close

आईओएस १५.५ सार्वजनिक, यसरी गर्नुहोस् अपडेट

टेकपाना टेकपाना

जेठ ३, २०७९ १९:१८

आईओएस १५.५ सार्वजनिक, यसरी गर्नुहोस् अपडेट

काठमाडौं । एप्पलले आफ्नाे अपरेटिङ सिस्टमलाई एकपछि अर्को गर्दै अपग्रेड गरिरहेको छ । यसैबीच कम्पनीले एप्पल वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्सअघि नै आईओएस १५.५ र आईप्याडओएस १५.५ सार्वजनिक गरेको छ ।

विशेषगरी कम्पनीले एप्पल क्याश र पोडकास्टमा नयाँ अपडेट दिएको छ । नयाँ अपडेट आएसँगै अब एप्पल क्याश प्रयोगकर्ताले आफ्नो कार्डमा भएको पैसा पठाउन र पाउन सक्नेछन् ।

यसैगरी अब पोडकास्ट एपले स्वतः रुपमा प्रयोगकर्ताले तयार बनाएको पोडकास्टको आधारमा यसको स्टोरेज, सीमितता लगायतका कुराको नियन्त्रण गर्नेछ ।

म्याकओएस १२.४ अपडेटमा पनि पोडकास्ट सम्बन्धी फिचरहरू थप गरिएको छ । योसँगै एप्पलले वाच‌ओएस ८.६, टिभी ओएस १५.५ र होमपड १५.५ अपडेट पनि जारी गरेकाे छ ।

कसरी इन्स्टल गर्ने ?
यदि तपाईंले अटोमेटिक इन्स्टल राख्नुभएको छैन भने तपाईंलाई सफ्टवेयर इन्स्टल गर्न नोटिफकेसन आउँछ । यद्यपि कहिलेकाहीँ नआउन सक्छ । यस्तो अवस्थामा आईफोनको ‘सेटिङ’ मा गएर ‘जेनेरल’ मा ट्याप गर्नुहोस् ।

त्यसपछि ‘सफ्टवेयर अपडेट’ मा ट्याप गरेर आफ्नो फोनमा आईओएस १५.५ अपडेट आए/नआएको यकिन गर्नुहोस् । यदि तपाईंको डिभाइसमा यो अपडेट आइसकेको छ भने स्क्रिनको सबैभन्दा तल ‘डाउनलोड एन्ड इन्स्टल’ अप्सनमा ट्याप गरेर आईओएस १५.५ इन्स्टल गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२