close

यसै साउनदेखि नेपाल टेलिकमले ई-सिम वितरण थाल्ने

रन्जन कोइराला रन्जन कोइराला

असार २४, २०७९ १३:६

यसै साउनदेखि नेपाल टेलिकमले ई-सिम वितरण थाल्ने

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आउँदो महिना अर्थात साउनदेखि इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) उपलब्ध गराउने भएको छ । हाल बजारमा उपलब्ध हुने प्लास्टिकबाट निर्मित चिप जडित कार्डको साटो कम्पनीले मोबाइल डिभाइस तथा विभिन्न डिजिटल डिभाइसमै इम्बेड गर्न सकिने ई–सिम उपलब्ध गराउने भएको हो ।

पछिल्लो समय विश्वका विभिन्न देशमा ई-सिम प्रयोगमा आइसकेको छ । कतिपय मोबाइल उत्पादक कम्पनीले ई-सिमलाई लक्षित गर्दै भौतिक सिम राख्ने ठाउँ नै नभएका उपकरणहरू बजारमा ल्याइरहेका छन् ।

त्यस्ता डिभाइसलाई लक्षित गर्दै टेलिकमले आफ्ना प्रयोगकर्तालाई ई–सिम उपलब्ध गराउने भएको हो । यसका लागि टेलिकमले चालू आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रममा ‘ई–सिमको प्लेटफर्म’ राख्ने योजनासहित बजेट निर्धारण गरेको थियो ।

जसअनुसार चालू आवभित्रै एकदेखि डेढ लाखसम्म ई–सिम प्रयोगमा ल्याउने योजना कम्पनीले बनाएको थियो । योजना अनुसार चालु आर्थिक वर्षमै काम नभएपनि कम्पनीले आगामी आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनासँगै यो सेवा सुरु गर्ने तयारीमा रहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए ।

“हाल ई–सिमका लागि आवश्यक परीक्षणको काम अन्तिम चरणमा रहेको छ,” अधिकारीले टेकपानासँग भने, “आउँदो महिनाबाट सेवा नै उपलब्ध गराउने योजना छ ।” यसअघि टेलिकमले ई–सिमका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउन मोन्टी यूके ग्लोबलसँग सम्झौता गरेको थियो ।

उक्त कम्पनीले सम्पूर्ण प्राविधिक कार्यको परीक्षण सम्पन्न गरिसकेको जनाइएको छ । यसरी टेलिकमले ई–सिमको तयारी गरिरहँदा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पनि ई–सिमलाई व्यवस्थित गर्ने योजना अघि बढाएको छ ।

प्राधिकरणले आगामी आवको बजेटमार्फत ई–सिमको प्रयोग सम्बन्धमा अध्ययन गरी नियमनको ढाँचा तयार पार्ने योजना बनाएको हो । त्यसो त ई–सिम आउँदा नयाँ कार्यविधि नै आवश्यक पर्छ भन्ने त होइन ।

तर, पनि यसमा हुन सक्ने चुनौती र सुरक्षा लागायतका विषयमा महत्त्वपूर्ण हुने भएकाले अध्ययन अघि बढाउने योजना प्राधिकरणले बनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३