close

डिजिटल भुक्तानीमा अभ्यस्त बन्दै नेपाली, एक वर्षमै १४ खर्ब बढीको कारोबार

टेकपाना टेकपाना

भदौ २, २०७९ ८:४८

डिजिटल भुक्तानीमा अभ्यस्त बन्दै नेपाली, एक वर्षमै १४ खर्ब बढीको कारोबार

काठमाडौं । एक वर्षको अवधिमा नेपालीले डिजिटल भुक्तानीका विभिन्न माध्यम प्रयोग गरेर १४ खर्ब रूपैयाँभन्दा बढीको कारोबार गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा मोबाइल बैंकिङ, डिजिटल वालेट र क्यूआर कोडमार्फत कुल १४ खर्ब ८८ अर्ब ९३ करोड ५० लाख रुपैयाँको कारोबार भएको हाे ।

यो रकम आर्थिक वर्ष २०७७/७८ को तुलनामा १३८ प्रतिशतले बढी हो ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षमा मोबाइल बैंकिङ, डिजिटल वालेट र क्यूआर कोडमार्फत कुल ६ खर्ब २३ खर्ब ७८ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो ।

डिजिटल भुक्तानीको विभिन्न माध्यममध्ये मोबाइल बैंकिङ सबैभन्दा धेरै प्रयोगमा छ । हाल सबैजसो बैंकहरूले मोबाइल बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।

मोबाइल बैंकिङमार्फत प्रयोगकर्ताले आफ्नो दैनिकीका लागि साना-ठूलालगायत विभिन्न भुक्तानी गर्नसक्छन् । यसले गर्दा पनि मोबाइल बैंकिङको प्रयोग बढ्दै गइरहेको छ ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मोबाइल बैंकिङमार्फत कुल १२ खर्ब १० अर्ब १३ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । यो रकम आर्थिक वर्ष २०७७/७८ को तुलनामा १५२ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०७७/७८ मा चार खर्ब ७८ अर्ब ८५ करोड ३० लाख रुपैयाँको कारोबार मोबाइल बैंकिङमार्फत भएको थियो ।

डिजिटल वालेटमार्फत गरिने भुक्तानी अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ४७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा डिजिटल वालेटबाट कुल एक खर्ब २४ अर्ब ६५ करोड ४० लाख रुपैयाँ कारोबार भएकोमा गत आर्थिक वर्षमा एक खर्ब २४ अर्ब २९ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै वृद्धि भने क्यूआरमार्फत हुने भुक्तानीमा देखिएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा क्यूआरमार्फत हुने भुक्तानी ३६५ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा २० अर्ब २८ करोड २० लाख  रुपैयाँको कारोबार भएकोमा गत आर्थिक वर्षमा क्यूआरमार्फत ९४ अर्ब ५० करोड ८० लाख रुपैयाँको कारोबार भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४