका प्रयोगकर्ता रहेकोमा २०७६ को असोजसम्म आइपुग्दा यो संख्या ६ लाख ७५ हजार ५५१ पुगेको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार हाल नेपालमा ९ लाख ४७ हजार ८६५ ग्राहकले फिक्स्ड ब्रोडब्याण्ड जडान गरेका छन् । यस हिसावले अहिलेको समयमा कुल फिक्स्ड ब्रोडब्याण्ड प्रयोगकर्तामा अप्टिकल फाइबर इन्टरनेट चलाउनेहरु ७१ प्रतिशतभन्दा बढी छन् । जब कि पाँच वर्ष अगाडि अप्टिकल फाइबर इन्टरनेटको हिस्सा चार प्रतिशत मात्रै थियो ।

यसको प्रतिफल प्वाइन्ट टपिकको अनुसन्धान प्रतिवेदनमा देखिएको हो । उक्त प्रतिवेदन अनुसार सन् २०१९ को तेस्रो चौमासिकसम्म विश्वभर फिक्स्ड ब्रोडब्याण्ड कनेक्सन सेवाग्राही एक अर्ब ११ करोड २० लाख पुगेका छन् ।

जून अघिल्लो चौमासिकको तुलनामा २.१७ प्रतिशतले वृद्धि भएको हो । त्यसमा क्षेत्रगत हिसाबले अफ्रिका क्षेत्रमा सबैभन्दा तिब्रगतिमा बोडब्याण्ड विस्तार भएको छ । त्यहाँको वृद्धिदर ३.९८ प्रतिशत छ भने पूर्वी एसियाको वृद्धिदर ३ प्रतिशत छ ।

सोही अवधिमा एसियाको समग्र वृद्धिदर २.४ प्रतिशतले भएको छ । जसमा नेपाल र साउदी अरेबियाको उल्लेख्य भुमिका रहेको जनाइएको छ । प्रतिशतको हिसाबले नेपालभन्दा अगाडि साउदी अरेबिया छ जसले ६.७ प्रतिशतको वृद्धिदर हासिल गरेको छ भने नेपालको ६.२ प्रतिशत रहेको छ ।

त्यस्तै तेस्रो र चौंथोमा क्रमसः इण्डानेशिया ५.६, फिलिपिन्स ३.८ प्रतिशत छ । पाचौंमा रहेको भियतनामले फिक्स्ड ब्रोडब्याण्ड कनेक्सन ३.६ प्रतिशत वृद्धि गरेको छ । सेवाग्राहीको संख्याका आधारमा चीन सबैभन्दा अघि रहेको छ ।

चीनमा फिक्स्स ब्रोडब्याण्ड प्रयोगकर्ता ४० करोड छन् । दोस्रो नम्बरमा रहेको अमेरिका १० करोड सेवाग्राही रहेको उल्लेख छ । त्यसपघि क्रमसः जापान, जर्मनी, रसिया, ब्राजिल, फ्रान्स, बेलायत, दक्षिण कोरिया र छिमेकी राष्ट्र भारत छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१