close

टिकटकमा यसरी बन्नुहोस् इन्फ्लुएन्सर

टेकपाना टेकपाना

साउन २६, २०७९ १४:५

टिकटकमा यसरी बन्नुहोस् इन्फ्लुएन्सर

काठमाडौं । सामाजिक सञ्जालको दुनियाँमा कतिपयलाई चर्चित हुने रहर हुन्छ । त्यसमा पनि पछिल्लो समय टिकटकको प्रयोगले मान्छेहरुमा चर्चाको चाहना तिव्र बनाइदिएको छ । यहि चाहनाले उनीहरुलाई नयाँ प्रयोग र कलासहितका भिडियो बारम्बार पोस्ट गर्न उत्पे्ररित गरिरहन्छ ।

चर्चित बनेर समाजमा प्रभावशाली(इन्फ्लुएन्सर) व्यक्तित्वको छवि बनाउने अन्तर्निहित चाहनाले पनि टिकटकको प्रयोग बढाएको छ । तर, चर्चित बन्ने सबैको चाहना कहाँ पुरा हुन्छ र ?

इन्फ्लुएन्सर हुनु चल्तीको चलनभन्दा अलग देखिने र आफ्नो ब्राण्ड तयार गर्ने रणनीतिक योजनालाई सफल बनाउनु हो । पूर्णकालीन इन्फ्लुएन्सर बन्न विशेष लगाव भने आवश्यक पर्छ । यो पनि एउटा छुट्टै उद्यम सञ्चालन गरेजस्तै हो । जहाँ निरन्तर अथक प्रयासको माग भइरहन्छ । इन्फ्लुएन्सरले आफ्नो प्रतिभा पहिचान गरेर त्यसैलाई प्रवद्र्धनको माध्यम बनाउँछन् ।

इन्फ्लुएन्सर कसरी सफल हुन्छन् ?

लेखक, इन्फ्लुएन्सर तथा मार्केटिङ एड्भाइजरी फर्मका संस्थापक जे बाएरले सफल टिकटक इन्फ्लुएन्सर बन्न विभिन्न रणनीतिबारे चर्चा गरेका छन् । सबैभन्दा पहिलो रणनिति हो भ्युअरलाई भावनासँग जोड्ने । खुसी बनाउने, दुःखी बनाउने, हँसाउने, रिसाहा बनाउने र पे्ररणा दिने आफ्ना दर्शकलाई भावनासँग जोड्ने माध्यम बन्ने उनको भनाइ छ ।

त्यस्तै दोस्रो रणनीति हो, आत्मियता सिर्जना गर्ने । उनी भन्छन्, ‘तपाईंले यस्तो आत्मियता तयार पार्नुहोस् जसले गर्दा दर्शकले आफू कन्टेन्ट क्रियटरको एउटा भाग भएको आभाष गरुन ।’

त्यस्तै तेस्रो रणनीतिका लागि बाएर भन्छन्, ‘प्रायः उत्कृष्ट टिकटकर उत्कृष्ट युट्युबर समान हुन्छन् । तर, अडियन्सको मागलाई कसले कसरी सम्बोधन गर्छन् भन्ने कुरा आउँछ ।’

इन्फ्लुएन्सर आफू के कुरामा दख्खल राख्छन् त्यसैमा आफ्नो परिचय बनाउन खोजिरहेका हुन्छन् । कोही हसाउन सक्ने किसिमका हुन्छन् भने कोही दर्शकलाई रिसाहा बनाउनमा । कोही प्रेरणा दिने मामलामा दख्खल हुन्छन् भने कोही भावुक बनाउनमा । त्यसैले जुन क्षेत्रमा आफू सक्षम छ त्यसैलाई प्रभावको भाग बनाउन सकिने कुरामा बाएर जोड दिन्छन् ।

आफूलाई जे आउँछ गरेर देखाउनुहोस्

कसैलाई प्रभाव पार्ने क्रममा सबैभन्दा डरलाग्दो चरण हो आफूले तयार पारेका कन्टेन्ट पोस्ट गर्नु । अहिले हरेकको हातमा क्यामेरा छ भने अपलोड गर्ने प्लेटफर्ममा सम्पादनका फिचर पनि उपलब्ध छन् । आफूलाई जुन कुरामा रुचि छ त्यही कुरामा गहिरो अध्ययन गर्नुपर्छ । त्यसैसँग सम्बन्धित उपयुक्त कन्टेन्ट अपलोड गरेको खण्डमा त्यसले राम्रा दर्शक पाउने सम्भावना हुन्छ ।

कुनै व्यक्तिले गरेका कामलाई मूल्यांकन गर्न सजिलो हुन्छ । तर, त्यसलाई वास्तविक जीवनमा आफूले गर्दा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्छ । कसैले केही भन्ला कि भन्ने डरमा आफू पछि हट्यो भने इन्फ्लुएन्सर बन्न नसकिने उनीहरू बताउँछन् ।

फलोअर बढाउने तरिका

तपाईसँग कुनै प्रतिभा छ र त्यसलाई सामाजिक सञ्जालमा राख्नासाथ पहिलो पटकमै सबैले मन पराइदिन्छन् भन्ने हुँदैन । प्रतिभावान् हुनु भनेको स्वतः चर्चित हुनु होइन । प्रतिभा हुनुले त्यस व्यक्तिलाई प्रख्यात बनाउँछ भन्ने हुँदैन । यसमा महत्वपूर्ण के हुन्छ भने तपाईंले जति दर्शक पाउनु भयो उनीहरूको प्रतिक्रियालाई आत्मसात् गर्नुभयो भने सफल हुन सक्नुहुन्छ । तपाईंको प्रशंसक बढ्न थाल्छन् । फलोअर बढाउनका लागि इन्फ्लुएन्सरले यी कुराको पालना गर्नु प्रभावकारी हुन सक्छ ।

दैनिक रूपमा कन्टेन्ट अपलोड गर्नुहोस्
सामाजिक सञ्जालको एल्गोरिदमले नै नयाँ कन्टेन्टलाई बढावा दिन्छन् । दैनिक रूपमा कन्टेन्ट अपलोड गरिरहँदा तपाईँका कन्टेन्ट धेरै अडियन्समाझ पुग्न सक्छन् । त्यसैले दैनिक रूपमा कन्टेन्ट अपलोड गरिरहनुहोस् ।

हरेक प्लेटफर्म कन्टेन्ट राख्नुहोस्

इन्फ्लुएन्सरका रुपमा तपाईं प्रायः हरेक प्लेटफर्ममा सक्रिय हुनुपर्छ । त्योभन्दा मुख्य कुरा तपाईं कुन प्लेटफर्ममा बढी परिचित र सक्रिय हुनुहुन्छ भन्ने हुन्छ । आफ्ना कन्टेन्ट प्रायः सबैजसो प्लेटफर्ममा शेयर गर्दा तपाईँका फलोअर बढ्छन् ।

सही तथा उपयुक्त ह्याशट्याग प्रयोग गर्नुहोस्

आफूले अपलोड गरेका कन्टेन्टमा प्रख्यात तथा उपयुक्त ह्याशट्याग प्रयोग गर्दा त्यसले धेरै दर्शकमाझ पुर्‍याउन सहयोग गर्छ ।
आफ्नो लोकेसन ट्याग गर्नुहोस्कुन क्षेत्रका अडियन्सलाई केन्द्रित गरिएको छ त्यही ठाउँलाई ट्याग गर्नुपर्छ । यसो गर्दा तपाईंको कन्टेन्टले सुहाउँदो अडियन्स पाउँछ । यसरी सुहाउँदो अडियन्स पाउँदा फलोअर स्वतः बढ्छन् ।

कन्टेन्टमा उपयुक्त हाइलाइट्स प्रयोग गर्नुहोस्तपाईंले अपलोड गरेका कन्टेन्टमा हाइलाइट्स राख्नुभयो भने अडियन्सले भिडिओ केसँग सम्बन्धित छ भन्ने कुरा बुझाउँछ । जसले गर्दा अडियन्सले लामो समयसम्म सो भिडिओ हेर्छन् । अडियन्सले तपाईंको कन्टेन्ट बुझेर तपाईंलाई पछ्याउँछन् । यसरी तपाईँका फलोअर बढ्न सक्छन् ।

सही समयमा पोस्ट गर्नुहोस्

कुनै पनि कन्टेन्ट समय सान्दर्भिक भयो भने त्यसमा प्रायः अडियन्सको नजर पर्छ । त्यसैले कन्टेन्ट बनाउँदा समयले के मागेको छ भन्ने कुरा ख्याल गरेर बनाउन पर्ने हुन्छ । त्यसो गर्दा धेरै अडियन्सको नजर तपाईंका कन्टेन्टमा पर्छ ।

ट्रेन्डिङमा भएका साउण्ड प्रयोग गर्नुहोस्

टिकटकमा जुन साउण्ड ट्रेन्डिङमा परेको छ, त्यो साउण्ड प्रयोग गर्दा टिकटकको एल्गोरिदमले सो भिडिओ धेरै अडियन्समाझ पुर्‍याउन मद्दत गर्छ । त्यसैले फलोअर बढाउनका लागि राम्रो कन्टेन्टका साथै उपयुक्त तथा ट्रेन्डिङमा परेको साउन्ड पर्योग गर्न सक्नुहुन्छ ।

परिश्रमी नै इन्फ्लुएन्सर हुन सक्छन्

हामीलाई बाहिरबाट इन्फ्ल्युन्सर बन्ने काम गाह्रो हुन्छ भन्ने लागेको हुनसक्छ । केही सुन्दर रूप भएका तथा चर्चित व्यक्ति मात्र इन्फ्लुएन्सर हुन्छन् भन्ने भ्रम धेरैले बोकेका हुन्छन् । वास्तवमा, इन्फ्लुएन्सर भनेको परिश्रमी उद्यमी हुन् जसले आफ्नो प्रतिभा र मानिसहरूलाई जोड्ने काम गरेका हुन्छन् ।

आफ्नो प्रतिभालाई माध्यम बनाइ परिचित हुन चाहनेका लागि इन्फ्लुएन्सर यात्रा उपयुक्त हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३